Monday 16th of December 2019

उद्यमी चन्द्र ढकालद्वारा अस्पताल भवन निर्माणका लागि १० लाख सहयोग

बागलुङ । नेपालका एकजना प्रतिष्ठित युवा उद्यमी तथा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्लाको एक अस्पतालका लागि भवन निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ढकालले बाग्लुङ जिल्लाको पैयुपाटा प्राथमिक अस्पतालको लागि आवश्यक भवन निर्माणार्थ रु १० लाख व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराएका हुन ।

जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नम्वर १३ का अध्यक्ष नारायण पौडेलका अनुसार ७ रोपनी जग्गामा बन्ने सो भवनको लागि अवश्यक जग्गा खरिदको लागि ढकाले सो आर्थिक सहयोग गरेका हुन।

पौडेलले अस्पताल भवन निर्माणको लागि वडामा बजेट अभाव भएकोले ढकालसँग सहयोग लिइएको जानकारी दिएका छन् । अस्पताल भवन निर्माण समितिले अब अस्पताल भवन निर्माणको कार्य तिब्रगतिमा अघि बढ्ने बताएको छ । साथै उक्त समिति र वडा अध्यक्षले सो आर्थिक सहयोगको लागि ढकाललाई विशेष धन्यवाद ज्ञापन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले पनि आफ्नो जिल्लामा बन्ने अस्पताल भवनका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।

बागलुङ जिल्लाको अमलाचौर निवासी ढकालले त्यहाँस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई यसअघि २५ लाख रुपैयाँ सहयोग गरेका थिए । त्यसैगरी अमलाचौरस्थित पृथ्वी माविमा उनले करिब ६ करोड रुपैयाँको निजी लगानीमा विद्यालय भवन निमार्ण गरिदिएका छन ।

प्रतिक्रिया दिनुहोस्