Tuesday 25th of February 2020

थाइल्यान्डबाट के–के गरेर फर्किए पूर्वराजा ज्ञानेन्द्र र बुहारी हिमानी ?

काठमाडाैं । दुई साता भन्दा लामो समय थाइल्यान्डको बैंककमा समय विताएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ती, बुहारी पूर्वयुवराज्ञी हिमानीसहित परिवारका सदस्य शुक्रबार नेपाल फर्किएका छन् ।

नेपालमा हिन्दु राज्य र राजसंस्थाको निर्विकल्पताका विषयमा विभिन्न व्यक्तिसँग पूर्वराजा ज्ञानेन्द्रको छलफल भएको बताइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसम्म उनले गरेका छलफलका विषयमा ब्रिफिङ भएको उच्च स्रोतले जनाएको छ ।

सो क्रममा सन् २०१९ को निर्वाचनमा बहुमतका साथ सरकार बनाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिन्दूत्व स्थापनाका लागि निर्मलनिवासलाई सहयोग गर्ने संकेत मिलेको बताइन्छ । यसका लागि बैंकक बसाईका क्रममा ज्ञानेन्द्र र मोदीका नजिकका व्यापारी सिद्धार्थ अम्बानीबीच छलफल चलेको थियो ।

जर्मनमा २५ अर्ब डलर भन्दा बढिको व्यापारमा आवद्ध अम्बानी परिवारका साथ थाइल्यान्ड भ्रमणमा रहेका बेला पूर्वराजा ज्ञानेन्द्रलाई भेट्नकै लागि निजी विमानबाट बैंकक पुगेका थिए । बैंककमा भारतीय गुप्तचर संस्था रअका अधिकारीहरूसँग पनि ज्ञानेन्द्रले भेट गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरिरहेका छन् । यसअघि उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर पनि यहि विषयमा कुराकानी गरेका थिए ।

नेपालमा विश्व हिन्दू महासंघले आन्दोलनका लागि फरक तयारी गरिरहेको सन्देश लिएर बैंकक पुगेका ज्ञानेन्द्रले नेपालमा हिन्दू राज्यको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको सक्रियता रहेको पनि सूक्ष्म जानकारी भारतीय एजेन्सीका अधिकारीलाई गराएको स्रोतको दाबी छ ।

पत्नी कोमल, बुहारी हिमानीसहित नातिनीहरूसँग थाइल्यान्डमा गर्मी छल्न उनी त्यहाँ पुगेका थिए । हिमानी ज्ञानेन्द्रभन्दा केही दिन अघि नै बैंकक पुगेकी थिइन् ।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्रले नेपाल फर्किनासाथ भारतीय संस्थापन पक्षका नेता तथा भारतीय पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको निधनप्रति दुख व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन् । उनले भारतको राजनीतिक इतिहासमा ठूलो योगदान गरेका बाजपेयीको निधनले नेपाल पनि दुखी भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्