Saturday 21st of September 2019

हातहातै सामाजिक सुरक्षा भत्ता

ललितपुर । ललितपुर महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता हातहातमै पुर्याउने गरी काम गर्न वडालाई निर्देशन दिएको छ ।

चौमासिक रूपमा एकमुष्ट सुरक्षा भत्ता वितरण गर्दै आएको महानगरले अनियमितता हुन सक्ने भन्दै सम्भव भएसम्म घरघरमै गएर वितरण गर्न निर्देशन दिएको हो ।

अपांग र वृद्धवृद्धा सरकारले दिएको सामाजिक सुराक्षा भत्ता लिन वडा कार्यालयसम्म उपस्थित हुन नसक्ने भएकाले वडाकै विभिन्न ठाउँमा केन्द्र राख्न पनि महानगरले भनेको छ । यसअघि चेकमार्फत रकम भुक्तानीको व्यवस्था मिलाए पनि यसपटक भने नगद नै दिने योजना महानगरले बनाएको छ ।

एकल महिलाहरू मात्रै यसअघि वडा कार्यालयमा भत्ता लिन आउने गर्दथे, तर वृद्धवृद्धा र अपांगले भने आफन्त पठाउने गरेका कारण सो रकम दुरुपयोग भएको हुन सक्ने महानगरको आशंका छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईका अनुसार यसपटक भने घरघरमै गएर सम्बन्धित व्यक्तिकै हातमा दिन निर्देशन भएको छ ।

बडादसैँ नजिकिइरहेका वेला अहिले वडा कार्यालयहरूले विभिन्न स्थानमा केन्द्र स्थापना गरेर सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिलाई नै वितरण गरिरहेका छन् ।

वितरण केन्द्रमा भेटिएकी ७४ वर्षीया विन्दु क्षेत्रीले हातमै नगद पाएकोमा खुसी व्यक्त गरिन् । ‘हाल डर मान्नुपर्ने समय र परिस्थिति छ, कसैले कसैको विश्वास गर्न सक्ने अवस्था छैन,’ उनले अगाडि भनिन्, ‘हिँडडुल गर्न सकुन्जेल भत्ता लिन आफैँ आउनु उचित हुन्छ । चेक साट्ने झन्झट भएन, आज हातहातमा रकम पायौँ, खुसी भएको छु ।’

७३ वर्षीया जगतमाया महर्जनले भत्ताको रकम पाउनेबितिकै भनिन्, ‘४ गते बुढाको बर्खान्त छ, म बर्खान्तमा यो पैसा खर्च गर्छु ।’ बुढाको काममा आफ्नो पैसा आफैँ खर्च गर्न पाउँदा निकै खुसी लागेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्