Sunday 29th of March 2020

मन्त्रीलाई कालो झन्डा देखाउँदा….

बर्दिया । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ ।

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो ।

बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पु(याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले २४ घन्टा आइसियूमा राखेर उपचार गर्न निर्देशन दिए पनि अस्पतालमा आइसियू बेड खाली नभएपछि तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल रेफर भयो । तर, शुक्रबार दिउँसोसम्म राममनोहरको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल रेफर भयो ।

दिउँसै एकजना मेडिकल अफिसर, दुई प्रहरी र उनकी श्रीमतीसहितको टोलीको साथ लगाएर राममनोहरलाई बर्दिया प्रहरीले जहाजमा काठमाडौं पठायो । थप उपचारका लागि नेपालगन्जबाट जहाजमा काठमाडौं पठाएको बर्दिया प्रहरी प्रवक्ता डिएसपी दलबहादुर बोगटीले बताए ।

तर, उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगन्जमा शनिबार बिहान करिब साढे २ बजे उनको मृत्यु भयो । ‘प्रहरीका तर्फबाट हरसम्भव प्रयास गरिएको हो, तर दुभाग्य बचाउन सकिएन,’ डिएसपी बोगटीले भने ।

प्रतिक्रिया दिनुहोस्