Sunday 15th of December 2019

समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

केन्द्रले साउनयता १ सय ४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३ सय १८ र तोकिएको पोसाक नलाउने १ सय ६२ गरी ५ सय ३० जना कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । उनले कारबाही परेका कर्मचारीलाई विभागीय कारबाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको बताए ।

केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १ सय ४० कार्यालय अनुगमन गर्दा करिब दुई हजार ३ सय ४० जना कर्मचारीलाई समय पालना नगरेका र पोसाक नलगाउने कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरेको थियो ।

यस्तै, केन्द्रमा अझै २ सय ३७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । मुख्यमन्त्री कार्यालयबाट कात्तिक मसान्तसम्म केन्द्र स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण आउनुपर्नेमा नआएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिए ।

स्थानीय तहले पहिलोपटक सम्पत्ति विवरण बुझाउँदै छन् । स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण जिल्ला समन्वय समितिमार्फत मुख्यमन्त्रीमा जाने र मुख्यमन्त्रीबाट केन्द्रमा जाने गर्दछ ।

केन्द्रका सम्पत्ति विवरण शाखाका एकराज पोखरेलले सबैभन्दा बढी प्रदेश–२ का स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको बताए । उनका अनुसार सम्पत्ति विवरण बुझाउनका लागि केन्द्रले ताकेता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्