Thursday 23rd of January 2020

साढे तीन वर्षमा पनि बनेन भ्यु टावर

काठमाडाैं। काठमाडौंको पुरानो बसपार्कमा शिलान्यास गरेर छाडिएको २९ तले भ्यु टावरको निर्माण कार्य तीन वर्षमा पनि सुरु हुन सकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना बितिसक्दा पनि सो कार्य सुरु हुन सकेको छैन भने निर्माण किन सुरु नभएको भन्नेमा सम्बन्धित निकाय मौन छ ।

सो टावर तीन वर्षभित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग ८ फागुन ०७१ मा सम्झौता गरेको थियो । सम्झौताको ८ महिनापछि २५ कात्तिक ०७२ मा उपराष्ट्रपति नन्दबहादुर पुनले त्यसको शिलान्यास गरेका थिए ।

शिलान्यासको ६ महिनापछि २२ वैशाख ०७३ मा त्यहाँको बसपार्क खुलामञ्चमा सारेर निर्माणस्थलको वरपर जस्तापाताले बारिएको थियो । हालसम्म पनि बाहिर जस्ताले बेरिएको छ भने भित्र निर्माण सामग्री थुपारिएको छ । त्यस स्थानमा निर्माण कार्यमा प्रयोग गर्ने उपकरणहरू थुपारिएको छ । तर, निर्माण कहिले सुरु गर्ने र किन रोकियो भन्नेमा कोही पनि जवाफदेही भएका छैनन् ।

यद्यपि, निर्माण कम्पनीका प्रमुख मनोज भेटवालले छिट्टै निर्माण थाल्ने दाबी गरेका छन् । उनले भने, ‘अब ढिला गर्दैनौँ, २४ गतेबाट निर्माण कार्यको थालनी गर्नेछौँ ।’ निकै छोटो कुराकानी गरेका उनले यसपटक भने निर्माण सुरु गर्ने बताए । तर, यसअघिका कुराकानीमा पनि उनले पटक–पटक सोही कुरा गर्दै आएका थिए ।

सम्झौता सकिएको ६ महिनाभन्दा बढी भइसक्दा समेत काठमाडौं महानगरपालिकाले भने कुनै कारबाही गर्न सकेको छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले ठेकेदारकै लापारबाहीले भ्यु टावरको निर्माण कार्य सुरु हुन नसकेको बताए ।

निर्माण कहिले सुरु हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘यस विषयमा महानगरसँग भन्दा पनि ठेकेदारसँग नै कुरा गर्नु उपयुक्त हुन्छ ।’

काठमाडौंमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भने यस विषयमा आफू जानकार रहेको बताउँदै निष्कर्षमा पुग्न मेयरसँग छलफल गर्नुपर्ने बताएकी छन् । उनले भनिन्, ‘सम्झौता नाघिसकेको विषयमा मेयरसँग एक चरणमा छलफल भइसकेको छ । अब अर्काे चरण बसेर निचोड निकाल्नुपर्छ ।’

उक्त भ्यु टावर २३ रोपनी जग्गामा बन्ने र उक्त कम्पनीलाई निर्माणपछि महानगरपालिकाले वार्षिक २ करोड ७० लाख भाडा लिने गरी २७ वर्षसम्म लिजमा दिने सम्झौता भएको थियो । सार्वजनिक–निजी साझेदारी (पिपिपी) को मोडलमा २९ तले टावर बनाउने बताइएको छ, तर महानगरपालिकाले १२ तल्लाभन्दा अग्ला भवन निर्माणमा रोक लगाएको छ । त्यसैले, १२ तल्लाको भन्दा नक्सा पास हुन सकेको छैन ।

२७ वर्ष निर्माण कम्पनीले टावर सञ्चालन गर्नेछ भने सोभन्दा पछि काठमाडाैं महानगरपालिकाको मातहतमा आउनेछ । भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड मन्त्रिपरिषद्मा पुगेकाले त्यसको गाँठो फुकेपछि २७ तला नै बनाउने बताइएको छ । यस टावरमा दुई तला अन्डर ग्राउन्ड र तीन वटा तलामा बस, माइक्रो तथा मोटरसाइकल पार्क रहनेछ ।

प्रतिक्रिया दिनुहोस्