Sunday 15th of December 2019

४२ हजार युवालाई स्वरोजगार तालिम

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको सहयोगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले सात वटै प्रदेशका ४२ हजार युवालाई स्वरोजगार तालिम दिने भएको छ ।

मन्त्रालयले प्रत्येक प्रदेशका ६ हजार युवालाई सीप विकास तालिम प्रदान गर्नका लागि तालिम परिषद्लाई ७६ करोड रुपैयाँ उपलब्ध गराएको हो । सिटिइभिटीका योजना महाशाखा प्रमुख एवं निर्देशक रमेश बखतीले कार्यक्रम सञ्चालनको लागि निर्माण गरिएको कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको जानकारी दिँदै असोजबाट तालिम सञ्चालन गर्ने बताए ।

भेटेरिनरी, कुकिङ, बेकिङ, सिकर्मी, डकर्मी, सिलाइ कटाइ, वेल्डर, मेन्टेनेन्स, बाली विज्ञानलगायत दुई दर्जनभन्दा बढी विषयमा तालिम दिने परिषद्ले जानकारी दिएको छ । ‘तीन महिने तालिम सञ्चालनको लागि कार्यविधि तयार भइरहेको छ । सरकारको स्वीकृत बजेट र प्रणालीअनुरूप कार्यक्रम सञ्चालन हुनेछ । स्थानीय तहमा रहेका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यसहित कार्यक्रम ल्याइएको हो,’ बखतीले भने । सामान्य लेखपढ गरेकालाई समेत तालिममा समावेश गराइने भएको छ ।

सिटिइभिटीको ३४ र प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भइरहेका करिब २ सय गरी २ सय ३४ विद्यालयमार्फत सो तालिम सञ्चालन गरिने भएको छ । ३ सय ९० घण्टा अवधिको सो तालिम सकिएपछि सहभागीको सीप परीक्षण गराई तहगत हिसाबमा प्रमाणपत्र दिइने उनले बताए । सीप परीक्षणपश्चात् प्रमाणपत्रको श्रेणी निर्धारण गरिनेछ । तालिमप्राप्त युवाले प्राविधिक तहअन्र्तगत विभिन्न क्षेत्रमा जागिर पाउनुका साथै आफ्नै व्यवसायसमेत सञ्चालन गर्न सक्नेछन् ।

‘प्रादेशिक हिसाबमा सञ्चालन हुने तालिमले युवालाई स्वरोजगार बन्न मद्दत पु¥याउँछ । बिदेसिने युवालाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सके स्थानीय तहको विकास हुन सक्छ,’ बखतीले अघि भने, ‘नितान्त सरकारी लगानीमा हुने तालिम सञ्चालनको जिम्मा प्रदेश सरकारलाई नै दिइनेछ ।’ सिटिइभिटीले प्रदेश–१, ३ र ५ मा क्षेत्रीय कार्यालयमार्फत र अन्य प्रदेशमा समन्वय इकाइमार्फत कार्यक्रम सञ्चालन गर्नेछ । एक समूहमा २० जना प्रशिक्षार्थी राखिने जानकारी दिँदै बखतीले तालिम दिन आवश्यक पर्ने प्रशिक्षक सिटिइभिटीले खोज्ने बताएका छन् ।

सिटिइभिटीले आफ्नो प्रदेश कार्यालयमार्फत प्रदेश सरकारसँग समन्वय गरी तालिम सञ्चालन गर्ने तयारी गरेको उनले बताए । बिदेसिने युवालाई लक्षित गरी ल्याइएको कार्यक्रमले प्राविधिक शिक्षाप्रतिको आकर्षण बढाउनुका साथै युवालाई आफ्नै प्रदेशमा रोजगारीको अवसर प्रदान गर्ने बखतीले बताए ।

प्रतिक्रिया दिनुहोस्