Thursday 12th of December 2019

विवेकशीलमा भाँडभैलो

काठमाडौं । विवेकशील साझा पार्टीको जिल्ला संयोजक मनोनयनका विषयमा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि तनाव उत्पन्न भएको छ । पार्टी स्थापनाको एक वर्ष मनाउने क्रममा राजधानीमा आयोजित कार्यक्रममा प्रदेश–३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि तनाव भएको हो ।

पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धतिविपरीत रातारात तोकेको भन्दै केही युवाले कार्यक्रमस्थलमै असन्तुष्टि जनाए । नेताले संयोजक चयन गर्दा दलाल, आपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई छनोट गरेका भन्दै युवाले नाराजुलुस सुरु गरेपछि तनाव झनै बढ्दै गएको थियो ।

उनीहरूले नेतृत्वविरुद्ध नाराबाजी गर्दा संयोजक रवीन्द्र मिश्र र प्रवक्ता डा. सूर्यराज आचार्य पनि त्यहीँ उपस्थित थिए । होहल्ला, हात हालाहालको अवस्थामा पुगेपछि प्रवक्ता आचार्यले कार्यकर्तालाई सम्झाउने प्रयास गरे । ‘हामी यहाँ बिजनेस र पदका लागि आएका होइनौँ । अहिलेदेखि पद खोज्ने वेला होइन’ भन्दै सम्झाउन खोज्दा आक्रोशित युवाले झनै चर्को नाराबाजी गरे।

आचार्यले सम्झाउने प्रयास गर्दा कार्यक्रममा अझ धेरै तनाव बढ्न थालेपछि संयोजक मिश्र मञ्चमा आएका थिए । उनले नेतृत्वविरुद्ध नाराबाजी गरेका व्यक्तिको कुनै सुनुवाइ नै नगरी मनोनीत संयोजकलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन भएको घोषणा गरे । ‘यो कार्यक्रम यहीँ स्थगित भएको घोषणा गर्छु । कार्यक्रम समापन भएको छ ।

मलाई साथीहरूसँग एकदमै दुःख पनि लागेको छ । मैले हिजो चार घण्टा बसेर तपाईंहरूको कुरा सुनेँ । तपाईंहरूका गुनासा समाधान गर्छौं भनेका थियौँ,’ मिश्रले भने, ‘आज जे भयो, एकदमै दुःखद् भयो ।’ मिश्रले कार्यक्रम समापनको घोषणा गरेपछि कार्यकर्ता नाराबाजी गर्दै हलबाट बाहिर निस्किए ।

पार्टीले पुराना व्यक्तिलाई नेतृत्वमा ल्याएको, युवालाई अवसरबाट वञ्चित गरिएको भन्दै युवाहरूले पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेका हुन् । साझा पार्टीले प्रदेश–३ को संयोजकमा समीक्षा बास्कोटालाई मनोनयन गरेको छ । उनलाई पार्टीका संयोजक मिश्रले माटोको टीका लगाएर पार्टीमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्