Thursday 12th of December 2019

लोकसेवाबाट हुने पदपूर्ति तीन वर्ष रोक्ने तयारी

काठमाडौं । स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ ।

तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको हो ।

मन्त्रालयको तयारीमा कर्मचारी भने सशंकित भएका छन् । पदपूर्ति रोकिँदा कर्मचारीको वृत्तिविकासमा गम्भीर असर पर्नुका साथै हरेक वर्ष निजामती सेवामा प्रवेश गर्ने युवाहरूका लागि अवसर बन्द हुने चिन्ता कर्मचारीको छ ।

मंगलबार विभिन्न मन्त्रालयमा कार्यरत उपसचिव र अधिकृत तहका कर्मचारीले मन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियालाई भेटेर सचेतसमेत गराएका छन् ।

मन्त्रालयले पनि केही वर्ष लोकसेवाबाट हुने सबैखाले पदपूर्ति रोक्नेबारे छलफल भएको स्वीकार गरेको छ । प्रवक्ता सुरेश अधिकारीले छलफल भएको स्वीकार गरे ।

तर, प्रस्ताव तयार भएर मन्त्रिपरिषद्मा लैजाने तयारी नै भने नभएको बताए । कर्मचारीको समायोजनमा समय लाग्ने भएकाले तत्कालका लागि पदपूर्ति रोक्नु उपयुक्त हुने निकर्षमा भने मन्त्रालय पुगेको छ ।

सचिव दिनेशकुमार थपलियाले पनि लोकसेवाको विज्ञापन खोल्ने सन्दर्भमा रहेको कठिनाइबारे छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्