Friday 6th of December 2019

देशका लागि खतरा सीके कि विप्लव ?

काठमाडाैं । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच नेत्रविक्रम चन्द विप्लव र सीके राउतको विषयमा समान धारणा बन्न नसकेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार सुरक्षा निकायहरूले नेपालको आन्तरिक शान्तिसुरक्षाका निम्ति विप्लव र राउतका गतिविधि चुनौती बन्न सक्ने निष्कर्ष केही अघि नै निकालेको छ ।

नेकपाको नाममा राजनीतिक क्रियाकलापमा सक्रिय नेत्रविक्रम चन्द विप्लव तथा उनको समूहले राष्ट्रियता र राजनीतिक शुद्धीकरण एवम् परिवर्तनलाई मुख्य एजेन्डा बनाएर गतिविधि गरिरहेको छ भने सीके राउत नेपालबाट तराईको केही भागलाई अलग्याएर बेग्लै देश खडा गर्ने अभियानमा सक्रिय रहेका छन् । दुवै समूहको गन्तव्य र सिद्धान्त परस्पर विपरीत भए पनि सुरक्षा निकायले दुवैलाई ‘सुरक्षा चुनौती’ मानेर तद्अनुरूप व्यवहार गरिरहेको छ ।

प्रचण्ड विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी आफ्नो निजी जीवनका निम्ति घातक हुन सक्छ भन्ने निष्कर्षमा छन् र ‘विप्लवहरूलाई सिध्याउन’ सक्दा मात्र आफ्नो जीवन पूर्ण रूपले सुरक्षित रहने विश्वासमा प्रचण्ड रहेको बुझिन्छ ।

विप्लव र सीकेमध्ये प्रधानमन्त्री केपी ओली सीके राउतलाई राष्ट्रिय सुरक्षाका निम्ति घातक मान्छन् र, सुरक्षा निकायहरू पनि सीकेका गतिविधिमाथि ज्यादा निगरानी बढाइनुपर्छ भन्ने धारणा राख्दछन् । तर, प्रचण्डचाहिँ सीकेभन्दा विप्लवबाट सुरक्षामा चुनौती रहेको ठान्छन् । स्मरणीय छ, प्रचण्ड विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी आफ्नो निजी जीवनका निम्ति घातक हुन सक्छ भन्ने निष्कर्षमा छन् र ‘विप्लवहरूलाई सिध्याउन’ सक्दा मात्र आफ्नो जीवन पूर्ण रूपले सुरक्षित रहने विश्वासमा प्रचण्ड रहेको बुझिन्छ । त्यसैले राष्ट्रिय एकता र अखण्डतामा चुनौती बनेको सीके राउतभन्दा विप्लव समूहलाई ‘सिध्याउने’ अभियानमा उनी लागेका छन् ।

पछिल्लो समयमा विप्लव समूहका नेताहरू एकपछि अर्को पक्राउ पर्दै जानुमा पनि प्रचण्डको मुख्य हात रहेको छ । प्रचण्डले आफ्नो कोटाका गृहमन्त्री रामबहादुर थापा बादललाई विशेष निर्देशन दिँदै विप्लवका मान्छे बाँकी नराख्न भनेका छन् । आफ्नो पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला पार्दै एकातिर पार्टी प्रवेश कार्यक्रम चलाइरहेका प्रचण्डले अर्कोतिर गृह प्रशासनको उच्चतम प्रयोग गरी विप्लवका गतिविधिमाथि पूरै नियन्त्रण गर्ने र अन्ततः उक्त राजनीतिक समूह नै सिध्याउने योजनाका साथ काम गरिरहेका छन् ।

आफ्नो सुरक्षाप्रति अत्यन्त संवेदनशील बनेका प्रचण्डले राष्ट्रिय सुरक्षामै ठूलो चुनौती बनेको सीके राउतका विषयमा भने उदारता देखाएका छन् । सीकेका गतिविधि पूर्ण नियन्त्रण गर्ने प्रधानमन्त्री केपीको इच्छामा प्रचण्ड बाधक बनेका छन् । पहिले ‘विप्लवहरूलाई सिध्याएर मात्र’ सीके राउतका विषयमा केही गर्ने सोच प्रचण्डले बनाएको र उनकै सोचअनुरूप गृहमन्त्रीले काम गर्ने गरेकोले राष्ट्रिय अखण्डतामै चुनौती बनेको सीके राउतविरुद्ध केही गर्न प्रधानमन्त्री असफल भएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान दिवस (असोज ३ गते) लाई तीन दिनसम्म भव्यतापूर्वक मनाउने बताइरहेका बेला सीके राउतले असोज ३ गते जनकपुरमा सभा गरेर संविधान र देशकै विरुद्ध सङ्घर्ष गर्ने तयारी गरिरहेका छन् । यस प्रकरणले केपी र प्रचण्डका प्राथमिकता स्पष्ट गरेको छ, प्रचण्डले आफ्नो सुरक्षालाई देशको सुरक्षाभन्दा प्राथमिकतामा राखेका छन् भने प्रधानमन्त्री केपीले देशको सुरक्षालाई प्रथम प्राथमिकता दिएका छन् । तर, गृहमन्त्री बादल प्रधानमन्त्रीभन्दा प्रचण्डको निर्देशनप्रति ज्यादा संवेदनशील रहने गरेकाले यतिबेला सीके राउतहरूले छुट पाइरहेका छन् र विप्लवहरू नराम्रोसँग सताइएका छन् ।

प्रतिक्रिया दिनुहोस्