Sunday 18th of August 2019

राजपा फुट्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको संयोजकबाट पदमुक्त गरिएका महन्थ ठाकुर २०७५ मंसिर १६ मा उपचारका लागि भारततिर लागेका छन् । ठाकुर अहिले नयाँ दिल्लीमा स्वास्थ्य उपचार र राजनीतिक भेटघाटमा रहेका छन्। नयाँ दिल्लीमा उपचारका लागि जाने भनिए पनि उनको राजनीतिक भेटघाट पनि रहेको बताइएको छ ।

ठाकुरले अध्यक्षमण्डलबाट महाधिवेशनसम्म हट्न चाहेका थिएनन् । २०७६ वैशाखको महाधिवेशनसम्म ठाकुर नै अध्यक्ष रहने र छडपछि सरकारविरुद्ध गरिने भनिएको आन्दोलन पनि तत्काल नगर्ने महाधिवेशनसम्म सरकारले संबिधान सशोधन गर्छ कि गर्दैन, त्यो हेर्ने सरकारले राजपाको मागका बारेमा कुनै सुनवाई नगरेमा महाधिवेशनपछि आन्दोलन चर्काउने भन्ने मत ठाकुरको रहेको स्रोत बताउछ। यसैमा मत बाझेपछि अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा बाहेक चार जनाले उनलाई पद छोड्न दबाब दिएपछि उनले छाडेका थिए । र, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो संयोजक चयन भएका थिए ।

ठाकुरलाई महाधिवेशनसम्म संयोजकबाट नहटाउन भारतीय राजदूताबासले चर्को दबाब दिएको चर्चा पनि छ । तर अध्यक्षमण्डलका सदस्यहरु महेन्द्र यादव, शरद्सिंह भण्डारी, राजकिशोर यादव र राजेन्द्र महतोले राजदूताबासको दबाबलाई अस्वीकार गर्दै उनलाई संयोजकबाट हटाएरै छाडे । दूताबासले दिएको दबाब महतोले यो समेत दुईपटक अस्वीकार गरेको स्रोत बताउछ ।

२०७४ मंसिर २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा धनुषा ३ नम्बर क्षेत्रमा विमलेन्द्र निधिलाई छाड्न दबाब दिइएको चर्चा पनि चलेको थियो । त्यसलाई समेत उनले मानेनन् । र, निधिलाई पराजीत गरी चुनाव जितेर देखाइदिए । दोस्रो पटक अहिले ठाकुरलाई पार्टीको संयोजकबाट नहटाउन दिएको दबाब समेत उनले ठाडै अस्वीकार गरिदिएको चर्चा राजपामा हुने गरेको छ ।

यसअघि कहिल्यै कुरा नमिल्ने शत्रुतापूर्ण सम्बन्ध रहेका महेन्द्र यादवसमेत महतोलाई संयोजक बनाउन सहमत भए । २०७० को संविधानसमा निर्वाचनमा सर्लाही ४ बाट तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष रहेका यादवले महतोलाई हराएका थिए ।
यसैबीच, पार्टीको संयोजकबाट ठाकुरलाई हटाएपछि पुरानो तमलोपा समर्थक नेताहरु आक्रोसित भएका छन् । साविक तमलोपाका नेताहरु बृशेषचन्द्र लाल र डा. सुरेन्द्र झाहरु ठाकुरलाई हटाएपछि राजपा फुटाउने खेलमा लागेको स्रोत बताउछ ।

राजपाका उपाध्यक्ष रहेका लाल र सहमहामन्त्री झासहितका नेताहरुले ठाकुरलाई हटाएपछि साविक तमलोपाको कार्यालय बिजुलीबजारमा रंगरोगन गराउनेदेखि झण्डा समेत राखिसकेका छन् । ठाकुरलाई हटाएपछि लाललगायतका नेताहरु राजपा कार्यालयमा जानै छाडेका छन् । र, तमलोपा पुरानो कार्यालयमा भेला हुने गरेका छन् । नयाँ दिल्लीको निर्देशन नमानेपछि राजपा नै फुटाउने चाल चल्न खोजिएको अर्थमा पनि लालहरुको सक्रियतालाई लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्