Sunday 22nd of September 2019

ओलीको गाडी हुँइकिंदा गार्डहरुको दौडादौडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा अचम्मको शैली देखाए । अचम्ममात्र भएन, उनको शैलीसँग तालमेल नहुँदा उनका दुई सुरक्षा गार्ड सिंहदरबारमा नै छुटे । दुईवटा बैठकमा सहभागी हुन सिंहदरवार पुगेका प्रधानमन्त्री ओली पहिलो बैठकमा पनि धरै समय नबसेर निस्किदै गर्दा उनका गार्ड नै छुटेका हुन् ।

प्रधानमन्त्री प्रदेशका मुख्यमन्त्री र प्रदेशका मन्त्रीलगायतसँग बैठक बस्नका लागि सिंहदरबार पुगेका थिए । पहिलो बैठक सकेर उनी जब तल ओर्लिए अनि देखियो अचम्मको ताल ।

सिंहदरबार स्रोतले भन्यो–‘आधा घन्टाको कार्यक्रम भनेर छिर्नु भएको उहाँ १० मिनेट पनि नबसी फुत्तै हिँड्नुभयो । दुईवटा गार्ड त यहिँ छुटेछन् ।’

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सकेर प्रधानमन्त्री प्रदेशका मन्त्रीलगायतसँग छलफलका लागि प्रधानमन्त्री कार्यालयको तल्लो हलमा झरेका थिए । तर, उनी त्यहाँ कतिबेर पनि बसेनन् । प्रदेश मन्त्रीहरू प्रधानमन्त्री केही नभनी सरासर निस्किएर गाडी चढेर हुइकिँदा गार्डहरु भने दौडादौड गरिरहेका थिए । तर, उनीहरुले गाडी भने भेटेनन् ।

गार्डहरू, ड्राइभर र सुरक्षाकर्मी पनि छक्कै पार्नेगरी प्रधानमन्त्री ओली सरासर गाडीमा बसे । उनी बस्ने वित्तिकै गाडी हुँईकियो ।

प्रतिक्रिया दिनुहोस्