Tuesday 25th of February 2020

कालिकोटको मोल्फोमा पहिरोले दुई घर भत्किए, एक सय ८ घर ठुलाे जाेखिममा

कालिकोट । गए रातिदेखि परेकाे अविरल वर्षाले कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ५ साविकको दाहा गाविसको वडा नं ३ मा पर्ने मोल्फामा भीषण पहिरो गएको छ । पहिरो मोल्फा बजारको माथि घोडेना गाउँबाट फुटेको हो । पहिरोले स्थानीयका दुई घर पुरेको छ भने एक सय ८ घर प्रभावित भएका छन् ।

करिब ३ किलोमिटर माथि घोडेना गाउँबाट आएको पहिरोले मोल्फा बजारका ५२ घर प्रभावित भएका छन् भने पहिरो फुटेको ठाउँभन्दा माथिका ५६ घर पनि जोखिममा परेको कालिकोटका प्रहरी प्रमुख विनोद शर्माले बताए।

११ वर्षअघि यही ठाउँमा पहिरो जाँदा घोडेमाका एक दर्जन घर र मोल्फाबजारका २२ वटा घर भत्किएका थिए।

यसपटकको लगातारको वर्षाले मोल्फा बजार पुरै बग्ने अवस्था रहेको स्थानीय भीमहरि प्राविका प्रधानाध्यापक दानबहादुर सेजुवालले बताए।

सोमबार बिहानको पहिरोले दुई घर भत्किएका छन् भने अन्यका घर पनि उच्च जोखिममा रहेको उद्दारमा खटिएका प्रहरी निरीक्षक निरोज चौलागाईले बताए। ‘पानी निरन्तर परिरहेको छ।’ प्रहरी निरीक्षक चौलागाईले भने, ‘गाउँ पुरै जोखिममा छन्।’

घोडेना र मोल्फा बजार गरी करिब ५ सय जनसंख्याको बसोबास छ। स्थानीयलाई सार्ने ठाउँ पनि गतिलो नभएकाले सार्न पनि कठिनाई भएको खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए। ‘घोडेना गाउँ र मोल्फा बजार दुवै ठाउँ जोखिममा छन्,’ नगर प्रमुख पाण्डेले भने ‘सार्ने ठाउँ पनि नजिक नहुदा समस्या परेको छ।’ उनले घोडेना गाउँ नजिक रहेको कालिका आधारभूत विद्यालय पनि गत साउनमै पहिरोले भत्काए पनि बस्ने ठाउँ नहरेको उनले सुनाए।

सोमबार बिहानदेखि पहिरो जान सुरु गरेकाले जिल्ला विपद् ब्यवस्थापन समितिले उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मीलगायतलाई परिचालन गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। प्रजिअ कार्की, प्रहरी प्रमुख विनोद शर्मा, प्रदेश सभा सांसद कुर्मराज शाहीलगायतको टोली मोल्फा पुगेर पहिरो प्रभावितको उद्दारमा लागेको सहायक प्रजिअ राजकुमार दुलालले बताए। घटनास्थल कालिकोटको सदरमुकाम मान्मबाट १५ किलोमिटर पूर्व कर्णाली राजमार्गसँग जोडिएको छ।
पहिरो फुटेको ठाउँको पानी तर्काउन जिल्ला विपद व्यवस्थापन समितिले खानेपानी तथा सरसफाई सव-डिभिजन कार्यालयबाट स्थानीयलाई ७ सय मिटिर ५० एमएमको एचडिपी पाइप उपलब्ध गराएर पानी पहिरो खस्ने ठाउँबाट तर्काइएको छ। स्थानीयलाई नजिकका घरमा सारिएको वडा नं ५ का वडाध्यक्ष खडानन्द चौलागाईले जानकार दिए।

प्रतिक्रिया दिनुहोस्