Monday 27th of January 2020

पूर्वप्रधानन्यायाधीश पराजुलीले घुँडा टेकेर टीका लगाउनुपर्ने परिस्थिति कसरी बन्यो ?

–सूर्य थापा
संयोगवश : उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन हुनुभएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो !! एकजना चर्चित मानवअधिकारकर्मी राष्ट्रपतिका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानुनमा विद्यावारिधि उपाधियुक्त स्वकीय सचिव !!! अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादशैँको टीका ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप एवम् गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताविक भएन ।

आजीवन हसिया हथौडाअङ्कित झण्डामुनि क्रियाशील, नेकपा (एमाले) को दुई कार्यकाल उपाध्यक्ष, नेपाली महिला सशक्तीकरण आन्दोलनकी प्रेरणादायी नेतृ, जननेता मदन भण्डारीकी जीवनसङ्गिनी र कम्युनिस्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? नागरिक हैसियतको यसरी हुर्मत लिनेगरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रवैया मान्य हुन सक्दैन । किनभने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै तहका पदाधिकारी र जनप्रतिनिधिहरू जननिगरानीअन्तर्गत नै रहेको हेक्का राखिनु मनासिव होला ।

लेखक थापा ।
यस सन्दर्भमा तीनवटा पक्ष विचारणीय छन्ः पहिलो, राष्ट्रपति कार्यालयको कर्मचारीतन्त्रले जसरी आफू प्रशिक्षित छ, त्यसरी नै सांस्कृतिक अभ्यास गराउन चाहन्छ । दोस्रो, उहाँको सुरक्षा घेरा, खासगरी राष्ट्रपति नेपाली सेनाको परमसेनापतिसमेत रहेको हुनाले राष्ट्रप्रमुख भनेको राजाजस्तै हो भन्ने सेनाको आफ्नैखालको बुझाइ र अभ्यास छ । र, हिजो दरबारका जे–जस्ता अभ्यास थिए, तिनको निरन्तरताका रूपमा नै सेनाले राष्ट्रप्रमुखका आजका अभ्यासलाई अघि बढाउन चाहन्छ । तेस्रो, विद्यादेवी भण्डारी राष्ट्रपति चुनिनुभएको र शीतलनिवासमा दशैँ मानिएको यो पहिलोपटक थिएन । त्यहाँ उहाँकै चारवटा दशैँ सम्पन्न भइसकेका छन् । अहिले जुन खालका केही तस्बिरहरू सार्वजनिक भए, राष्ट्रपति पदको मूल्य–मान्यता, मर्म र गरिमा तथा बहालवाला राष्ट्रपतिको पृष्ठभूमि, सङ्घर्षपूर्ण इतिहास र छविसँग मेल खाने भएनन् । किनभने उहाँ कसैलाई पनि घँुडा टेकाएर टीका लगाउनुपर्ने दर्शन, आस्था, विचार, विश्वास र मनशायको व्यक्तित्व होइन । त्यहाँ के परिबन्दले काम ग¥यो ? वा कस्ता प्रवृत्तिले काम गरे ? योचाँहि छानबिनयोग्य दृष्टान्त थियो ।

खासमा उहाँ राष्ट्रपति हुनुहुन्छ र उहाँले टीका लगाइदिँदै गरेका केही तस्बिर आँखामा बिझाउनेखालका किन भए भनी टिप्पणी हुनु स्वाभाविकै थियो । कम्युनिस्ट राष्ट्रपति नभएर अरू कोही आस्थावाला त्यहाँ विराजमान रहेको भए यसखाले टिप्पणी र बहस हुँदैनथ्यो । आजको बदलिएको नयाँ परिप्रेक्ष्यलाई पचाउन जो–जसलाई गाह्रो अप्ठेरो परेको होला, तिनलाई शिक्षा–दीक्षा दिएर संस्कार र संस्कृतिमा समयानुकूल परिष्कार गर्नुपर्ने देखिएको छ । त्यसैले यो प्रकरण कुनै सुनियोजित वा षड्यन्त्रमूलक थियो भनेर चियाको कपमा तुफान सिर्जना गर्न खोज्नु आवश्यक छैन ।

राष्ट्रपति भण्डारीलाई नेपाली जनताले नजिकबाट चिन्दछन् । उहाँ राष्ट्रपति भइसकेपछि मात्र मान्छेहरूले चिनेका अवश्य होइनन् । उहाँ आफ्नो पार्टीको उपाध्यक्ष हुनुुहुन्थ्यो, जननेता मदन भण्डारीको जीवनसङ्गिनी र नेपाली महिला आन्दोलनको एउटा प्रेरणादायी नेतृ रहेको पृष्ठभूमि जगजाहेर छ । उहाँकै प्रस्तावमा पुनःस्थापित प्रतिनिधिसभाले २०६३ सालमा सङ्कल्प प्रस्ताव पारित गरेर राज्यका हरेक निकायमा एकतिहाइ (३३ प्रतिशत) महिला सहभागिताकोे अनिवार्य कानुनी व्यवस्था गरेको थियो ।

यस हिसाबले उहाँ महिला सशक्तीकरण आन्दोलनको एउटा स्थापित मानकसमेत हो । उहाँको आस्था, विचार, नेतृत्व, स्वभाव, जीवनशैली आदिबारे नेपाली समाज जानकार र परिचित नै छ । फेरि कसैले दयाकृपा गरेर उहाँलाई राष्ट्रपति बनाएकोजस्तो अवस्थासमेत होइन भनेर स्मरण गरिनुपर्दछ । आफ्नो पृष्ठभूमिका कारणले नै उहाँ आजको स्थानमा स्थापित हुनुहुन्छ । के गर्न हुने र के गर्न नहुने भन्नेमा उहाँ स्वयम् राम्रो जानकारी भएको व्यक्तित्वसमेत हुनुहुन्छ । एउटा फोटोले उहाँको त्यो स्थापित छवि र व्यक्तित्वलाई धुमिल बनाउन सक्दैन । कतिपयले राजतन्त्रकालीन सामन्ती परम्परा, अभ्यास र त्यसकै अवशेषसँग तुलना गरेर उहाँलाई महारानी बन्न खोजेकोजस्तो गरी निन्दा गर्न खोजे । एउटा त्रुटिलाई फ्याँकिसकेको वंशाणुगत शान र शैलीसँग तुलना गरेर उहाँको आलोचना गर्न खोजिनु गलत हो ।

राष्ट्रपतिको बस्ने आसन स्वाभाविक रूपमा राष्ट्रपति पदको गरिमा सुहाउँदो नै हुन्छ । उहाँले बसेर टीका लगाइदिनुभयो किनभने उहाँको स्वास्थ्यमा समस्या छ । उहाँले ठूलो रोगलाई जितेर पुनःजीवन नै प्राप्त गरेको स्थितिप्रति आमसचेत नागरिक बेखबर छैनन् । लामो समयसम्म उभिनेगरी उहाँको स्वास्थ्य अवस्थाले साथ दिँदैन । गोडा दुख्ने समस्यासमेत थपिएको छ । यस हिसाबले उहाँले उभिएर टीका लगाइदिन सम्भव थिएन । र, सोफामा बसेरै लगाइदिनुपरेको थियो ।

राष्ट्रपति कार्यालयका दैनन्दिन वा विशेष समारोहको प्रबन्ध, नियमित वा अन्य भेटघाट आदिका लागि त्यहाँ छुट्टै संरचना र जनशक्ति छ । नेपाल सरकारका सचिवले नै नेतृत्व गरेको निजामती प्रशासन छ । नेपाली सेनाको त्यहीखालको उच्चस्तरीय सुरक्षा घेरा छ । राष्ट्रपतिले आफूले असाध्यै विश्वास गरेर नियुक्त गर्नुभएका स्वकीय र सल्लाहकारहरूको सहयोगी पंक्ति छ । अर्थात्, धेरैथरि जिम्मेवार त्यहाँ हुनुहुन्छ । आजको खुला र स्वतन्त्र प्रेसको सशक्त उपस्थिति रहेको परिवेशमा राष्ट्रपतिले लगाइदिने टीकालाई कसैले व्यक्तिगत समारोह हो भनी बुझ्ने मनस्थिति र मनोदशा त्यागेर सार्वजनिक समारोहहरूलाई तदनुरुप व्यवस्थित गर्न सक्नुपर्दछ । यस्ता गल्ती दशैँ नभएर अरू कूटनीतिक प्रयोजनका कार्यक्रममा प्रकट हुने हो भने सिङ्गो देशलाई कति धेरै क्षति हुन जान्छ ?

बडादशैँको टीका समारोहसम्बन्धी राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमका यसपालि सार्वजनिक भएका आधा दर्जनजति तस्बिर राष्ट्रपति पदको गरिमा, मर्यादा र सम्मान सुहाउँदा भएनन् भन्ने टिप्पणी व्यापक छ । र, कतिपय तस्बिरमात्रै हेर्दा टिप्पणी जायज नै छ । तर, त्यहाँका सबै तस्बिर यस्तै एकैखालका र आलोचनायोग्य छैनन् । कोही घुँडा टेकेका छन्, कोही घुँडा टेक्न खोजेजस्ता छन्, कोही अर्ध घँुडा टेकेका छन् र कोही सम्मानपूर्वक कुर्सीमा आसिनसमेत छन् ।

सबै तस्बिरको होइन, केही तस्बिरको सार्वजनिक रूपमा आलोचना, टिप्पणी र कतिपय सन्दर्भमा भत्र्सना नै भएको छ । यसरी तस्बिरमुताविक भएका टीका–टिप्पणी जायज छन् । राष्ट्रपति कार्यालयले मिलाउने समारोह प्रबन्धमा कमी त्रुटि रह्यो भन्ने यस प्रकरणले स्पष्ट गरेको छ । यसर्थ, राष्ट्रपति कार्यालयका जिम्मेवारहरूले अत्यावश्यक र शोभनीय प्रबन्ध मिलाउन नसक्दा आलोचना हुनु अन्यथा पनि होइन ।

राष्ट्रका र सार्वजनिक निकायका जिम्मेवारहरूले आफ्नो कर्तव्य र दायित्व जिम्मेवारीपूर्वक पूरा गर्नुपर्छ । यदि सही ढङ्गले काम सम्पन्न गरिएको भए यस्ता विवाद आउँदैनथे । किनभने पहिलोचोटि नभएर राष्ट्रपति हुनुभएपछि २०७२, २०७३, २०७४ सालमा गरी तीनवटा दशैँ राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा शीतलनिवासमै सम्पन्न भइसकेका छन् । त्यतिबेला यस्ता कुनै विवाद देखानपरेको तथ्य त सबैमा अवगतै छ । यो २०७५ सालको टीका समारोह थियो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले घुँडा टेकेर टीका लगाउनुपर्ने परिस्थिति कसरी बन्यो ? राष्ट्रपतिले क्यामरासामु सार्वजनिक रूपमा के भन्ने ? यद्यपि, त्यस अवस्थामा संवेदनशीलता अपनाउनुपर्दथ्यो वा टीका लगाउन रोकेर आकस्मिक प्रबन्ध मिलाउन हेक्का पु¥याउन सक्नुपर्दथ्यो भन्ने आमजनअपेक्षासँग असहमत हुनुपर्ने कारण छैन । तर, यसमा राष्ट्रपतिको व्यक्तिगत तहमा विरोध र भत्र्सना गरिनु उचित छैन । यस्ता सार्वजनिक समारोह राष्ट्रप्रमुखको गरिमाअनुसार आयोजना हुनुपर्छ । राष्ट्रपति पदको गरिमामा आँच आउने वा नियतवश उहाँलाई विवादित बनाउने र अनावश्यक विरोध गर्ने स्थिति सिर्जना गरिनु आवश्यक छैन ।

अहिलेको बहस र छलफल उहाँ कम्युनिस्ट पार्टीको नेताका हैसियतमा राष्ट्रप्रमुख हुनुभएको नाताले सिर्जना भएको स्वतः स्पष्ट छ । र, यो छलफलमा हामी पनि सामेल छौँ । उहाँले सामन्ती संस्कार अपनाउनुभएको वा अपनाउन चाहनुभएको कदापि होइन । कुनै तस्बिरहरू सामन्ती संस्कारलाई अवलम्बन र प्रतिविम्बित गर्नेखालका छैनन् । घुँडा टेकेर टीका लगाउन आवश्यकै थिएन । जो राम्रो, शोभनीय र सभ्य भएन/देखिएन र आँखा बिझायो भन्ने विषयको उठान र बहस अत्यन्तै राम्रोसँग भएको छ ।

कम्युनिस्ट पार्टीको राष्ट्रपति भएको मुलुकमा टीका लगाउँदा घुँडा टेक्ने वा टेक्नुपर्ने स्थिति मानवीय र शोभनीय भएन भन्ने आलोचना हुनु नाजायज होइन । यस स्थितिप्रति राष्ट्रपति कार्यालयले दुःख प्रकट गरी भविष्यमा अवश्य सुधार गर्ने प्रतिबद्धतासहित दुई लाइनको प्रेस नोट जारी गरेको भए कुरा प्रस्ट भइहाल्थ्यो । यसबाट राष्ट्रपति कार्यालयको जवाफदेहिता पनि समयमै स्पष्ट हुन्थ्यो । गोरखापत्रबाट ।

प्रतिक्रिया दिनुहोस्