Friday 3rd of April 2020

निर्मला हत्या प्रकरणः बम दिदीबहिनीलाई मात्र थाहा छ !

डोटी । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा बम दिदीबहिनीको ठूलो हात रहेको कांग्रेसका एक नेताले दाबी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले निर्मला हत्याको रहस्य बम दिदीबहिनीलाई मात्रै थाहा भएको दाबी गरेका हुन् ।

डोटीमा सोमबार पत्रकार सम्मेलन गर्दै नेता बलायरले निर्मलाको मृत्यु हुनुपूर्व बम दिदीबहिनीकै घरमा हुनु, त्यसपछि त्यहाँबाट गायब बन्नु र निर्मलाकी आमाले छोरीको खोजी गर्ने समय वविता बमको ठाडो जवाफ आउनुले हत्यामा उनीहरुकै संलग्नता हुनसक्ने उनको भनाइ छ ।

सरकारले एकपछि अर्को भइरहेका बलात्कारका घटनाका दोषीलाई पत्ता लगाउन नसक्नु बिडम्बना भएको उनको भनाइ छ । निर्मलाको हत्यारा हालसम्म सार्वजनिक नहुनु सरकारको नागरिक प्रतिको निरिहपन भएको उनको आरोप छ ।

निर्मला १० साउनमा रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबिताले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ । स्थानीयबासीले सुरुदेखि नै बम दिदीबहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए ।

तर, लामो समयसम्म प्रहरी अनुसन्धान बाहिर रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पनि केही दिनमा नै धरौटीमा छुटेका थिए । निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्