Thursday 23rd of January 2020

विवादास्पद व्यक्तिसँग राहुल गान्धीको डिनर ?

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी गत शुक्रबार नेपाल आए । उनी धार्मिक भ्रमणका क्रममा नेपाल आएका हुन् । यतिबेला नेपालगञ्ज हुँदै उनी मानसरोवर यात्रामा छन् ।

काठमाडौंमा उनले कुनै राजनीतिक भेटघाट गरेनन् । भारतीय दूतावास नजिकैको ¥याडिसन होटलमा बसे तर दूतावासले उनलाई मतलब गरेन । दुई सहयोगीसहित आएका राहुलले राजनीतिक भेटघाटमा चासो दिएनन् । मिडियासँग पनि टाढै रहे ।
यो व्यक्तिगत भ्रमणमा राहुलले केही विवादास्पद व्यक्तिहरुलाई भेटेको तथ्य खुलेको छ । स्रोतका अनुसार उनी व्यापारी कमल जैनसँग काठमाडौं घुमेका थिए । सरकारी जमिन अतिक्रमण गरी साँगामा शिव मन्दिर तथा रिसोर्ट चलाउने व्यक्ति हुन् जैन । जैनसँगै उनी बौद्ध घुम्न गएको स्रोत बताउँछ । बौद्धको रोड हाउस क्याफेमा बसेर गान्धीले जैनसँग डिनर खाएका थिए ।

हिलटेक पानी ट्याङकी कम्पनीका समेत मालिक रहेका जैन पहिलेदेखि नै विवादास्पद व्यापारी हुन् । उनी करछलीमा पनि मुछिएका थिए । मालपोतका कर्मचारीदेखि नेतासम्मलाई सेटिङ मिलाएर उनले साँगामा सरकारी जग्गा कब्जा गरेर धर्मको नाममा व्यापार गर्दै आएका छन् । उनीजस्ता व्यक्तिसँग राहुल घुम्न जानुलाई धेरैले आश्चर्यका साथ हेरेका छन् ।

हिन्दु मतदातालाई तान्न राहुल धार्मिक भ्रमणमा नेपाल आएको चर्चा भारतमा छ । आगामी वर्ष भारतमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । जसमा भारतीय कांग्रेसका तर्फबाट उनी प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्