Tuesday 17th of September 2019

एनआरएनएद्धारा ११ अर्बको कोष स्थापना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानी गर्न ११ अर्बको कोष स्थापना गर्ने निर्णय गरेको छ ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियान संचालन गरिरहेका बेला त्यसैलाई लक्षित गर्दै एनआरएनएले भौतिक पूर्वाधार निर्माणका लागि भन्दै ११ अर्ब बढिको कोष स्थापना गरेका हुन् ।

हङकङमा आइतबार सम्पन्न छैटौँ एसिया प्रशान्त क्षेत्रीय बैठक तथा पहिलो महिला भेलाले नेपालमा लगानी गर्न ‘नेपाल सरकारसँगको सहकार्यमा १०० मिलियन डलरको मल्टी इन्भेस्टमेन्ट भेहिकल खडा गरेर साना तथा ठूला लगानी गर्न सक्ने सबै नेपालीहरूलाई लगानी गर्ने वातावरण बनाई देशको पूर्वाधार निर्माणमा लगानी गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

एनआरएनएले लघुवित्त संस्था स्थापनासमेत गर्ने अर्को निर्णय गरेको छ । ‘वैदेशिक रोजगारीबाट ज्ञान, सीप र प्रविधि सिकेर फर्किएका नेपालीहरूलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिलाई सहयोग गर्न २० करोड पुँजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोलिनेछ,’ १५ बुँदे विज्ञप्तिमा भनिएको छ ।

एनआरएनएले विगतमा पनि यस्तै प्रकृतिका कोषहरूको स्थापना गरी लगानी गर्ने घोषणा गरेको थियो । हालसम्म त्यस्ता कोषहरूमार्फत लगानीका रूपमा परिणत भने भइसकेको छैन । एनआरएनए स्थापना भएलगत्तै १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गरी नेपालमा लगानी गर्ने घोषणा भएको थियो । नेपालको सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) हरूले लगानी गर्ने गरी अर्को १० अर्बको कोषको पनि घोषणा पनि गत वर्ष लन्डन बैठकले गरेको थियो । हालसम्म यी दुवै कोष स्थापना र लगानीको तयारी भएको छैन ।

यसैगरी, बैठकले संघको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउन्डेसनमार्फत देशमा १ करोड पुराना चिमबत्तीलाई आधुनिक एलइडीमा परिवर्तन गरी ३ सय मेगावाट किफायत गराउने परियोजनालाई अगाडि बढाउने निर्णय गरेको छ । म्याग्दीको कुइने मंगले गाउँपालिकाको मध्यमस्तरको जलविद्युत् आयोजनाका लागि संयुक्त साझेदारी गर्न एनआरएनहरूलाई आह्वानसमेत गरिएको छ । लगानीको वातावरण बनाइदिन भन्दै सरकारसँग विभिन्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग सहकार्य गरी २० विकसित देशहरूसँग आर्थिक विकास सम्झौता, दोहोरो करमुक्ति सम्झौता र द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) गराउने पहल गर्ने निर्णय पनि गरेको छ ।

यसअघि बैठकलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोले नेपालीहरूले विश्वका विभिन्न मुलुकमा लगानी गरिरहेको बताउँदै अब नेपालमा लगानी गर्ने सही समय आएकोले नेपालभित्रनै लगानी बढाउनुपर्ने बताए । ‘पछि वातावरण अझ राम्रो भयो भने विदेशी लगानीकर्ता लाइन लाएर नेपाल आउँछन् अहिले लगानी गर्ने समय हाम्रो हो’, उनले भने ।

संघका निवर्तमान अध्यक्ष शेष घलेले नेपालमा लगानी अहिले भावनाको आधारमा मात्र भएको बताए । सरकारले गैरआवासीय नेपालीलाई लगानी गर्ने पहिलो सम्भावना भएको रूपमा हेर्नुपर्छ, उनले भने । ‘हामीलाई पहिला उत्साहित र प्रोत्साहन गरिनुपर्छ, हामीलाई देखेपछि मात्र अझ बढी विदेशी लगानीकर्ता आउँछन् । सरकार लगानी ल्याउने विषयमा गम्भीर भएर लाग्नुपर्छ’, उनले भने ।

संघका अध्यक्ष भवन भट्टले एनआरएनहरुले विदेशबाट सिप, ज्ञान र पुँजी भित्र्याइरहेको बताउँदै सरकारले सहयोग ग¥यो भने अझै बढी भित्र्याउन सकिने बताए । सरकारले अहिले बल्ल एनआरएनलाई विभिन्न रूपमा प्रोत्साहन गर्न थालेको छ’, उनले भने । एनआरएनकै लगानीमा देशकै ठूलो अस्पताल, पाँचतारे होटलदेखि हाइड्रोपावर, कृषि, बैंकमा लगानी बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्