Thursday 12th of December 2019

नेपाली आकाश असुरक्षितः आठ महिनामा आठ हवाई दुर्घटना

काठमाडौं । किन असुरक्षित नेपाली आकाश ? सन् २०१८ हवाई सुरक्षाका दृष्टिकोणबाट असुरक्षित बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू यसलाई सेवामा भएको बढोत्तरीसँगै दुर्घटनाको दर पनि बढेको बताउँछन् ।

प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘नेपालमा हवाई सेवा संख्यात्मक रूपमा उल्लेख्य बढेको छ, त्यसकारण समग्र हवाई सुरक्षामा सुधार भइरहँदा पनि दुर्घटनाको दर बढेको हो ।

अनुसन्धान औपचारिकता मात्र
नेपालमा हवाई दुर्घटनापछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला उदासीन बन्दा उस्तै प्रकृतिका दुर्घटना दोहोरिने गरेका छन् । प्राधिकरणकै एक अधिकारी भन्छन्, ‘कतिपय रिपोर्ट बाहिर सार्वजनिक गर्नु त कता हो कता, स्वयं सरोकारवालासम्म पनि पुग्दैनन् । कम्पनीका कमजोरी सार्वजनिक हुन पाउँदैनन् । त्यसकारण एउटै प्रकृतिको दुर्घटना पटक–पटक हुन्छन् ।’

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले गम्भीर हुनुपर्ने वेला भएको बताए । मन्त्रालयको तर्फबाट अनुसन्धान र नियमनमा कुनै कमी नभएको दाबी पनि गरे । ‘कतिपय दुर्घटना नहुनुपर्ने परिस्थितिमा पनि भइरहेका छन्,’ उनले भने, ‘हामी गम्भीर भएर हेर्छौँ ।