Wednesday 19th of December 2018

मृतकका अवशेष अन्तरिक्षमा पठाइने !

वासिंगटन । ३६ वर्षीय जेम्स एबर्लिङले २०१६ नोभेम्बरमा मृत्यु हुनुअघि आमाबाबुलाई आफ्नो अन्तिम इच्छा सुनाउँदै दाहसंस्कारपछि आफ्नो अवशेष अन्तरिक्षमा पठाउन अनुरोध गरेका थिए । अहिले उनीसँगै थप १ सय मृतकहरूका अवशेष पनि स्मारक स्याटलाइटमा राखेर लन्च गरिने भएको सिएनएनले जनाएको छ । स्यानफ्रयान्सिस्को स्थित एलिसियम स्पेसका अनुसार परिवारहरूले यसका लागि प्रतिव्यक्ति २५ सय डलर तिरेका हुन् ।

यसरी वरिष्ठ सैन्य अधिकारीलगायत अन्तरिक्ष र एरोस्पेसमा रुची राख्ने व्यक्तिहरूको अवशेष स्पेसएक्सको फेल्कन रकेटमार्फत पृथ्वी बाहिर पठाउन लागिएको हो । सबै खरानीलाई नामसहितको ४ इन्चका स्याटलाइटमा राखि लन्च गरिने बताइएको छ । परिवारहरूले सो स्याटलाइटलाई अन्तरिक्षसम्म उडान भर्दै गर्दा वास्तविक समयमै ट्रयाक गर्न सक्नेछन् । यसरी यो स्याटलाइट पृथ्वीमा खस्नुअघि चार वर्षसम्म अन्तरिक्षमा घुमिरहने छ जसबारे परिवारहरूले एउटा एपमार्फत जानकारी पाइरहनेछन् ।

स्पेसफ्लाइटले आयोजना गरेको ‘राइडशेयर मिसन’ अन्तर्गत कम्पनीले स्कुलदेखि व्यवसायिक, सरकारी वा अन्तर्राष्ट्रिय संघसंस्थाका ग्राहक समेतलाई सेवा प्रदान गर्न सो रकेट खरिद गरेको थियो । जसमा ३४ भिन्दाभिन्दै संस्थाहरूले ६४ वटा साना स्याटलाइट बाहिर पठाउने बताइएको छ । सोमबारको कार्यक्रम भने दुई वर्ष अगाडि नै तय गरिए पनि अहिले मात्र यसको तयारी पूरा भइ लन्च गरिने भएको हो ।

यसरी मानिसको अवशेष पृथ्वी बाहिर पु¥याइएको यो पहिलोपटक भने होइन । १९९८ मा पनि नासाले अन्तरिक्षयात्री युजिन सुमेकरको अवशेष चन्द्रमासम्म पु¥याएको थियो र अझै पनि उनको अवशेष चन्द्रमाको सतहमै रहेको बताइन्छ । यसका साथै स्टार ट्रेकका अभिनेता जेम्स दुहानको अवशेष पनि एलिसियम कम्पनीको यस्तै मिसनमार्फत अन्य ३ सय २० अवशेषसँगै अन्तरिक्षसम्म पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्