Saturday 22nd of February 2020

इट्टा उद्योगमा १ लाख ५० हजार कामदार आवश्यकता

काठमाडौं । रोजगारी नपाएको भन्दै ठूलो संख्यामा जनशक्ति बिदेसिइरहेको बेला स्वदेशकै इँटा उद्योगमा तत्काल एक लाख ५० हजार श्रमिक आवश्यक परेको व्यवसायीले बताएका छन् । मासिक औसत २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने ती उद्योगमा नभइनहुने श्रमिक भारतबाट ल्याएर व्यवसायीले काम चलाइरहे पनि तत्काल एक लाख ५० हजार थप श्रमिक आवश्यक परेको इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए।

भारतबाट मजदुर ल्याएर जसोतसो उद्योग चलाइरहेका व्यवसायी भारतीय मजदुर जुनसुकै बेला फर्कन सक्ने भएकाले लगानी डुब्ने खतरा रहेको बताउँछन् । ‘श्रमिक नपाए जुनसुकै बेला उद्योग बन्द हुन सक्छ,’ चित्रकारले भने, ‘इँटा उद्योगका लागि चाहिने श्रमिक जुटाउन सरकारको सहयोग चाहिएको छ।’

देशभर करिब एक हजार इँटा उद्योग दर्ता भएर सञ्चालन भइरहेका छन् । चित्रकारका अनुसार सबै उद्योगमा एक लाख ५० हजार जतिले रोजगारी पाएका छन् । ‘देशभरका इँटा उद्योगको क्षमता कम्तीमा तीन लाखलाई रोजगारी दिन सक्नेछ,’ चित्रकारले भने, ‘तर जति प्रयास गर्दा पनि श्रमिक भेट्न सकेका छैनौं।’

प्रतिक्रिया दिनुहोस्