Friday 21st of February 2020

‘जेठीआमाले पकाएको चाउमिन खाएका थिए दाजुभाईले’

काठमाडौं । कञ्चनपुरमा चाउमिन खाँदा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका १२ वर्षीय धनबहादुर सुनार र ८ वर्षीय टेक सुनार रहेका छन् । दुवैजना सदोहर दाजुभाइ हुन् ।

बेलौरीको एक विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाट जेठी आमा सीता देवी सुनारले पकाएर दिएको चाउमिन खाँदा दुवैजनाले बान्ता गरेका थिए । उनीहरुको अवस्था झन नकारात्मक हुँदै गएपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । दुवै जनाको अवस्था झन असामान्य बन्दै गएपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । उनीहरु जेठो बुबा र आमाको आश्रयमा बस्दै आएका थिए । दुवै बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर जेठो बुबा र आमाले मृत्यु गराएको आरोप लगाएका छन् । प्रहरीले जेठो बुबा लक्षी सुनार र आमा सीता सुनारलाई पक्राउ गरेको छ । दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्