Tuesday 25th of February 2020

प्रहरीले कपडा र जुत्ता लाउनै नपाउने

काठमाडौं । नेपाल प्रहरीमा आर्थिक बर्षको ६ महिनासम्म पनि कुनै पनि सामान खरिदको टेण्डर खुलेको छैन । प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरूले प्रहरीको सामानको स्पेसिफिकेसन परिवर्तन गराउन गृहमन्त्रीका आसेपासेहरूबाट दबाब दिएका कारण पनि टेण्डर खुल्न बिलम्ब भइरहेको स्रोत बताउछ । ठेकेदारहरूले प्रबन्धका हाकिमहरूलाई समेत प्रभावमा पारी स्पेक परिवर्तनको चलखेल गर्दैआएको चर्चा छ ।

हरेक बर्ष सामानको स्पेक परिवर्तन गर्दा राज्यलाई ठूलो आर्थिक ब्ययभार पर्न जान्छ । सबैभन्दा ठूलो रकमको खरिद हुने चुस्ता, डीएमएस बुट, ऊलन सर्ट, ऊलन पाइन्ट, कटन सर्ट, कटन पाइन्ट, स्वीटर र अन्डरभेष्ट ट्राउजर हुन् । यी सामानमा ठूलो आर्थिक चलखेलका आधारमा स्पेक परिवर्तनको चलखेल भइरहेको छ । पहिलो पटक कुवेर राना आइजीपी हुँदा चुस्ताको स्पेक परिवर्तन गरेका थिए ।

त्यसपछि त्यो चुस्ता काम नलाग्ने भयो भनेर प्रकाश अर्याल आइजीपी हुँदा पुनः चुस्ताको स्पेक परिवर्तन भयो । फेरि एक बर्षमै किन स्पेक परिवर्तन गर्नुप¥यो ? यसको पछाडि ठेकेदारहरूको आर्थिक चलखेलले काम गरेको प्रहरी स्रोत बताउछ । प्रहरी नेतृत्वलाई पनि ठेकेदारहरूले गृहमन्त्रीका छोरा प्रतीक थापामार्फत् ब्यापक दबाब परिरहेको चर्चा पनि छ ।

त्यही दबाबका कारण पनि मंसिरको अन्तिमसम्म पनि प्रहरीले टेण्डर निकाल्न नसकेको बताइन्छ । अहिले नै टेण्डर निकालेर ठेकेदारलाई आसयपत्र दिंदा २ महिना बित्छ । २ महिना ठेक्का प्रक्रिया सक्दा ८ महिना लाग्छ । असार १० देखि १५ सम्म सामान बुझाइसक्नुपर्ने प्रहरीको नीति रहेको छ ।

३ महिनामा कसरी ठेकेदारले सामान तयार गरी बुझाउन सक्छ ? टेण्डर नगरेर यस्तै अन्योलको अवस्था रहे प्रहरीले कपडा लाउनै नपाउने भएका छन् । ब्यवहारिक पक्षलाई मनन गरेर फटाफट काम गर्ने दिन नेपालमा कहिले आउला ? यो प्रश्न कहिलेसम्म जीवित रहला ? अनि जवाफ दिन को अघि सर्ला ? (साँघु)

प्रतिक्रिया दिनुहोस्