Tuesday 25th of February 2020

साततले गुफाको प्रचारप्रसारमा पत्रकार

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा रहेको चाँदनी साततले गुफा धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्व बोकेको भए पनि यसको प्रचारप्रसार तथा बिकासमा खासै पहल कदमी नभएकाले यसको विकास र प्रचारप्रसारका लागि सल्यानका पत्रकारहरू अग्रसर भएका छन् ।

नेपाल पत्रकार महासंघ सल्यानको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले यस क्षेत्रको प्रचारप्रसार गरी गुफाको संरक्षण र संवद्र्धनमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गुफाको आसपासको क्षेत्र निकै मनमोहक र आनन्ददायक रहेको छ ।

ढकढके क्षेत्रमा रहेको चाँदनी साततले गुफा, सिद्धबाबा मन्दिर, ढुंगाको मादल, ढुंगेपानी, ढकढके ढुंगा यस क्षेत्रका मुख्य आकर्षकका केन्द्र रहेका छन् । तर, प्रचारप्रसार र संरक्षणको अभावमा यहाँ पर्यटकहरू कमै मात्रामा पुग्ने गरेको स्थानीय बताउँछन् ।

यहाँ रहेको गुफाको संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी बताउँछन् । चाँदनी गुफा देशकै ठूलो गुफा भएको स्थानीयको दाबी भए पनि यस गुफाको बारेमा अध्ययन अनुसन्धान अझै हुन नसकेको उनी बताउँछन् । करिब एक शताब्दी पहिले स्थानीयले गाईबाख्रा चराउन जंगल गएको वेला उक्तगुफा देखेको स्थानीयको भनाइ छ ।

१९६२ सालमा कुलबहादुर पुनले गाई चराउन गएको वेला उक्त गुफा देखेका थिए । उनले देखेपछि गाउँमा आएर हल्ला गरेपछि चाँदनी साततले गुफा पत्ता लागएको गुफा सल्लाहकार समितिका संयोजक गोविन्द केसीले बताए ।

‘गुफा पत्ता लागे पनि यहाँ पूजापाठ गर्ने लगायतका कामहरू भएनन् । ०२९ सालमा निकै भोकमरी परेपछि ०३० सालमा शिद्धबाबाको नाममा एउटा रुखमुनि पूजा गरिएको थियो भन्ने हामीले पुराना बुढापाकाबाट सुनेका हौँ’, मन्दिरका पुजारी तथा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष ध्वजबहादुर पुनले बताए ।

त्यसपश्चात यस स्थानमा पुजा गर्नुपर्छ भनेर स्थानीयले ०४२ सालमा खरको छानो भएको मन्दिर स्थापना गरी पूजापाठ सूरु गर्न थालेपछि मन्दिर निर्माण गरिएको उनले बताए । यस्तै गुफा सात तलाको भए पनि अहिलेसम्म तीन तलासम्म मात्रै पुग्ने गरेको उनले बताए ।

गुफाभित्र भगवान् तथा जनावरका आकृतिहरू रहेका छन् । यस गुफाभित्र ढुंगाको मादल रहेको छ । गुफामा चाँदीजस्तै टल्कने टल्काएमान बस्तु भए पनि त्यसको अझैसम्म अनुसन्धान हुन नसकेको गुफा व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर पुनले जानकारी दिए ।

करिब ३० मिटर चौडाइ, १५ मिटर उचाइ र लम्बाइ तीन सय मिटर बढी रहेको यस गुफामा मंगलबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको बैठकले गुफाको प्रचारप्रसार र बिकासका लागि स्थानीयतह, प्रदेश तथा केन्द्र सरकारलाई ध्यानाकर्षण गराउने महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले महासंघको वार्षिक साधारणसभा आगामी ८ मसिरमा जिल्लाको कपुरकोटमा गर्ने निर्णय गरेको छ । स्थानीय तहसग समन्वय गरेर कपुरकोटमा महासंघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । यस्तै ०५२ साल ४ मसिरमा पत्रकार महासंघ जिल्ला शाखा सल्यान गठन भएकोले सोही दिन ४ मसिरमा स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

जसअनुसार ३ मंसिरमा बिहान जिल्ला अस्पताल सल्यान परिसरमा सरसफाइ, ४ गते महासंघ जिल्ला शाखा स्थापनाका तदर्थ समितिका पदाधिकारी र पूर्व अध्यक्षहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको महासंघका अध्यक्ष प्रतिक इच्छुक शर्माले बताए ।

बैठकमा पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, सल्लाहकार शनतकुमार शर्मा लगायतकाले बोल्दै जिल्लाका पर्यटकीय क्षेत्रसम्म पुगेर महासंघको बैठक बसी ती क्षेत्रको प्रचारप्रसारमा जिल्ला शाखाले प्रशंसनीय काम गरेको बताए । बैठकको सहजीकरण सचिव शंकर केसीले गरेका थिए ।

चाँदनी साततले गुफामा बैठक बस्न पुगेको पत्रकारहरूको टोलीलाई छत्रेश्वरी–५ का वडाध्यक्ष लीलाधर घर्ती, छत्रेश्वरी गाउकार्यपालिका सदस्य नन्दा सार्की, गुफा व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर पुन, सल्लाहकार समितिका संयोजक गोबिन्द केसीलगायत स्थानीयले फूलमालाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्