Tuesday 18th of February 2020

मन्दिरको शरणमा ‘बाल विधवा’

काठमाडाैं । राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका ‘बाल विधवा’ हरू यतिवेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन् । पोखरा–बागलुङ राजमार्गअन्तर्गत सहस्रधारा छेवैमा रहेको मुक्तिनारायण मन्दिर र सोही परिसरमा रहेको आश्रममा आफ्नो बाँकी जीवन बिताउने प्रणसहित उनीहरूले मन्दिरमा आश्रय लिएका हुन् ।
कुश्मा नगरपालिका पकुवा भिरमुनि माइती भएकी बाल विधवा पद्मा आचार्यको कर्म घर भने बाजुङ देवीस्थान हो । माइतीमा ठाकुरदेवी भुवाजी (कान्छी) भनेर बोलाइने उनले अहिले ७५औँ वसन्त पार गरिसकेकी छन् । ०१३ सालमा विवाह बन्धनमा बाँधिएकी उनी त्यतिबेला जम्मा १० वर्षकी मात्र थिइन् ।

पति र पत्नीको सम्बन्धसमेत राम्रोसँग बुझ्न नपाएकी उनले विवाह भएको तीन वर्षमा आफ्नो पति नारायण भुवाजीलाई गुमाउनु पर्यो । त्यतिवेलाको नेपाली समाजको दृष्टिकोण र महिलाप्रति गरिने व्यवहार पचाउन उनका लागि फलामका चिउरा चपाउनुसरह थियो । त्यसमाथि पति गुमाएकी उनलाई ‘पति खाई, अलच्छिना रैछे’ भनेर आरोप लगाउनेहरू प्रशस्तै थिए गाउँमा ।

ती सबै दुःख, पीडा बिर्सेर परिवारले दिएको सानो टुक्रा जमीनमा उनले आफ्नो बाँकी जीवन सम्हाल्ने कोसिस गरिन् । तर, उनको त्यो प्रयासले बाँकी जीवन गुजार्न मुस्किल थियो । ०४३ सालमा आफ्नो भागमा परेको सानो टुक्रा जमिनलाई ४० हजार रुपैयाँमा बेचेर उनी मुक्तिनारायण मन्दिरको आश्रममा आएर बस्न थालिन् ।

जीवन जब बुझ्न थालिन् त्यतिबेलै उनको जीवन आधा मरिसकेको थियो । ‘त्यही आधा जीवन सार्थक बनाउन आश्रममा आएकी छु,’ पद्मा आचार्य रुँदै बिलौना गर्छिन्, ‘१०÷११ वर्षमा पति के हो थाहा थिएन । जब बुझ्ने भएँ, मैले पति गुमाइसकेकी थिएँ ।’ १६ वर्षको उमेरदेखि ४० वर्षसम्म आफूले धेरै खप्की र हन्डर खानुपरेको उनी सम्झिछिन् ।

उनी भन्छिन्, ‘विगत सम्झँदा भक्कानो फुटेर आउँछ तर, के गर्ने ? अहिले त भगवान्को शरणमा खुसी छु ।’ त्यस्तै, मूलपानी बागलुङ माइत भई मालिका गाविस पञ्चासे, बागलुङ कर्म घर भएकी पवित्रा सापकोटाले पनि ११ वर्षमै आफ्नो पति गुमाइन् । १९९१ सालमा जन्मिएकी उनलाई सात वर्षको उमेरमै काखमा च्यापेर सिन्दूर हालिएको थियो ।

बिहे भएको दुई वर्षमै पति खगेन्द्र सापकोटा बितेपछि घरपरिवारबाट हेला भएको उनले गुनासो गरिन् । ‘पति टोकी, पिराहा रैछे’ भनेर परिवारले दुःख हैरानी दिएका ती दिन उनी झल्झल्ती सम्झिन्छिन् । देवरहरूले दिएको सात हजार रुपैयाँमाथि आफूले दुःखजिलो गरेर थन्क्याएको सात÷आठ हजार लिएर उनी मुक्तिनाथ मन्दिरको आश्रम आएकी हुन् ।

०४८÷४९ तिर आश्रम झरेकी उनी पति गुमाएपछि परिवारले दिएको पीडा सबैभन्दा तीखो रूपमा मुटुमा बिझिरहेको बताउँछिन् । उनी थप्छिन्, ‘सुख कहिल्यै पनि बुझ्न पाइनँ । पति गुमाएँ, जीवन एक्लै धकेलिरहेकी छु । अब त मर्ने वेला पनि हुन लाग्यो । भगवान्को शरणमा छु ।’ आफ्नो कथा भनिरहँँदा उनका आँखा आँशुले निथ्रुक्क भिजिसकेका थिए ।

उनीलगायत मुक्तिनारयण मन्दिरमा अहिले चार जना बाल विधवा तथा महिला शरण लिइरहेका छन् । पुजारी, बाल विधवालगायत यहाँ अहिले आठ जनाको नित्य खानपानको व्यवस्था मन्दिरले नै गर्ने गरेको छ । मन्दिरका मूल पुजारी नारायण उपाध्याय भन्छन्, ‘भगवान् सम्झेर आउने सबैलाई भगवान्ले नै खान, बस्न पुर्याउनु भएको छ ।

उहाँहरू आएर हामी झन् खुसी भएका छौँ । मिलेर भगवान्को आराधना गर्छौं । मिलेर जीवन गुजारिरहेका छौँ ।’ देशले संघीयता र गणतन्त्रको अभ्यास गरिरहँदा ठाकुरदेवी र पद्माजस्ता बाल विधवाहरू देशैभर अभावको जीवन जिउन बाध्य छन् । आज पनि उनीहरूजस्ता अभागी महिलाको सहज जीवनयापनका लागि कसैले केही गरेको देख्न र सुन्न पाइएको छैन ।

जिउँदा इतिहास बनेका बाल विधवाहरू आफूलाई राज्यले उचित हेरविचार गरोस् भन्ने चाहन्छन् । अपेक्षा राख्दाराख्दै कपाल सेताम्मे भयो, जीउ कुप्रो पर्यो तर, उनीहरूको अपेक्षा मात्र अपेक्षामै सीमित रह्यो । ‘विधवा, जेष्ठ नागरिकभत्ता बाहेक सरकारले उनीहरूको हितमा छुट्टै केही गर्न सकेको छैन, यद्यपि जेष्ठ नागरिकहरूमा पनि बाल विधवाहरू साँच्चै पीडा सहेर बाँचेका संघर्षशील महिलाहरू हुन् ।’

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले भनिन्, ‘नगरपालिकाभर कति बाल विधवाहरू छन् उनीहरूको खोजी गरी स्थानीय सरकारको तहबाट यथोचित व्यवस्थापनका लागि पहल गर्न लागिपर्नेछु । जीवन नबुझ्दै आफूभन्दा कैयन् धेरै उमेरका पाकासँग विवाह गर्नुपर्दा वास्तवमै उहाँहरूले सुखको अनुभूति कहिल्यै गर्न पाउनुभएन ।’

बाल विधवाहरू समाजको सम्मान गर्न लायकका पात्र भएको बताउनुहुने उनले भनिन्, ‘उहाँहरूले भोगेका दुःख, पीडा सुन्दा सबैका आँखा रसाउँछन् । तर के गर्ने ? हिजोको जमाना त्यही थियो । बाउआमाले सानैमा उमेर नमिलाई गरिदिएको विवाहका कारण आज पनि उहाँहरू संघर्षपूर्ण जीवन बाँच्न विवश हुनुपरेको छ ।’

कुश्मा बजारबाट सात किलोमिटरको दुरीमा यो आश्रम रहेको छ । सहस्रधारा जरेवरबाट सय मिटर उत्तरतर्फ पर्छ यो मन्दिर । आश्रममा भक्तजनहरूको आउने जाने क्रम चली नै रहन्छ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथधाम जाने आउने तीर्थालुहरूले यस मन्दिर आएर दर्शन गर्छन् ।

मुक्तिनाथ जानु पहिले सहस्रधारामा नुहाएर गए मात्र फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । मुक्तिनारायण मन्दिर, आश्रम र सहस्रधारा एक किलोमिटरको आसपासमा रहेका छन् । यो आश्रम तथा मन्दिर मुक्तिनाथ जाने तीर्थालुहरूको पहिलो वासस्थानको रूपमासमेत चिनिन्छ ।

त्यति प्रचारमा नआएको यो मन्दिर पोखरा–बागलुङ राजमार्गको छेवैमा पर्दछ । पोखरादेखि ६४ किलोमिटरको दुरीमा यो आश्रम रहेको छ । यो मन्दिर तथा आश्रमको गुठीबाट आउने अन्नले नै यहाँ वास बस्ने भक्तजनहरूका लागि बिहान बेलुकाको भोजन जोहो गर्ने गरेको मन्दिरका पुजारी उपाध्याय बताउँछन् ।

सडक सञ्जालमा नजोडिएका बेला मुक्तिनाथधाम जाने र फर्कने तीर्थयात्रीहरूले खचाखच हुने यो आश्रम सडक सञ्जाल जोडिएसँगै आश्रम आउनेहरूको चाप घटेको उनको अनुभव छ । उनी भन्छन्, ‘गाडीमा सिधै मुक्तिनाथधाम जाने आउने भएका कारण यहाँ वास बस्ने तीर्थालुहरूको चाप घटेको हो ।’

प्रतिक्रिया दिनुहोस्