Tuesday 23rd of July 2019

सल्लाघारी, धोविघाट र कोड्कु बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माणको शिलान्यास छिट्टैः आयोजना प्रमुख खत्री

काठमाडौ । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौं उपत्यकाको सल्लाघारी, धोविघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताएका छन । उनले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी समेत खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा खानेपानी मन्त्री वीना मगरलाई जानकारी गराएका थिए ।

खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको सभाहलमा आयोजित बैठकमा खानेपानी मन्त्री बीना मगरले देशैभरि आधारभूत खानेपानीको पहुँच पुर्याउन मन्त्रालयले ठोस कार्यक्रमहरु तीव्रताका साथ अघि बढाउने बताइन । बैठकको अध्यक्षता गर्दै उनले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रमहरु अघि बढाउने जानकारी दिइन ।

खानेपानी मन्त्रालय, मातहतका निकाय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सहितको संयुक्त बैठकमा मन्त्री मगरले रिजल्ट आउने गरी उत्साहजनक ढंगले कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्दै लगिने स्पष्ट पारिन । बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारे उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उनले संयमित भएर मेलम्चीमा आएको समस्या हल गरिने बताइन । उनेले भनिन, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रमहरु भने प्रभावित हुने छैनन् ।”

बैठकमा सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले पूँजीगत खर्च बढाएर लैजाने र अन्य आयोजनाका कामहरु तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल दासले खानेपानीको पहुँच नपुगेका देशैभरिका नगरपालिका, गाउँपालिका, वडा तथा टोलहरुको पहिचान गरी तथ्यांक संकलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिइन । उक्त योजनाहरुका आधारमा मन्त्रालयले कार्यक्रमहरु अघि बढाउनेछ ।

 

राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पु९याउने गरी कार्यक्रमहरु जनतामाझ लैजान आग्रह गरेका थिए । बैठकमा अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले बजेटको पूँजीगत खर्च बढाउन मन्त्रालयलाई आग्रह गरेका थिए। उनले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पारे । उनले भने, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन । मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं ।”

सो बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले वाटर एटीएम जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए ।

उनले काठमाडौं उपत्यकामा सञ्चालित ट्यांकरहरु मध्ये हालसम्म ६ सय २० ट्यांकरलाई स्टीकर प्रदान गरिएको बताए । यसैबीच खानेपानी मन्त्रालयको समीक्षा बैठक पनि बसेका थियो । बैठकमा मन्त्रालयबाट तयार भएको ढल नीति स्वीकृत भईसकेको र खानेपानी तथा सरसफाईसँग सम्बन्धित छाता ऐन बनिसकेकोले पारित हुने प्रक्रियामा रहेको जानकारी गराईयो ।

 

प्रतिक्रिया दिनुहोस्