Friday 3rd of April 2020

पाठ्यक्रम आयो, प्रविधि आएन

संखुवासभा । जिल्लाको मकालु गाउँपालिकाका सबै विद्यालयमा कम्प्युटर विषय पढाइ हुन्छ । तर, यहाँका विद्यालयमा कम्प्युटर पढाइने गरेको भए पनि विद्यार्थीले भने अहिलेसम्म कम्प्युटर देख्न पाएका छैनन् ।

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालदेखि कक्षा ६ बाट कम्प्युटर शिक्षा सुरु गरेको हो । कक्षा ६ देखि ८ सम्म अनिवार्य र ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा भनिए पनि विद्यार्थीले अहिलेसम्म कम्प्युटर देख्न नपाएको मकालु गाउँपालिकाका शिक्षा अधिकृत वासु कोइरालाले बताए ।

सरकारले विकासका पूर्वाधार विना नै विविध नीति बनाएका कारण विद्यार्थीले समस्या भोग्नुपरेको विद्यार्थीहरूको गुनासो छ । गाउँपालिकाले भर्खरै मात्र निर्माण गरेका शिक्षा नियमावलीमा समेत कम्प्युटर शिक्षाबारे कुनै कुरा उल्लेख गरिएको छैन ।

खाँदबारी नगरपालिकाका शिक्षा अधिकृत दीपकमणि घिमिरेले भने ‘यहाँका अधिकांश विद्यार्थीले कम्प्युटर देख्न पाएका छैनन् । अनिवार्य गरिएको शिक्षामा प्रविधि दिन जरुरी छ । पाठ्यक्रम दिएर मात्र पुग्दैन ।’

सरकारले ल्याएको अधुरो शिक्षा नीतिको मारमा दुर्गम तथा विकटका विद्यार्थी पर्ने गरेको त्यसका लागि शिक्षा नीति नै परिवर्तन गर्न आवश्यक रहेको खाँदबारी नगरपालिकास्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरबहादुर राईले बताए । ‘शिक्षामा विद्यार्थीलाई अनिवार्य कम्प्युटर सिकाउने नीति सरकारले ल्यायो ।’ उनले भने, ‘विद्यार्थीलाई कम्प्युटर आधारभूत ज्ञान सिकाइन्छ । तर, विद्यालयमा न कम्प्युटर छ, न विद्यार्थीले शिक्षक पाएका छन् ।’

स्थानीय तहले पनि शिक्षा नियमावलीमा कम्प्युटर शिक्षाको व्यवस्था गर्ने भनेको छ । तर, विद्यालयहरूमा कम्प्युटर नै नभएकाले कसरी कम्प्युटर शिक्षा दिने भन्नेमै समस्या रहेको खाँदबारीस्थित वागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निप्रसाद घिमिरेले बताए । ‘जिल्लाभरिका विद्यालयमा कम्प्युटर शिक्षा पढाइ हुन्छ तर, विद्यार्थीले कम्प्युटर देख्न पाउँदैनन्’ उनले भने, ‘कम्प्युटर शिक्षालाई कि अनिवार्य नगर्नुपर्ने कित विद्यालयमा पढाई राम्रो व्यवस्था हुनुपर्यो ।’

जिल्लाभरि रहेका स्कुलहरूमा अपवाद बाहेक विद्यालयमा कम्प्युटर नभएको कारणले विद्यार्थीलाई कम्प्युटर शिक्षाको विषयमा पढाइ हुने गरेको भए पनि व्यवहारिक रूपमा पढाउन समस्या रहेको जिल्ला शिक्षा विकास समन्वय इकाई संखुवासभाले जनाएको छ ।

जिल्लाका सबै सामुदायिक तथा सरकारी विद्यालयहरूमा अनिवार्य कम्प्युटर विषयको अनिवार्य लागू गरेको भए पनि विषय शिक्षक नहुँदा पढाइमा समस्या भएको छ । आधारभूत तहको शिक्षामा अनिवार्य कम्प्युटर विषय बनाएको भए पनि नेपाल सरकारले विषयगत शिक्षकको दरबन्दी व्यवस्था नगरेको सभापोखरी गाउँपालिकाका प्रमुख रत्न सुब्बाले बताए । ‘कम्प्युटर शिक्षा अनिवार्य बनाइयो ।’ उनले भने, ‘त्यो अनिवार्य गरिएको शिक्षामा विषय शिक्षकको दरबन्दीको व्यवस्था गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्