Sunday 23rd of February 2020

फेवाताल अतिक्रमणः संरचना तत्काल भत्काउन सुझाव दियो छानविन समितिले

काठमाडौं । फेवाताल अतिक्रमण भएको विषयमा छानविन गर्न बनेको सरकारी छानविन समितिले फेवाताल वरपरका अधिकांश संरचना अतिक्रमण गरेर बनाईएको निष्कर्ष निकालेको छ ।

समितिले फेवाताल वरपर बनेका आठ ओटा संरचना भत्काउन समेत सुझाव दिएको छ ।

जसमध्य चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यले पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना फेवाताल अतिक्रमण गरेर बनाएको सरकारी छानविन समितिले निश्कर्ष निकालेको छ ।

सरकारी छानविन समितिको प्रतिवेदन सर्वोच्च अदालतमा पुगिसकेको छ । भवनको नक्सा पास भए नभएको रिपोर्ट पनि आएको छ । यसमा अब ३१ साउनबाट बहस सुरु हुनेछ ।

सर्वोच्चको आदेशअनुसार प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छाननिन समितिका अनुसार होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर रहेका छन् । बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएकोे पाइएको छ ।

समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो । यसक्रममा १५ मंसिर ०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो । त्यो योजनामा फेवातालको ६५ मिटर ९२०० फिट० भित्रमा कुनै पनि संरचना बनाउन रोक लगाइएको छ ।

प्रतिवेदन अनुसार शाक्यको होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै बनेको पाइएको छ । पानी शुद्धीकरण गर्ने ट्यांक, स्वीमिङ पुल, शौचालय, ट्रस, बगौंचा, मुल गेट र पालेघर लगायतका संरचना तालको किनारामा बनेका छन् ।

बाँकी २ वटा संरचनाहरु मात्रै तालको ६५ मिटरभन्दा बाहिर रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच
पोखरा नगर विकास योजना अनुसार फेवातालको ६५ मिटरभित्र कुनै पनि संरचना बनाउन पाइँदैन । त्यसभन्दा बाहिर पनि टहराहरुमात्रै बनाउन सकिने भनिएको छ ।

तर, शाक्यले स्वीमिङ पुललगायतका संरचना बनाएको पाएपछि अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउनुपर्ने रायसहित समितिले सर्वोच्च अदालतलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार ६५ मीटरभित्र परेका सबै संरचना भत्काउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्