Tuesday 25th of February 2020

सोमलाल सुवेदीको किन तक्मा खोसियो ?

काठमाडौँ । सरकारले पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने भनिएको पदक (तक्मा) फिर्ता लिएको छ ।

एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक निर्देशकबाट फिर्ता बोलाइएका सुवेदीले सरकारविरुद्ध सक्रिय भएपछि उनलाई तक्मा दिने निर्णय फिर्ता लिइएको स्रोतले जनाएको छ ।

सरकारले यसअघि गणतन्त्र दिवसका अवसरमा प्रदान गरिने विभिन्न पदकमध्ये पूर्व मुख्यसचिव सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री नामक पदक प्रदान गर्ने निर्णय गरेको थियो ।

तर, १ असारमा सरकारले एडिबीको बैकल्पिक निर्देशकबाट सुवेदीलाई फिर्ता बोलाएपछि उनी सरकारविरुद्ध मुद्दा दायर गर्ने योजनामा छन् ।

यसका लागि उनले आफूलाई लगाइएको आरोप र फिर्ता गर्ने सरकारको निर्णय माग गर्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दिएका छन् ।

२०७४ को गणतन्त्र दिवसमा घोषणा गरिएका पदकमध्ये प्रसिद्ध प्रवल जनसेवा श्री पदक सुवेदीका अलावा सर्वाेच्च अदालतका तत्कालिन न्यायाधीस गोपालप्रसाद पराजुली, न्यायाधीस ईश्वरप्रसाद खतिवडा, अख्तियारका दीप बस्न्यात, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, प्रधानसेनापति राजेन्द्र क्षेत्री र गृहमन्त्रालयका तत्कालिन सचिव लोकदर्शन रेग्मीलाई दिने निर्णय भएको थियो ।

यी पदकहरुबाट आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्