Wednesday 19th of December 2018

नेपाली उद्यमीहरुलाई म्यान्मा लगानी गर्न सुकीको आग्रह(फोटो फिचर)

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा चौंथो ‘नेपाल चेम्बर एक्स्पो २०१८’ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल एवम् म्यान्माकी स्टेट काउन्सिलर आङ सान सु कीले बिहीवार एक्स्पोको संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन समारोहमा काउन्सिलर सु कीले दुबै मुलुकमा मानव संशाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने भन्दै नेपाल र म्यान्मा बीच व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् । नेपाली उद्यमीलाई म्यान्मामा लगानी गर्न आग्रह गर्दै उनले कृषि, जलविद्युत, प्रविधिलगायतका क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गरिन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक स्थायित्वलाई आर्थिक विकासमा उपयोग गर्नुपर्ने बताए । उनले भने, ‘विगतमा अस्थिर राजनीतिक अवस्थाका कारण आर्थिक विकास हुन सकेन । अब, यो स्थिर सरकार र राजनीतिक गतिविधिलाई आर्थिक विकाससँग जोड्न आवश्यक छ ।’ साथै, पर्यटन, जलविद्युतजस्ता क्षेत्रबाट देशको अर्थतन्त्रलाई माथि उकास्न सकिने भनाई उनले राखेका थिए  ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षणमा केन्द्रित रहेर एक्स्पो सञ्चालन गरिएको बताए । एक्स्पोको अवसरमा म्यान्मा, चीनलगायत देशसँग बिजनेश टु बिजनेश (बीटूबी) सम्झौता पनि अगाडि बढाउने उनको भनाइ छ ।

यसैगरि चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अतिथिहरुको स्वागत गर्दै एक्सपोले औद्योगिक क्षेत्रको विकासका लागि टेवा पुर्‍ याउने र सरकारले यस्ता एक्स्पोहरु गराउनका लागि उद्यमिहरुलाई प्रेरित गर्नु पर्ने बताए । एक्स्पोमा चीन, म्यान्मालगायत विभिन्न देशका सरकारी निकाय तथा व्यापारिक समूहको सहभागिता रहेको थियो ।

१७ गतेसम्म सञ्चालन हुने एक्स्पोमा नेपालसहित म्यान्मा, चीन, पाकिस्तान, कोरियालगायतका मुलुकमा उत्पादिन वस्तुको प्रर्दशनी गरिएको छ । अटोमोबाइल, इलेक्ट्रिक, फ्लोरिङ एण्ड फर्निसिङ, मोबाइललगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका सामग्री एक्स्पोमा राखिएको छ । एक्स्पोले स्वदेशी उत्पादनको बजारीकरणमा विशेष जोड दिने आयोजकको भनाइ छ । साथै, एक्स्पोमा व्यापारिक अन्तरक्रिया र आयात निर्यातको सूचना आदानप्रदानसमेत गरिने आयोजकले बताए।

चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्य एक्स्पोको आयोजना गरेको हो । एक्स्पोको गोल्ड स्पोन्सर ‘नेस्ले’ र सिल्भर स्पोन्सर ‘हेरिटेज कार्पेट’ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्