Sunday 16th of June 2019

यस कारण प्रवेश परीक्षाबिनै जानकी मेडिकल कलेजका भारतीय विद्यार्थी परीक्षा दिन वञ्चित

[mashshare]

धनुषा ।  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को प्रवेश परीक्षा नै नदिएर जनकपुरको जानकी मेडिकल कलेजले भर्ना गरेका ३४ जना भारतीय विद्यार्थी एमबीबीएसको प्रथम वर्षको परीक्षाबाट वञ्चित भएका छन् ।

बिहीबारदेखि सुरु भएको एमबीबीएसको प्रथम वर्षको पहिलो दिनको परीक्षामा आइओएमलाई ढाँटेर भर्ना भएका ३४ जना भारतीय विद्यार्थीलाई परीक्षामा सामेल गराइएको छैन।

प्रवेश परीक्षामा उतिर्ण गरी भर्ना भएका ४६ जना विद्यार्थी परीक्षामा सहभागी भइरहँदा एक वर्षसम्म एमबीबीएस अध्ययन गरेका ३४ जना भारतीय विद्यार्थी छात्रावासमै छन्।

जानकी मेडिकल कलेजमा आइओएमको रेकर्ड अनुसार ४६ जना विद्यार्थी मात्र अध्ययन गरेको हुनाले बिहीबारदेखि सुरु भएको परीक्षामा उनीहरूलाई मात्र सहभागी गराइएको सहायक डिन राजेन्द्र प्रसाद शर्मा गुरागाइँले बताए।

परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको तर्फबाट रिया साहसमेतले पुस १ गते सर्वोच्च अदालतमा त्रिभुवन विश्वविद्यालय, किर्तिपुरसमेत/रामजानकी हेल्थ फाउणडेशनद्वारा सञ्चालित जानकी मेडिकल कलेजलाई प्रतिवादी बनाउँदै रिट निवेदन दर्ता गराएका थिए।

उक्त रिटमा पुस ३ र ४ गते तारेख दिएको र पुस ८ गते अर्को तारेख तोकेको छ। यसअघि जानकी मेडिकल कलेजले उच्च अदालत पाटनमा स्टेअर्डरका लागि दायर गरेको रिट खारेज भएको थियो। एमबीबीएस भर्नाका लागि लिने प्रवेश परीक्षामा सहभागी नै नभए पनि भर्ना भएका भारतीय विद्यार्थीको परीक्षा फारम आइओएमले अस्वीकृत गरेको थियो।

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उत्तीर्ण गर्नै पर्ने प्रावधान छ। तर, ती ३४ विद्यार्थीले प्रवेश परीक्षा नै दिएका थिएनन्। कलेजले प्रक्रिया मिचेर उनीहरूको भर्ना लिएकोले आईओएमले बिहीबारदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षाबाट वञ्चित भएका हुन्।

जानकी मेडिकल कलेजले एमबीबीएस प्रथम वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आईओएमलाई पठाएको थियो। जानकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्याङ्क मात्र रहेकाले आईओएमले ४६ जनाको फर्म मात्र बुझेको डिन डा. जगदीशप्रसाद अग्रवालले बताए।

मोटो रकम खर्चेर एमबीबीएस पढ्न नेपाल आएका विद्यार्थीलाई परीक्षामा सहभागी गराउने मुद्दा सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा मेडिकल सञ्चालक शक्ति केन्द्रहरूमा दौडधुप गर्न थालेका छन्। कलेजमा विद्यार्थी भर्ना गराउने कन्सल्टेन्सीसँग विद्यार्थीहरूले कलेजमै बुधवार अबेर रातीसम्म छलफल गरेका थिए।