Wednesday 19th of December 2018

नेकपाका नेता तथा संघिय संसदका सांसद गौतमको जिल्लाको विकासमा सक्रियता बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र गौतमको नेतृत्वमा खाँदबारीदेखि किमाथाङ्कासम्म गएको २७ सदस्यीय भ्रमण टोलीले उत्तर–दक्षिण कोशी सडक आयोजनाको माथिल्लो (तल्लो) एलाइन्मेन्टको स्थलगत निरीक्षण गरी  चाइनीज पक्षासँग पनि बैठक तथा छलफल समेत गरेकाे थिए ।

मंसीर ४ बाट सुरु गरी मंसीर १२ गतेसम्म भ्रमण गरेको टोलीले उक्त सडकलाई यथाशिघ्र तल्लो एलाइन्मेन्टबाट किमाथाङ्कासम्म जोड्न निर्देशन दिएको मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

किमाथाङ्कामा नाका खोल्दा आवश्यकीय सरकारी कार्यालय भन्सार, अध्यागमन, सीमा सुरक्षा चौकी, सीमा सुरक्षा बल, क्वारेन्टाइनल, पशु र प्लान्ट, चेक पोस्टको स्थापनाका लागि खरुण नदीमा तत्काल तटबन्ध निर्माण गरिनुपर्ने आवश्यक रहेको छ र यसबारेमा नापी कार्यालयको तर्फबाट जग्गा नापजाँच समेत गरिएको हुनाले नेपाल सरकारलाई यसबारे यथार्थ प्रतिवेदन पेस गरिने भ्रमण टोलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘ संघीय र प्रदेश सरकारको स्वीकृतिमा दुबै देशका प्रशासन कार्यालय र देङ्जीका प्रतिनिधिहरूकाबीचमा दुई देशको सीमा सुरक्षा अवस्था, व्यवसायिक गतिविधिमा तीव्रता आवागमनका विषयलाई समेट्दै पाँच बूँदे सहमति गरी आआफ्नो माथिल्लो आधिकारीक निकायसँग अनुमतिका निम्ति प्रतिविेदन पेस गरिएको छ । सोही अवसरमा चिनियाँ पक्षबाट भ्रमण दलमा सामेल भएका माननीय ज्यूहरूसँग शिष्टाचार भेटघाट गरी आपसी हितका विषयमा संक्षिप्त कुराकानी भएको छ ।’

किमाथाङ्कामा रहँदा वडाकार्यालयको उद्घाटन, विद्यालय, स्वास्थ्य चौकी एवम् सरकारी कार्यालयहरूको अनुगमन तथा निरिक्षण समेत भ्रमण टोलीले गरेको छ । त्यस्तै निर्माणाधिन अरुण तेस्रो आयोजना प्रगतीको बारेमा साइट इन्जिनीयरहरूसँग जानकारी पनि टोलीले लिएको छ ।

भ्रमण टोलीले भोटखोेला गाउँपालिकाको केन्द्र हटिया र गोला वजारमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट घुम्ती शिविर आयोजना गरेर नागरिकता वितरण कार्यक्रम सम्पन्न भएको छ । यस्ता कार्यहरू दुर्गम क्षेत्रमा अझ व्यापक बनाउनु पर्ने आवश्यकता रहेको माननीय राजेन्द्र गौतमको भनाई छ ।

भ्रमणकै शिलशिलामा फ्याक्सिन्दादोभान, हेदानागढी, गोलाबजार, सिम्बुङ, हुङगुङ, छेसुम्वाडाँडा, किमाथाङ्का, अरुण तटबन्ध, कामुखोलाको मितेरीपुल, चाङा बजार, छुमसुर, चेपुवा, च्याम्ताङ, लिङगाम, नामासे, तुङखालिङ लगायतका वस्तीहरूमा सांसदहरूले भेटघाट गर्नुका साथै विकास आयोजनाको निरीक्षण पनि गरेका थिए ।

सुमन श्रेष्ठबाट