Tuesday 10th of December 2019

राजदेवी नगरपालिकाको पोलबत्ती जडान र खरिद भन्ने शीर्षकमा लाखौं हिनामिना

रौतहट । राजदेवी नगरपालिकामा लाखौँभ्रष्टाचार भएको खुल्न आएको छ । नगरभित्र नगरस्तरीय योजनाबाट उपभोक्ता समितिले गरेको पोलबत्ती जडान र खरिद भन्ने शीर्षकमा लाखौं हिनामिना भएको पोल भुक्तानीसम्बन्धी कागजातबाट खुल्न आएको हो ।

नौवटा वडा मिलेर बनेको सो नगरपालिकामा उपभोक्ता समितिले ३७ लाख ३० हजार नौ सय ९३ रुपैया पोलबत्ती जडान र खरिद भन्ने शीर्षकको लागि छुट्याइएको थियो । उपभोक्ता समितिले खरिद गरेको र बिल बनाएको रेट र बजारको रेट फरक भएपछि, जडान गरेको सामानहरु नष्ट हुनथालेपछि भ्रष्टाचार र कमिसनको कालो करतुत बाहिर आएको हो ।उपभोक्ता समितिले स्विट एलईडी लाइट पाँच सय २५ वटा चार हजार सात सय ६० रुपैयाँको दरले २४ लाख ९९ हजार रुपैयाँबराबरको खरिद गरेको जनाएको छ । तार ९० क्वाइल एक हजार छ सय ५६ रुपैयाँको दरले एक लाख ४९ हजार ४० रुपैयाँ, स्विच पाँच सय २५ वटा ३० रुपैयाँको दरले १५ हजार सात सय ५० रुपैयाँ र पाइप पाँच सय २५ वटा आठ सय २५ रुपैयाँका दरले चार लाख ३३ हजार एक सय २५ रुपैयाँ गरी कुल भ्याटसहित ३४ लाख ९९ हजार पाँच सय १३ रुपैयाँ ९५ पैसाको बिल पेस गरी कामबापतको भुक्तानी लिएको छ ।

तर कार्यादेश पाएको उपभोक्ता समितिले जडानको नाममा केही काम नगरी कार्यालय प्रमुख मनोज रजक र लेखापाललाई कमिसनको जालमा पारी भुक्तानी लिएको स्थानीयहरुले आरोप लगाएका छन् । श्रेष्ठ बिजुली पसल गौर रौतहटबाट खरिद गरिएको स्विट एलईडी लाइट, तार, स्विच, पाइपजस्ता उपकरण लगाएको महिनौँ नबित्दै जल्ने, फ्युज हुने क्रममा वृद्घि भएपछि सर्वत्र आलोचना र आक्रोशको विषय बनेको छ । बिल भर्पाइ गरी कागजमै सकिएजस्तो लागेको यो योजनाको कामको प्रभावकारी रुपले जाँच नगरी पैसाको लोभमा भुक्तानी गरिएकोले यसबारे सम्बन्धित निकायले ध्यानदिनु जरुरी रहेको स्थानीय युवा सञ्जित गिरीले जोरदार माग गरे । यो योजनाको काम नगरपालिकाको कतिपय वडामा हुँदै नभएको अर्का युवा नविन सिंहले बताए ।

बिल र स्टिमेटबराबर गरी कागजी रुपमा भुक्तानी लिएको अवस्था छ । एउटा बल्बमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमिसनको खेल भएको छ । जनताले भने केही सुख पाएका छैनन् । ‘अँध्यारोमा थियौँ, अहिले पनि अँध्यारोमा छौँ । हामी सम्बन्धित निकायलाई गुहार्छौँ’, सिंहले आक्रोश पोखे । लगाइएको स्विच, बल्ब र अन्य सामग्री नक्कली र गुनस्तरहीन रहेकाले यसको चेकजाँच हुनुपर्ने नभए जनता चुप लागेर नबस्ने उनले बताए । यसबारे कार्यालय प्रमुख मनोज रजकसँग कुरा गर्दा उपभोक्ता समितिले राम्रो काम गरेकोले मूल्यांकन गरी भुक्तानी दिएको स्वीकारे ।

नगरपालिका पक्ष र उपभोक्ता पक्षबीच दुई वर्षसम्मको लागि लागेको बल्ब वा मर्मत सामग्री केही भएमा पुनर्मर्मत गर्ने शर्त रहेको उनले बताए । तर पूरै पैसा भुक्तानी दिनु कतिको जायज थियो ठूलो सोचनीय विषय बनेको स्थानीय पप्पु यादवले बताए । रजकले आफू ठूलो इमानदार र लगनशील कर्मचारी बताउँदै आएपनि यस्तो करिब दर्जनौँ योजनाको काम कागजमै भएपनि कमिसनको लोभमा भुक्तानी गरेको यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्