Wednesday 26th of February 2020

भारतीय प्रधानमन्त्री मोदीका नेपालमा चार भ्रमण : ‘राम’ अधुरो काम पनि अधुरो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकारी प्रमुख सम्हालेको ४ बर्षमा चौथो पटक नेपाल भ्रमणमा आएका छन् ।
विहीबारको भ्रमण उनको बिम्स्टेक सदस्य राष्ट्रका हैसियतमा चौथो शिखर सम्मेलनको सहभागीताका लागि हो । उनले नेपालमा दुई पटक राजकीय भ्रमण गरेका छन् भने अर्को सार्क शिखर सम्मेलनका बेला काठमाडौं उत्रिएका थिए ।

नेपाल उत्रिनासाथ उनी राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको दिवा भोजमा सरिक भएका छन् । बिम्स्टेक बैठकका मुख्य आकर्षक पनि मोदी नै ठहर भएका छन् । उनको सुरक्षाका लागि भारतबाट कमाण्डोको टोलीसहित बुलेटप्रुफ गाडी समेत ल्याइएका छन् ।

मोदी प्रधानमन्त्री निर्वाचित भएको केही समयमा नै सन् २०१४ मा पहिलो पटक नेपालको राजकीय भ्रमणमा आएका थिए । त्यसबेला ‘पहाडको पानी र पहाडको जवानी’लाई भारतले खेर जान नदिने बताएपछि उनको चर्चा नेपालमा चुलिएको थियो । चार बर्ष अघि मोदीको क्रेज कतिसम्म चल्यो भने उनी नयाँ बानेश्वर चोकमा उत्रिएर नेपालीसँग हात मिलाउन समेत झरे ।

उनका पटक–पटकका भ्रमणमा नेपाललाई सहयोगका वाचा भएका छन् । तर, उक्त सहयोगवापतको रकम नेपाल सरकारले अहिलेसम्म पाउन सकेको छैन । तीन महिना अघि राजकीय भ्रमणमा जनकपुर हुँदै मुस्ताङ, लुम्बिनी र काठमाडौंसम्म आएका मोदीले २ नम्बर प्रदेशको स्तरोन्नतीका लागि सय करोड भारु दिने घोषणा गरेका थिए । उक्त रकम पनि अहिलेसम्म नेपाल सरकार र दुई नम्बर प्रदेश सरकारले पाउन सकेको छैन ।

उनले उक्त भ्रमणलाई ‘तार्थटन’ भनेका थिए । दुई देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा जनकपुर–अयोध्या बस सेवाको शुभाराम्भ गरेका थिए । उक्त सेवाले अहिले गति पाउन सकेको छैन । त्यो काम पनि अधुरै रहेको छ ।

सन् २०१४ मा पहिलो पटक नेपाल आउँदा नेपालको संसद्मा सम्बोधन गर्दै मोदीले ‘धेरै धेरै वर्षअघि एक पथिक यात्री र तीर्थालुको रूपमा म यहाँ आएको थिएँ’ भनेका थिए।

भारतको गुजरात निवासी मोदीले युवावस्थामा हिमाली जिल्ला मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रमा बसेर साधना गरेको हुनसक्ने केही विद्वान्हरूको मत छ । त्यसकारण पनि उनी यसअघिको भ्रमणमा मुस्ताङ पुगेको बताइन्छ ।

चर्चित भाषण
भाषणका सन्दर्भमा मोदी निक्कै चतुर मानिन्छन् । अघिल्लो पटक सम्बोधनका क्रममा मोदीले नेपाल र भारतबीच पारिवारिक, सांस्कृतिक एवम् धार्मिक सम्बन्ध रहेकोको उल्लेख गर्दै भनेका थिए,‘ नेपालबिना हाम्रो धाम अधुरो छ, हाम्रा राम पनि अधुरा छन् ।’

प्राचीन कालमा जनकपुरका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथका छोरा रामसँग भएको पौराणिक मान्यता छ । सीताका बहिनीहरूको विवाह पनि रामका भाइहरूसँग भएको थियो ।

लुम्बिनीमा गौतम बुद्धको जन्म भएको विषयबारे पनि चर्चा गर्दै मोदीले बोधगया र रामेश्वरम्का तीर्थयात्रीका लागि समेत क्रमशः लुम्बिनी र पशुपतिनाथको महत्व उल्लेख गरेका थिए ।

सन् २०१५ मा जारी संविधानप्रति असन्तोष व्यक्त गर्दै भारतले नेपालविरुद्ध नाकाबन्दी गरेको थियो । त्यहाँदेखि नेपाली जनस्तरमा मोदीप्रति नकारात्मक भाव पैदा भएको थियो ।

मोदीको भ्रमणका बेला कतिपयले सामाजिक सञ्जालमा सन् २०१५ मा नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दी बिर्सन नसकिने भन्दै उनले क्षमा माग्नुपर्ने टिप्पणी गरेका थिए । तर यसपटक त्यस्तो विरोध वा टिप्पणी केही गरिएको छैन ।

बरु उनले युद्ध अन्त्य गरेर शान्तिमा प्रवेश गरेको र तीन तहका निर्वाचन सम्पन्न गराएको भन्दै नेपाललाई बधाई ज्ञापन समेत गरेका थिए ।

दिउँसो ४ बजे सोल्टी होटलमा हुने बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि मोदीले पनि गर्नेछन् । सो क्रममा बिम्स्टेकको महत्वका बारेमा मोदीले केही बोल्नेछन् । तर नेपालसँग गरिएको सम्झौता र त्यसको कार्यान्वयनको सवालमा भने प्रधानमन्त्री ओलीसँगको ‘वान टु वान’वार्तामा मोदीले केही भन्नसक्न अनुमान गरिएको छ ।

भारतमा हुने आगामी निर्वाचनमा पनि प्रधानमन्त्रीको उम्मेदवार रहेका मोदीले विदेश नीतिमा असमानता राखेका कारणले असफल भएको टिप्पणी त्यहाँको प्रतिपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बताउँदै आएका छन् । त्यस सन्दर्भमा नेपाल, भुटान, पाकिस्तान र बंगलादेशसँगको सम्बन्धका बारेमा गान्धीले चर्चा गरेका थिए ।

उक्त आलोचना चिर्न मोदीका लागि यो विशेष मौका हो, बिम्स्टेकमा पाकिस्तान नभए पनि नेपाल, भुटान, बंगलादेश सदस्य राष्ट्र छन् । उनले गर्ने ‘साइड वार्ता’ अर्थपूर्ण हुनेछन् भने नेपालसँग गरिएका वाचा र सहयोगका घोषणामा हस्ताक्षर गर्न सके फरक सन्देश जानसक्ने पनि बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्