Sunday 8th of December 2019

मिनी ट्रक दुर्घटनामा २० को मृत्यु, १५ घाइतेकाे काठमाडाैंमा उपचार हुँदै 

नुवाकोट । दुप्चेश्वरगाउँपालिका–१ घ्याङफेदीको घ्यावारडाँडाको भीरमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

दुर्घटनाका घाइते

घाइते मध्ये ८ जनाको शिक्षण अस्पताल महाराजगञ्ज र ७ जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

मृतक ३ जना बाहेक अरुको नाम खुलेको छैन । मृत्यु हुनेमा घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरबेसीका रितेश पण्डित भएको दुप्चेश्वरगाउँपालिका प्रमुख योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् ।

उद्धार गरी उपचारको लागि राति पठाएका एकजनाको बाटोमा ज्यान गएको र एक जनाको शिक्षण अस्पताल पुऱ्याउँदै गर्दा मृत्यु भएको गाउँपालिका प्रमुख तामाङले जानकारी दिए ।

शुक्रबार साँझ दुप्चेश्वर गाउँपालिका–७ सिम्टाङबाट वडा नम्बर १ शिशिपुतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार सिम्टाङमा घेवा(काजक्रिया) सकेर घर फर्किने क्रममा मिनी ट्रक व्याक आउँदा खस्न गई दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

दुर्घटना स्थल सदरमुकाम विदुरदेखि ४० किमी पूर्वोत्तर क्षेत्रमा पर्छ । घटनास्थलमा उद्धारका लागि समुन्द्रटार प्रहरी चौकी, खरानीटार ईलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयका प्रहरीहरु, सेनाको श्रीनाथ गण, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउपालिकाका पदाधिकारी परिचालित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्