Saturday 21st of September 2019

कोइराला परिवार फुटाउन सिटौलाको नयाँ अस्त्र

काठमाडौं । नेपाली कांग्रेसभित्र अलग गुट बनाएका कृष्णप्रसाद सिटौलाले कोइराला परिवारमा विभाजन ल्याउने गरेर गतिविधि गरेको खुलासा भएको छ ।

कांग्रेस परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइरालाले कांग्रेसलाई मजबुत बनाउन एक हुने संकेत गरेसँग सिटौला बाधक बनेर अगाडि आएका हुन् ।

कोइराला परिवारको एकता भाँड्ने गरेर सिटौलाले गतिविधि गर्नुका साथै कोइराला परिवारमा एक्लाएक्लै भेट गरेर एकअर्का विरुद्ध कुरा गर्ने गरेको स्रोतको भनाइ छ । दुई दिन अगाडि सिटौलाले नेतृ सुजाता कोइरालासँग उनकै निवासमा भेट गरेर शेखर र शशांकविरुद्ध कुरा गरेको आरोप लागेको छ ।

त्यति मात्रै होइन सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पनि कोइराला परिवारलाई उक्साइ रहेका छन् ।

आफू अनुकूलको परिस्थिति आउने संकेत नदेखेपछि कोइराला, देउवा र पौडेल समूहलाई जुधाएर सिटौला अगाडि जाने योजना रहेको आफू निकटका नेताहरुसँगको गोप्य बैठकहरुमा भन्ने गरेको एक नेताले बताए ।

नेता सिटौलाकै कारण कांग्रेसभित्र सहमति हुन नसकेको आरोप छ । पछिल्लो समय सिटौलाले नै कांग्रेसका नेताहरु मिल्न नदिएको आरोप छ ।

भारतको इसारामा नेपालको राजनीतिमा गर्ने गरेको आक्षेप सिटौलालाई छ । भारतसँग निकट रहेकै कारण सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पुलको भूमिका खेलेको बताउने गरिन्छ ।

सुजाता कोइरालासँग डेढ घण्टा भएको कुराकानी र वार्तामा सिटौलाले देउवा, पौडेलका साथै शेखर र शशांकका विरुद्ध घुमाउरो भाषामा कुरा राखेको एक नेताले बताए ।

सुजाता र सिटौलाबीच आगामी महासमिति बैठक र महाधिवेशन तयारीसहित अब पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्ने विषयमा पनि छलफल भएको छ  ।

छलफलमा सहभागी कांग्रेस नेता रोमी गौचन थकालीले सभापति शेरबहादुर देउवाका कारण पार्टी कमजोर भएको प्रतिक्रिया दिएका छन् । गौचनले पूर्वसंस्थापनका रूपमा सिटौला र सुजातालाई एक ठाउँमा उभिन आग्रह गरेका छन् ।

कांग्रेस नेतृ सुजाता कोइरालाले आफू स्वास्थ्य ठीक भएपछि सक्रिय हुने भन्दै सिटौलासहितका नेतालाई सक्रिय भएर लाग्न सुझाव दिएकी पनि छिन् ।

आफूहरू तीनमध्ये एकजना १४औँ महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा उनीहरू छन् । सभापति देउवालाई परास्त गर्न पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्नेमा यी नेताहरू पनि एकमत छन् । नेता सिटौला १२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाबाट मनोनीत महामन्त्री हुन् ।

सिटौलाले देउवालाई समर्थन गर्दा तत्कालीन संस्थापन पक्षका नेता रामचन्द्र पौडेल पराजित भएका थिए । देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै सिटौला असन्तुष्ट रहँदै आएका छन् । देउवाले व्यक्तिगत स्वार्थमा सहयोग नगरेको भन्दै सिटौला आगो बनेका छन् ।

सिटौलालाई युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरीसहितका नेताहरूले साथ दिएका छन् । सिटौलाले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई गगन थापामार्फत आफ्नो समूहमा ल्याउने कोशिस गरिरहेका छन् ।

केही समय अगाडि केसीकै पहलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.रामशरण महतसहितको छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्