Monday 20th of May 2019

मेलम्चीको ३ सय ४० बोरा सिमेन्ट चोर को ?

[mashshare]

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणका नाममा भएका धेरै अनियमितताहरु गर्भमै छन् । यसबारेको सत्य–तथ्य ढिलो–चाडो सतहमा आउला नै । तर अहिले भने आयोजना निर्माणका लागि खरिद गरिएको दर्जनौं बोरा सिमेन्ट हराएको विषयले हल्लीखल्ली मच्चिएको छ ।

आयोजना निर्माणका लागि खरिद गरिएको ३ सय ४० बोरा सिमेन्ट हराएको हो । आयोजनाको सिमेन्ट चोर्ने काममा कसको संलग्नता थियो ? भन्ने नखुले पनि निजी पसलमा भेटिएको जानकारी स्रोतले दिएको छ । गुप्त रुपमा आयोजनाको सिमेन्ट गायब भएपछि खानेपानी मन्त्रालय र आयोजनामाथि यसबारे छानबिन गर्न दबाब परेको छ । तर मन्त्रालय र आयोजना दुवैले अहिलेसम्म यसमा कुनै तदारुकता नदेखाएको कर्मचारीहरुको गुनासो छ ।

आयोजनाको ३ सय ४० बोरा सिमेन्ट निजी पसलमा बेचेको विषयमा निजी स्वकीय अधिकृत विजयदेव भट्टराईलेगत असोज ७ गते विज्ञप्ति सार्वजनिक गरेका थिए । तर यो विज्ञप्ति दोषी पहिल्याएर कारबाही गर्नभन्दा पनि ढिसमिस गर्ने आशयका साथ आएको धेरैको बुझाइ छ । कमाउ धन्दामा मन्त्री मगरका स्वकीय सचिवालयका सदस्यहरु ज्यान छाडेर लागेकाले सिमेन्ट काण्डका दोषी उम्काउन स्वकीय सचिव बिकाउ हुने त होइनन् भन्ने चिन्ता पनि मन्त्रालय र आयोजनातिर उत्तिकै व्याप्त छ ।

मन्त्रालय र आयोजनाले सिमेन्ट चोरी प्रकरणमा आँखा चिम्लिएपछि केही सचेत कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेको खबर छ । सिमेन्ट चोरीबारे छानबिन गर्न माग गर्दै गत असोज ७ गते ६१ नम्बर चलानी रहेको पत्र दर्ता भएको र त्यसबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ । तर, अहिलेसम्म यसबारे कुनै निर्णय भने भइनसकेको बताइएको छ ।

यसैबीच, एकीकृत सभ्यता बागमती सफाइ आयोजनामा खुलेको ठेक्कामा समेत मन्त्री मगरका स्वकीय सचिवहरुले अनावश्यक दबाब दिएको गुनासो प्राप्त भएको छ । इएमआरसी नामक ठेकदार कम्पनीसँग मन्त्री मगरका सचिवालयका विजयदेव भट्टराईलगायतले सोही कार्यालयका प्रमुख आशिष घिमिरे जो खानेपानी मन्त्रालयका नेकपा निकटका कर्मचारी हुनलाई ठेक्का पार्न दबाब दिएको बुझिएको छ ।

यसैमहिना दोस्रो विवाह गरेका भट्टराईको रवाफिलो विवाह पनि मन्त्रालयमा चर्चाको विषय बनेको छ । रोचक त के छ भने मुलुकी संहिता अनुसार कारबाहीको भागिदार हुने भट्टराईले तामझामका साथ इन्द्रेणी फुडल्याण्डमा दिएको पार्टीको शोभा बढाउन स्वयं नेकपाका अध्यक्ष प्रचण्ड नै सहभागी भएका थिए । उनले यही विवाहका लागि चलखेल गरेको खासखुस पनि खानेपानी मन्त्रालयका विभागीय प्रमुखहरुबीच चलेको छ ।

-sanghunews

प्रतिक्रिया दिनुहोस्