Friday 28th of February 2020

बंकरमाथि चिया बगान : उदारण बन्यो काभ्रेको कामीडाँडा

काभ्रे । मर्दनसिंह लामा पूर्व लडाकु हुन् । उनी भूमिगत नाम प्रेमले परिचित थिए । माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे ।

युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन् । अहिले उनी चिया खेती गर्छन् । काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा । द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधार इलाका थियो ।

धेरै पटक नेपाली राजनीतिलाई प्रभावित गर्ने घटना यहीँबाट निर्देशित भए । जनमुक्ति सेनाले यसलाई भूमिगत तालिम केन्द्रका रूपमा प्रयोग गर्थे ।

जताततै बंकर खनिएका थिए । शान्ति प्रक्रिया सुरु भएपछि माओवादीको पहिलो केन्द्रीय बैठक यहीँ बस्यो । त्यसपछि राष्ट्रिय रूपमै यो ठाउँको चर्चा हुन थाल्यो । सेना समायोजनअघि तेस्रो डिभिजनको शिविर यहीँ राख्ने प्रस्तावपछि यो थप चर्चित बन्यो ।

तर शान्ति प्रक्रियापछि मर्दनसिंहको झैँ कामीडाँडाको परिचय पनि फेरिएको छ । युद्ध सकिएको १२ वर्ष नाघ्दा युद्धभूमि कृषिभूमिमा फेरिएको छ । बुट बजारेर परेड खेल्ने चौरमा चियाको बोट रोपिएका छन् । बंकरमाथि हराभरा बगान छ ।

बन्दुक बिसाएकाहरूले कोदालो समातेका छन् । अब यहाँ राजनीतिक बहस र बैठक हुँदैनन् । ‘अब त कृषि क्रान्तिका लागि छलफल हुन थालेको छ,’ मर्दनसिंह बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्