Tuesday 31st of March 2020

दैनिक ६ बलात्कार

काठमाडौं । पछिल्लो तीन महिनामा दैनिक ६ बलात्कारका घटना हुने गरेको छ । चालु आर्थिक वर्षका अघिल्ला तीन महिनामा बलात्कारका घटना अघिल्लो वर्षभन्दा दोब्बर घटेका हुन् ।

नेपाल प्रहरीका अनुसार गएको साउनदेखि असोज मसान्तसम्म देशभरी ६०१ वटा बलात्कारका उजुरी दर्ता भएका छन् । ९३ दिनमै यस्तो कहालीलाग्दो तथ्यांक सार्वजनिक भएको हो । यी प्रहरीमा दर्ता भएका आधिकारिक घटना भए पनि बाहिर अझै धेरै घटना भएको हुन सक्ने आशंका सम्बन्धित क्षेत्रमा काम गरिरहेका संघसंस्था बताउँछन् । बलात्कारका घटनामा केही बालकसमेत रहेका छन् । बलात्कारका घटनाबाहेक बलात्कारको प्रयासका रूपमा २५२ वटा उजुरी परेका छन् ।

साउन र भदौमा मात्रै ६ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । विगतमा पनि यस्ता घटना हुने गरे पनि प्रहरीसम्म उजुरी गर्न आउनेको संख्या निकै न्यून हुने गरेको बताइन्छ ।

स्वयं प्रहरी पनि महिला र समाजमा देखिएको जागरूकताका कारण उजुरी गर्नेको संख्या बढेका कारण घटना वृद्धि भएको प्रहरी प्रवक्ता सुवेदीले बताए । ‘विगतमा महिला हिंसाका घटनालाई गाउँघरमा ढाकछोप गर्ने चलन थियो तर, नेपाल प्रहरीले गरेको प्रयासको जागरूकताका कारण यस्तो उजुरी बढेको हो’, उनले भने ।

अपराधमा बालबालिका र युवा बढी

प्रहरीका अनुसार आर्थिक वर्ष ०७४-७५ मा प्रहरीमा १ हजार ४८९ बलात्कारका उजुरी दर्ता भएका छन् । सोही वर्ष ७२७ वटा बलात्कारको प्रयासका घटना भएका थिए । जसमध्ये १४ जनाको बलात्कारपछि हत्या भएका थिए ।

प्रहरीमा आएका उजुरीका घटना हेर्दा बलात्कारबाट पीडित हुनेमा १८ वर्षभन्दा कम उमेरका धेरै छन् । गतवर्षको तथ्यांकका आधारमा अपराधमा संलग्न हुनेमा सबैभन्दा बढी ३८ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका देखिएका थिए भने पीडितमा पनि २५ वर्षभन्दा कमका धेरै थिए ।

अपराध रोक्न युवा नै परिचालन

आपराधिक क्रियाकलपाका घटनामा कमी नआएपछि प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ नामक अभियान सुरु गरेको छ । दैनिक आपराधिक घटना नरोकिएपछि प्रहरीले मात्र नसक्ने भन्दै समुदायलाई नै परिचालन गर्ने अभियान चलाइएको हो ।

अभियान लागू भइसकेकाले बलात्कार मात्र नभई सबैखाले अपराधमा कमी आउने दाबी प्रहरीले गरेको छ । अभियान ७७ वटै जिल्लाका सबै स्थानीय तहमा र त्यहाँका विद्यालयहरूमा सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्