Tuesday 21st of January 2020

स्थानीय तहका रिक्त जनप्रतिनिधिको निर्बाचनको तयारी

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका रिक्त निर्वाचित पदाधिकारीको निर्वाचनका लागि विवरण माग गरेको छ ।

मन्त्रालयका संघीय मामिला शाखाका शाखा अधिकृत खेमराज जोशीले विभिन्न कारणले स्थानीय तहमा रिक्त जननिर्वाचित पदाधिकारीको विवरण पठाउन ७७ वटै जिल्ला समन्वय समितिसँग माग गरिएको जानकारी दिए ।

जिल्ला समन्वय समितिलाई आफ्ना मातहतका स्थानीय तहका रिक्त जननिर्वाचित पदाधिकारीको विवरण एक साताभित्र मन्त्रालय पठाउन आइतबार निर्देशन दिएको उनले बताए ।

मन्त्रालयले जिल्ला समन्वय समिति, जिल्लासभा, नगरसभा, गाउँसभा, गाउँपालिका र नगरपालिकाका सबै निर्वाचित रिक्त पदाधिकारीका विवरण पठाउने निर्देशन दिएको हो । उनका अनुसार मन्त्रालयले समन्वय समितिलाई स्थानीय तहको नाम, रिक्त पद र रिक्त हुनुको कारण खुलाउँदै विवरण पठाउन निर्देशन दिएको हो ।

गाउँपालिकाले आफ्नो गाउँसभा र गाउँपालिकाको निर्वाचित पदाधिकारीको रिक्त पद र नगरपालिकाले आफ्नो नगरसभा र नगरपालिकाका निर्वाचित पदाधिकारीको रिक्त पद तीन दिनभित्र जिल्ला समन्वय समितिको कार्यालयमा पठाउन भनिएको छ । मन्त्रालयले रिक्त दरबन्दीका विवरण निर्वाचन आयोगलाई बुझाउने र त्यसपछि सरकारले मिति तोकेपछि निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्