Tuesday 17th of September 2019

किन भइरहेको छ नेविसंघमा लफडा ?

काठमाडौं । कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा भविष्य देखेर लागेका नेताहरु फेरि निराश बन्न थालेका छन् । नेविसंघले कात्तिक १६ देखि १८ गतेसम्म गर्ने भनेको महाधिवेशन अन्योलको भूमरिमा फसेपछि नेविसंघका जुझारु नेताहरु दिक्क बनेका हुन् ।

नेविसंघले संगठनको विधान र नियमावली अनुमोदन गरेपछि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । असोज ७ गतेभित्र देशभरका माध्यमिक विद्यालय र क्याम्पसमा अधिवेशन सकिसक्ने र असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन गर्ने उसको भनाइ थियो ।

असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन सकाएर कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका उसले सार्वजनिक गरेको थियो । तर, यो कार्यतालिकाले हावा खाएको छ । बरु ०७३ साउनमा २ वर्षका लागि चुनिएको नेतृत्वको म्याद सकिएपछि संगठनको वैधानिकता के हुन्छ भन्ने गम्भीर प्रश्न यतिबेला नेविसंघमा खडा भएको छ ।

नेविसंघमा लफडा ?

नेविसंघमा देखिएको पछिल्लो अन्योलताको चुरो कारण उमेर हद हो । नेविसंघ नेताको उमेर हद राख्ने या नराख्ने भन्ने विषयमा नेविसंघभित्र चर्को मतभेद छ । केही नेता उमेर हदको पक्षमा भए पनि अधिकांश विद्यार्थी नेता राख्न नहुने अडानमा छन् ।

नेविसंघको गत भदौमा बसेको बैठकले ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले यसबारे ठोस निर्णय गर्न सकेको छैन । यो प्रस्तावमा स्वयं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले नै नोट अफ डिसेन्ट लेखिदिएका छन् । जसले नेविसंघको विवादको आगोमा थप घिऊ थप्ने काम गरेको छ ।

स्रोतका अनुसार, नेविसंघको वर्तमान नेतृत्व खासगरी वर्तमान अध्यक्ष नैनसिंह महर आफ्नो कार्यकाल अहिले नै समाप्त पार्ने पक्षमा छैनन् । त्यसैले नेविसंघमा देखिएको उमेर हदलाई उचालेर उनले आफ्नो आयु लम्ब्याउन खोजेको नेविसंघकै नेता कार्यकर्ताको महरमाथि आरोप छ । तर महर भने पार्टीलाई बुझाएको विधान र नियमावली पार्टीले फाइनल नगर्दा चाहँदा चाहँदै पनि आफूले महाधिवेशन गर्न नसकेको तर्क अघि सारिरहेका छन् ।

पार्टीले विधान र नियमावलीलाई अन्तिम रूप दिएर पठाए आफूले महाधिवेशन गर्ने उनको भनाइ छ । तर, पार्टीले विधान कहिले पारित गर्ने र महाधिवेशन हुनेमा नेविसंघकै नेता–कार्यकर्ताले पत्याउने अवस्था भने छैन ।
साँघु

प्रतिक्रिया दिनुहोस्