Wednesday 19th of February 2020

इसिडीका लागि स्रोत पुस्तिका

काठमाडौं । प्रारम्भिक बालविकास समाज नेपालले स्थानीय तह प्रारम्भिक बालविकास (इसिडी) का लागि स्रोत पुस्तिका निर्माण गरेको छ ।

समाजले नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले प्रारम्भिक बालविकास सञ्चालनको जिम्मेवारी स्थानीय सकारलाई दिएसँगै स्थानीय तहलाई सहयोग पु¥याउने उद्देश्यले सो पुस्तिका तयार पारिएको हो ।

समाजका अध्यक्ष प्राडा. किशोर श्रेष्ठ र डा. मीनाक्षी दाहालले संयुक्त रूपमा पुस्तक तयार पारेका हुन् । प्राडा. दाहालले इसिडीका लागि स्रोत पुस्तिका निकै उपयोगी हुने बताउँदै सो पुस्तकले बालविकासको विषयमा अन्योल चिर्ने विश्वास व्यक्त गरेकी छन् ।

‘स्थानीय तहका पदाधिकारी, कर्मचारी, तथा सम्बन्धित सरकोकारवालाहरूलाई प्रारम्भिक बालविकासको विषयमा स्पष्ट गर्न सहयोग पु¥याउनेछ । त्यति मात्रै नभई सो सम्बन्धी धारणा विकास गर्न र स्थानीय तहका योजनामा प्राथमिकताका साथ समावेश गर्न पुस्तिकाले सहयोग गर्नेछ’ लेखिका एवं बाल मनोविद् डा. दाहालले भनिन् ।

उक्त पुस्तकलाई प्रारम्भिक बालविकासका सन्दर्भमा स्थानीय तहले गर्नुपर्ने नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका विषयमा केन्द्रित गरिएको छ ।

प्रारम्भिक बालविकासका सवाल र नीतिगत व्यवस्थालाई सबै स्थानीय सरकारमा समान रूपमा व्यवस्था गर्न र स्थानीय तहका सबै पदाधिकारीहरूमा प्रारम्भिक बालविकास सम्बन्धमा पूर्ण जानकारी प्रदान गर्न पुस्तिका सहयोगी हुने अपेक्षा गरिएको छ ।

पुस्तिकाबाट सबै स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरूलाई प्रारम्भिक बालविकास सम्बन्धी नीति, योजना निर्माण र कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको लेखक दाहालले बताइन् ।

प्रारम्भिक बालविकाससम्बन्धी नीति, नियम, योजना र कार्यक्रमहरू के–के छन् ? थप के–के, किन र कसरी निर्माण गर्नुपर्दछ ? तथा स्थानीय तहको भूमिका के हुनु पर्दछ ? भन्ने सन्दर्भमा छलफलको आवश्यकता महसुस गरेर पुस्तिका प्रकाशन गरिएको उनले बताइन् ।

सात परिच्छेदमा समेटिएको उक्त पुस्तिकाको पहिलो परिच्छेदमा परिचय दोस्रोमा प्रारम्भिक बालविकासको सैद्धान्तिक आधार र तेश्रोमा नेपालमा हाल उपलब्ध प्रारम्भिक बालविकाससम्बन्धी नीति तथा योजनाहरू समावेश गरिएको छ ।

यसैगरी, परिच्छेद चारमा प्रारम्भिक बालविकास कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका, पाँचौँमा स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यक्रमको कार्यान्वयन, छैठौँमा प्रारम्भिक बालविकास केन्द्र र पूर्व–प्राथमिक कक्षाको न्यूनतम् मापदण्ड र प्रारम्भिक बाल उमेर समूहमा दिइनुपर्ने खोपहरू समावेश भएका अनुसूची छन् भने सातौँमा सन्दर्भ सामग्रीहरूको सूची समावेश गरिएको छ ।

प्रारम्भिक बालविकास भन्नाले गर्भावस्थादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूको सर्वाङ्गीण अर्थात् शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक र वौद्धिक विकास प्रक्रियालाई बुझाउँछ । हरेक बालबालिकाको जीवनको पहिलो ८ वर्ष महत्वपूर्ण हुने र यो जीवनपर्यन्त रहने विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्