Wednesday 19th of December 2018

चन्दा संकलनबाट खेलमैदान निर्माण

इलाम । फाकफोकथुम–४ लिम्बूगाउँका बासिन्दा खेलमैदान निर्माणमा जुटेका छन् । खेलमैदान निर्माणका लागि कतै सरकारी निकायबाट सहयोग नपाएपछि उनीहरू घरलौरी चन्दा संकलन गरेर खेलमैदान निर्माणमा जुटेका हुन् ।

खेलमैदानको अभाव परपूर्ति गर्न स्थानीय फुङवा युवा समूहको नेतृत्वमा ५० घरबाट सहयोग संकलन गरिएको छ । उनीहरूबाट गच्छेअनुसार १ हजारदेखि २० हजार रूपैयाँसम्म रकम संकलन गरिएको समूहका सचिव दीपक योङहाङले बताए । त्यति मात्र होइन, खेलमैदान निर्माण सहयोगार्थ सिंगो लिम्बू गाउँवासी देउसीभैलोमासमेत जुटेका थिए । देउसीभैलोबाट ४७ हजार रुपैयाँ सकलन भएको थियो ।

सो रकमबाट अहले लिम्बूगाउँमा ६ रोपनी जग्गा खरिद गरी चासोक तङनाम खेलमैदान निर्माण सुरु गरिएको छ । ६ लाख ७२ हजार रुपैयाँमा जग्गा खरिद गरी चार लाख रूपैयाँको अनुमानित लागतमा खेलमैदान निर्माण सुरु गरिएको सचिव योङहाङले जानकारी दिए ।

‘खेलमैदान निर्माणका लागि हामीले सम्बन्धित निकायमा धेरैपटक माग राख्यौँ’, सचिव योङहाङले भने, ‘कहीँ कतै सरकारी स्तरबाट सहयोग प्राप्त नभएपछि आपैmँले रकम संकलन गरेर खेलमैदान निर्माणमा जुटेका हौँ ।’ खेलमैदान निर्माणका लागि स्थानीय समाजसेवीहरुबाट भने स्वेच्छिक सहयोग प्राप्त भइरहेको उनले बताए ।

त्यस स्थानमा विगत ११ वर्षदेखि किरातीहरूको महान चाड चासोक तङनामको अवसरमा २५ देखि २७ मंसिरसम्म चासोक तङनाम मेला लाग्दै आएको छ । मेलामा आयोजना हुने खेलकुदका कार्यक्रमका लागि मैदानको अभाव रहेकाले आफूहरू त्यसको परिपूर्तिमा लागेको योङहाङ बताउँछन् । चासोक मेलालाई लक्षित गरी सोही स्थानमा नै खेलमैदान निर्माण हुने भएको खेलमैदानको नाम पनि चासोक तङनाम खेलमैदान राखिएको उनको भनाइ छ ।