Wednesday 19th of December 2018

साम्राज्य विस्तारको छलछामपूर्ण शैली

– राजेन्द्र स्थापित

इन्का दक्षिण अमेरिकी आदिवासी (रेड इण्डियन) को एक उपजाति । सन् ११०० सम्म यिनीहरु आफ्नो पूर्वजकै जस्तो जीवन व्यतित गर्थे । यसबीच यिनीहरुमध्येका केही कुसको घाँटी पुगे । त्यहाँका बासिन्दालाई परास्त गरी ‘कुज्को’ नगर बसाले । पशुपालन गरे । कृषिको व्यवसाय थाले । पछि टीटीकाका झरनाको दक्षिण पश्चिमसम्म राज्यविस्तार गरे र सन् १५२८ सम्ममा पेरु, चिली, इक्वेडर र अर्जेन्टिनाको पश्चिम भागसम्म फैलाए । इन्का साम्राज्य तथा इन्का सभ्यताको नाउँबाट इतिहासमा दर्ज यिनीहरुको राज्य ‘राजकीय समाजवाद’ उन्मुख थियो भने सरकारी कर्मचारीको चरित्र उज्वल । खानीबाट सुन निकाल्थे तर यसको प्रयोजन मन्दिर आदि सजाउनमा गरिन्थ्यो । यिनीहरु सूर्यका उपासक थिए ।
इन्का साम्राज्यमा सुन–चाँदीका ठुल्ठूला खानी भएको जानकारी युरोपेलीहरुले पाइसकेका थिए । खासगरी पोर्चुगल र स्पेनका नाबिकहरु त्यस क्षेत्रबाट लोभिइसकेका थिए । यसरी लोभिनेमध्येका थिए, फ्रान्सिस्को पिजारो । स्पेनिस सैन्य कर्णेलका पुत्र । पहिलो पटक ३८ वर्षको उमेरमा नयाँ विश्व खोज्ने भन्दै स्पेनबाट हिँडे । अल्फोंसो डे ओजेडा नामक मित्रसँग हिँडेका उनीहरु महिनांै दिनको सामुद्रिक यात्रापछि कोलम्बियाको उत्तरी तट गल्फ अफ उराबायुमा पुगे । त्यहाँबाट पेरु र मेक्सिको गए । र, सन् १५२४ मा इन्का राज्यमा पुगे । दुईपटक ती राज्यमाथि विजय पाउने कोसिस गरे । सन् १५२८ मा पेरुको उत्तरी भाग पुगे, जहाँ उनीहरुको ठूलो खजाना हात पारे । यसै धनको सहयोगमा सेना गठन गरे । इन्का राज्यमाथि आक्रमणको तयारी थाले । तर, पनामा सरकारले अनुमति नदिएपछि निराश भई स्पेन फर्के । स्पेनमा त्यो बेला चाल्र्स (प्रथम) को शासन थियो । पिजारोले उनैसित सहयोग मागे । सहयोगको आश्वासन पाएपछि पनामा फर्के । इतिहासमा ठूला लुटेरा भनी चिनिएका पिजारोले इन्का राजकुमारी इनेस ह्वायलास युपान्कीलाई मायाजालमा फसाए । कुज्को राज्यका राजा ह्वायना कापाककी पुत्री थिइन् इनेस । किशोरावस्थामै पिजारोसँग लिभिङ टुगेदरमा बस्न थालिन् । दुई छोराको आमा बनिन् ।

पेरुमाथि आक्रमण गर्न जाने हो भने आवश्यक सामरिक सहयोग गर्न इनेसकी आमा कुराका तयार भएपछि पिजारो अघि बढे । ६२ घोडचढी, १ सय ६ जना पैदल सेना र केही हतियारको साथमा । पेरु पुग्दा बाटामा सबैको शरीर सुनका गहनाले सजिएको देखे । उनी जसरी भए पनि जित्ने अभिप्रायले अघि बढे । त्यो बेला इन्का साम्राज्यका सम्राट थिए– अताह्वाल्पा । पूर्वसम्राट ह्वायना कापाकका ३० वर्षीय छोरा । अताह्वाल्पालाई परास्त गर्न सजिलो थिएन । पिजारोले स्पेनिस लुटेरा हर्नान कोर्तिसलाई सम्झिए । कोर्तिसले चलाखीपूर्ण ढंगले मेक्सिकोमाथि कब्जा जमाएका थिए, बिनारक्तपात । पिजारोले कोर्तिसले अपनाएकै उपाय अपनाउने निधो गरी साथीहरुलाई अघि बढ्न निर्देशन दिए ।
केही समयअगाडि मात्र इन्का सम्राट हुआ कापाकको निधन भएको थियो । सम्राटको निधनको खबर पाउनेबित्तिकै राजधानी कुज्कोस्थित सूर्यमन्दिरका पण्डितहरुले सम्राटका छोरा हुआसकार र उनकी पत्नीको राज्याभिषेक गरिदिए । सम्राटका जेठा छोरा अताह्वाल्पा त्यसबेला कुइटोका राजा थिए ।

उनी खबर सुन्नेबित्तिकै आगो बने । भाइविरुद्ध युद्ध घोषणा गर्दै राजधानीतर्फ बढे । घमासान युद्धमा हुआसकारको पराजय भयो । उनी पक्राउ परे र सजायस्वरुप शाही पोशाक उतारेर स्त्री पोशाक लगाउन बाध्य बने । पशु र पन्छीको बिष्टा खान दिइयो । उनैको अगाडि पत्नी र छोराछोरीको हत्या गर्न लगाइयो । युद्ध जितेपछि अताह्वाल्पा कुज्कोतर्फ रवाना भए । बाटोमा कजामारकामा बास बसे ।

त्यसबेला पिजारोहरु पनि त्यहीं थिए । उनले तल घाँटीमा हेर्दा जताततै त्रिपाल गाडिएको देखे । एकजना सहयोगीसित गोप्य मन्त्रणा गरे । विश्वासिलो साथी हेर्नेन्डो सोटोलाई एकजना दोभाषेसहित सम्राट अताह्वाल्पाकोमा पठाए । सोटोले सर्वप्रथम सम्राटलाई शिर निहुराएर अभिवादन गरे अनि पिजारोले पठाएको निमन्त्रणा पत्र बुझाए । अताह्वाल्पाले निमन्त्रणामा कुनै षडयन्त्रको गन्ध पाएनन् र सहर्ष स्वीकारेर पिजारो बस्ने गरेको त्रिपालभित्रको बासस्थानतर्फ जान मञ्जुर गरे । उता पिजारो पूर्ण तयारीसहित बसेका थिए ।

सन् १५३२ नोभेम्बर १६ को दिन । अताह्वाल्पा ज्योतिषीमा निकै विश्वास गर्थे । ज्योतिषले सम्राट अताह्वाल्पा अजय हुन् भनी गरेको भविष्यवाणीबाट मक्ख थिए । कुनै शक्तिले पनि आफूलाई परास्त गर्न सक्दैन भन्ठान्थे । भविष्यवाणीमाथिको यही अन्धविश्वासका कारण विशेष सुरक्षाको प्रबन्ध नगरिकनै पिजारोकहाँ जान तम्सिए । यसका बाबजुद उनी चढेको पालकीको अगाडि–पछाडि एक हजार सफाइ सेवक थिए । साथमा थिए ५÷६ हजार विश्वस्त सैनिक । जब अताह्वाल्पा पिजारो बसेको सैन्य क्याम्पमा पुगे, क्याम्पबाट मात्र एकजना सैनिक बाहिर निस्के । हेर्दा संन्यासी जस्ता । कपाल पालेका, दाह्री पनि लामै । हातमा बाइबल । उनले बाइबल खोले र त्यसको अंश ठूलो स्वरमा पढ्दै सम्राट अताह्वाल्पातर्फ बढे । सम्राटले उनको हातबाट बाइबल लिए । पृष्ठहरु पल्टाएर हेरे र पढ्न कोसिस गरे तर एउटा वाक्य पनि बुझेनन् । दिक्क मान्दै बाइबल भुइँमा फ्याँकिदिए ।

यत्तिकैमा सैन्य क्याम्पमा बिगुल बज्यो । चारैतिरबाट तोप पड्केको आवाज आयो । हातमा तरबार र विषमा डुबाइएको भाला बोकेका पिजारोका साथीहरुले अताह्वाल्पाका सेना र सेवकमाथि अचानक आक्रमण शुरु गरे । अताह्वाल्पाका सैनिक जवान भेडा–बाख्रासरह काटिन थाले । अचानक भएको हमलाले अताह्वाल्पा वाल्ल परे । के गरुँ, कसो गरुँ निक्र्योल गर्न नसकेपछि भाग्ने कोसिस गरे । पिजारो यसै मौकाको पर्खाइमा थिए । त्यसबेलासम्म अताह्वाल्पा पालकी भित्रै थिए, बाहिर निस्केकै थिएनन् । पिजारो अघि बढेर पालकीनेर पुगे । अताह्वाल्पालाई जबर्जस्ती उतारे र बन्दी बनाए ।
अताह्वाल्पाले ८ महिना पिजारोको कैदमा बिताए । पिजारोले इन्का साम्राज्य स्पेनिशहरुको भएको झूठो दाबी गरे । अताह्वाल्पामाथि स्पेन र स्पेनिश जनताप्रति गद्दारी गरेको आरोप लगाए । एकदिन पिजारो बन्दीगृहमा पुगे । अताह्वाल्पासामु एउटा प्रस्ताव राखे । प्रस्ताव थियो– भनेजति सुन दिएमा रिहा गर्ने । अताह्वाल्पाले रिहा हुने खुशीमा सोधे, ‘कति सुन चाहियो ?’

धनको लोभी पिजारोले प्रशन्न हुँदै जवाफ दिए, ‘धेरै होइन । २२ फुट लामो र १२ फुट चौडाइको यो कोठाको भुइँ सुनले ढाकिदिनु ।’

अताह्वाल्पाले पिजारोको शर्त माने । राजधानीबाट ठूलो मात्रामा सुन ल्याउन थालियो । पिजारोले ती सुन त लिए तर अताह्वाल्पालाई रिहा भने गरेनन् । सन् १५३३ को जुलाई २६ मा थाहै नपाउने गरी बन्दीगृहमा गएर अताह्वाल्पाको गर्धनमा पासो कसिदिए । अताह्वाल्पाबाट पिजारोले करिब १ सय किलो सुन हासिल गरेका थिए । सुन घोडालाई बोकाएर कुज्कातर्फ हिँडे । र, १७ वर्षका मान्को इन्कालाई नयाँ राजा घोषित गरे । इन्का पिजारोका कठपुतली थिए । पिजारोले सन् १५३५ मा पेरुमाथि पूर्णतः कब्जा जमाई लिमा शहर बसाले ।

यो घटनाको एक वर्ष नबित्दै पिजारो जस्तै दक्षिण अफ्रिका पसेर विजेता बनी बसेका स्पेनिश गोन्जालो पिजारोले राजा मान्कोकी श्रीमती कुरो ओल्कोल्लोलाई भगाएर लगेपछि पिजारो–पिजारोबीच मतभेद चक्र्यो । यसबीच चिलीमाथि नियन्त्रण गरी बसेका अर्का स्पेनिश विजेता डियगो अल्माग्रो पेरु फर्के । शुरुमा मिलेरै काम गरे तर पछि इन्का साम्राज्यमाथि कसको नियन्त्रण रहने भन्ने विषयमा पिजारो र उनीबीच मतभेद सिर्जना भयो । दुवैको सेनाबीच लास सालिनासमा भिषण युद्ध भयो । अल्माग्रो हारे । पक्राउ परे र मृत्युदण्ड पाए । यसबीच पिजारो र पत्नी इनेसबीच झगडा भयो । इनेसले पिजारोलाई छाडेर फ्रान्सिस्को एम्पुयरोसँग बिहे गरिन् ।

सन् १५४१ को जुलाई २६ मा अचानक पिजारोको निवास स्थानमा हमला भयो । आक्रमण गर्ने ‘२० जनाको समूह’ सन् १५३८ मा पिजारोले मारेका अल्माग्रोका पक्षधर सैनिक थिए । त्यहाँ आक्रमणकारी र पिजारोका सुरक्षाकर्मीबीच सामान्य भिडन्त भयो र अन्त्यमा आक्रमणकारीहरुको हातबाट पिजारो मारिए । तीन वर्षपछि अल्माग्रोकै समर्थकहरुद्वारा राजा मान्को पनि मारिए । त्यतिञ्जेलसम्ममा स्पेनले दक्षिण मेक्सिकोलगायत मध्य तथा दक्षिण अमेरिकाका अधिकांश मुलुकमा आफ्नो झण्डा गाडिसकेको थियो । तर, कतिपय क्षेत्र स्पेनी नाबिक, लुटेराहरुको कब्जामा थिए । पछि स्पेनले ती क्षेत्र पनि हडपेर, जितेर वा किनेर आफ्नो अधिनमा ल्यायो । जनअास्थामा छापिएकाे राजेन्द्र स्थापित लेख उनकै फेसबुक वालबाट साभार गरीएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्