Wednesday 19th of December 2018

डिजिटल कारोबारमा सुरक्षित छाैं

सात वर्षदेखि नेपाल क्लियरिङ हाउसको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत निलेशमान सिंह प्रधान नेपालको भुक्तानी प्रणालीको विकासलाई माथि उठाउन लागि परेका छन् । नेपाल क्लियरिङ हाउसको स्थापनाकालदेखि भुक्तानी प्रणालीको विकासमा लागिपरेका प्रधानले आर्थिक वर्ष २०७४/७५ सम्म आउँदा भुक्तानी प्रणालीमा धेरै सुधार ल्याएको पनि दाबी समेत गरे । हाल नेपाल राष्ट्र बैंकले समेत भुक्तानी प्रणालीको विकास गर्न नेपाल राष्ट्र बैंकले छुट्टै निर्देशिका ल्याइ भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) मा ३ वटा र भुक्तानी सेवा प्रदायक (पीएसपी) मा २ वटालाई अनुमति दिएको छ ।
हाल क्लियरिङ हाउससँग चेक क्लियरिङका लागि ८० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यस्तै अन्तर बैंकिङ कारोबारका लागि ७३ वटा बैंक तथा वित्तीय संस्थाका साथै ७ वटा गैरबैंकिङ संस्था आबद्ध रहेका छन् । विभिन्न मर्चेन्ट बैंक तथा वालेट कम्पनी यसमा आबद्ध भएका छन् । भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउसमा हाल ८० भन्दा बढी बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदाय र रेमिट्यान्स कम्पनी आबद्ध भइसकेका छन् । यिनै विविध विषयमा प्रधानसँग गरिएको कुराकानी :

निलेशमान सिंह प्रधान, प्रमुख कार्यकारी अधिकृत – नेपाल क्लियरिङ हाउस लिमिटेड

० नेपाल क्यिरिङ हाउस कहिले र किन स्थापना भएको हो ?
– नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसँग सम्बन्धित बनाएको नीतिलाई कार्यान्वयन गराउनका लागि राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानीमा स्थापना भएको कम्पनी हो नेपाल क्यिरिङ हाउस । यसले विभिन्न प्रकारका भुक्तानी प्रणालीका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गर्ने र कार्यान्वयनमा लैजाने यसको पहिलो काम हो ।

० यसको सञ्चालन कसरी हुन्छ ?
– विद्युतीय भुक्तानी प्रणालीको पूर्वाधार तयार गर्ने र कार्यान्वयनको काम गर्ने हो । जस्तै भुक्तानीका माध्यमहरू चेक, विद्युतीय कारोबारको पूर्वाधार निर्माण गर्छ र त्यस्तो कारोबारको राफसाफको लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने काम गरिहेको छ । अहिले जति पनि विद्युतीय भुक्तानीका माध्यमहरु अपनाइरहेका छन् ती माध्यम अब नेपाल क्यिरिङ हाउसको प्रणालीमा आबद्ध नभई कारोबार गर्न असहज हुने हुन्छ । किनकी अब विद्युतीय भुक्तानी प्रणालीका सबैजासो पूर्वाधार नेपाल क्यिरिङ हाउससँग आबद्ध नभइ गर्दा राफसाफमा कठिन हुन सक्छ । चाहे त्यो कुनै बिल भुक्तानी होस्, रेमिट्यान्सको कारोबार होस् वा अनलाइन पेमन्ट नै किन नहोस् । चेकबाट गरिने भुक्तानीका लागि नेपाल क्यिरिङ हाउसले छुट्टै पूर्वाधार बनाएको छ । त्यस्तै बिना चेक अनलाइनबाट गरिने रकम ट्रान्फरका लागि अर्को पूर्वाधार बनाएको छ ।

० यो सेवा कस्तो र कुन तरिकाबाट कारोबार गरिन्छ ?
– जस्तो चेकबाट गरिने र आफ्नो खाताबाट अर्काको खातामा सिधैं रकम पठाउने प्रणालीको विकास हामीले गरेका छौं । यो पूर्वाधारको प्रयोग विभिन्न भुक्तानी सेवा प्रदायक कम्पनीहरुले गर्छन् । भुक्तानी सेवा प्रदायकले आफ्नो ग्राहकलाई यही प्रणालीमार्फत सेवा दिन सक्छन् ।

० अहिलेको भुक्तानी प्रणालीमा कस्तो प्रकारको सेवाको गुणस्तर र सुरक्षा हुन्छ ?
– यसमा हामीले दुई तरिकाले हेर्नुपर्छ । हाम्रोमा हिजो परम्परागत रुपमा हुँदै आएको भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजाने हो । हिजो बैंकमा जम्मा गरेको रकम आफ्नो खातामा पैसा आउन सात दिनसम्म लाग्ने गरेको थियो । अहिले एकै दिनमा पनि रकम आफ्नो खातामा आउने प्रविधिको विकास गरेका छौं । एक्स्प्रेस क्लियरिङमार्फत त अझ केही घण्टामा नै चेकलाई रकममा रुपान्तरण गर्नेसम्मको अटोमेसनको विकास भएको छ । ग्राहकले आफ्नो सेवामा झट्ट हेर्दा ठूलो परिवर्तन नदेखे पनि सेवा प्रदायकको हकमा भने सेवा प्रवाहमा फरक परेको छ । हामीले हालै शुरु गरेको भनेको बैंकका खातावालाले आफ्नो खाताबाटै चेक नै नकाटी गरिने भुक्तानी हो । यसबाट ग्राहकको भुक्तानी प्रणालीमा सहजता ल्याउने प्रयास हो ।
ग्राहकले आफ्नो खातामा भएको रकम कसैलाई भुक्तानी गर्न परेमा बैंकलाई अनलाइनमार्फत दिएको कुनै पनि सूचनाको आधारमा अर्को व्यक्तिको खातामा रकम पठाउन सकिन्छ ।

० प्रविधिमा आधारित नगदको कारोबार गर्दा हाम्रोमा प्रयोग भइरहेको प्रविधि कति सुरक्षित छ त ?
– पैसा कारोबारको विषय आउने बित्तिकै सुरक्षाको प्रश्न पनि सँगै आउँछ । हुन त हामीले घरमा राखेको पैसाको पनि पूर्ण सुरक्षित छ भनेर भन्न सक्दैनौं । यद्यपि, डिजिटल कारोबार गर्ने भनेपछि यसको सुरक्षामा गम्भीर हुनै पर्छ । यसो भन्दै गर्दा डिजिटल वा अनलाइन पेमेन्ट प्रणालीमा नगइ पनि भएको छैन । प्रणाली विकाससँगै समाधानका उपाय पनि खोजिएका हुन्छन् । हामीले नेपालमा विश्वमा नै सुरक्षित मानिएको प्रविधि प्रयोग गरेका छौं । हामीले विश्वमा राम्रोसँग प्रयोगमा आइसकेको प्रविधि नेपालमा ल्याएर काम गरिहेको छौं । थोरै रुपमा हामीले स्थानीयकरण गरेका छौं, जसले गर्दा हाम्रो प्रविधिसँग सुहाउँदो होस्, त्यसैले हामी डिजिटल कारोबारमा सुरक्षित छांै । अब ग्राहकलाई यसको विषयमा जनचेतना जगाउँदै विस्तारै डिजिटल प्रविधिमा आबद्ध गराउँदै ल्याउनु पर्छ ।

० अन्तर्राष्ट्रियस्तरका सफ्वेयरहरु चलाउन नेपालमा आवश्यक पर्ने पूर्वाधारहरु छन् त ?
– नेपालमा मात्र होइन विश्वमा नै यो प्रविधिमा चल्ने कारोबारमा विभिन्न प्रणालीगत समस्या त आइनै रहन्छन् । यसलाई पूर्णरुपमा निरुपण गर्नलाई कसैले पनि सक्दैन ।
तर, यसमा आइपर्ने प्रविधिगत जोखिमको पूर्वानुमान गरेर सतर्कता भने अपनाउन सकिन्छ । अझ नगदकै कारोबारसँग सम्बन्धित प्रविधि निर्माणकर्ताले त रातदिन यसको नयाँ फिचर विकासमा भन्दा पनि भइरहेको प्रणालीको सुरक्षाका लागि बढी समय दिएर काम गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्