Sunday 13th of January 2019

पद्मरत्न तुलाधर : व्यक्ति एक विशेषता अनेक

 

विमल थापा

नेपालको मानवअधिकारका क्षेत्रमा अग्रणी व्यक्तित्व पद्मरत्न तुलाधरले भौतिक शरीरलाई त्यागेका छन् । ७८ बर्षको उमेरमा तुलाधरले भौतिक संसारबाट विदा लिएतापनि उनले आफ्नो जीवनकालमा भोगेका, अनुभूत गरेका र गरेका कर्महरुबाट पछिल्लो पुस्ताले पनि महत्वपूर्ण शिक्षा ग्रहण गर्न सक्दछ ।

पद्मरत्न तुलाधर काठमाण्डौका रैथाने नेवार समुदायलाई प्रतिनिधित्व गर्ने एउटा यस्ता व्यक्तित्व थिए,  जसले युवा अवस्थादेखि नै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक बिषयबस्तुलाई अभिरुचीपूर्वक अध्ययन गर्ने स्वभाव देखाउँदथ्यो ।

जतिखेर उनी प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसमा पत्रकारिता अध्ययन गर्दैथिए, त्यतिखेर देखि नै संसदीय बिषयमा रिपोर्टिङ गर्ने उत्कट अभिलाशा उनमा पलायो । तत्कालिन अवस्थामा उनको यो अभिलाशा पूरा हुन त्यति सहज थिएन । किनकी संसदीय बिषयमा रिपोर्टिङ्ग गर्नको निम्ति सिंहदरबारस्थित संसद भवनमा प्रवेश आवश्यक थियो । सिंहदरबारमा रहेको प्रतिनिधि सभाको सभाहलमा प्रवेश गर्नको निम्ति आफ्नो क्षेत्रको सांसदको सिफारिस आवश्यक पर्दथ्यो । तर उनको निम्ति यो पनि सहज थिएन । विभिन्न बाहना बनाएर उनी संसदीय बिषयमा रिपोर्टिङ गर्न सिंहदरवारस्थित प्रतिनिधि सभा भवनमा प्रवेश गरेर आफू अध्ययरत क्याम्पसको असाइन्मेन्ट अनुसार रिपोर्टिङ गर्न भ्याए । 

तुलाधरमा युवाअवस्थादेखि नै पत्रकारिताको प्यास जागेको थियो । सायद यसले गर्दापनि होला उनले ‘नेपाल भाषा’ पत्रिकाको सम्पादक भएर लामो समयसम्म नेपाली पत्रकारितामा क्रियाशील हुन पुगे । अधिकारकर्मी पूर्णशोभा चित्रकार भन्छिन्, ‘पद्रत्न तुलाधरमा पत्रकारिताको यतिबिध्न लगाव थियो कि, यदि प्रेसमा काम गर्ने मान्छे आएनन् भने उहाँ रातभरि पनि एक्लै प्रेसमा काम गर्नुहुन्थ्यो ।’ त्यतिखेर आजको जस्तो डिजिटल छपाइ प्रविधि थिएन, एउटा–एउटा अक्षरलाई मिलाएर पत्रिका छापिने प्रविधि  (लेटर प्रेस) का माध्यमबाट पत्रपत्रिका र पुस्तक छाप्नु पर्दथ्यो चित्रकार भन्छिन्, ‘पद्मरत्न तुलाधर यस्तो अवस्थामा पनि आफूले मिहिनेत गरेर पत्रिका छाप्ने काम गर्नुहुन्थ्यो ।’

त्यसो त तुलाधरको पत्रकारितासँगै साहित्यप्रतिको रुची पनि उत्तिकै उत्कट थियो । उनका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् ।

नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफनो जीवनको लामो समय खर्चिएका तुलाधर न त कुनै पार्टीसँग निकट थिए । न त कुनै पार्टीको सांगठानिक सदस्यता नै ग्रहण गरेका थिए । उनी एउटा स्वतन्त्र सामाजिक अगुवाका रुपमा अगाडि बढ्दै थिए । वि.सं २०४२ मा नेकपा (माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उनले उम्मेदवारी दिए । त्यतिखेर पञ्चायतको दबदबा र निरंकुशता हावी थियो नै । यद्यपि, नेपालको राष्ट्रिय राजनीतिमा २०४२ को राष्ट्रिय पञ्चायतको निर्वाचनमा त्यतिखेरको प्रतिबन्धित राजनीतिक पार्टी नेकपा (माले)को समर्थनमा निर्वाचनमा उम्मेदवारी दिनु आफैमा चुनौतीपूर्ण पनि थियो । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा उनले सूर्य चिह्न लिएका थिए । जसलाई तत्कालीन नेकपा(एमाले) र हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि सोही चिन्हलाई आफ्नो निर्वाचन चिन्ह लिएको छ ।

अन्ततः उनले सो निर्वाचनमा आफ्नो विजय सुनिश्चित गराए । त्यतिबेला दलहरुमाथि प्रतिबन्ध लगाइएको थियो । २०४२ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी प्रतिबन्धित दलहरुको समर्थनका उम्मेदवार बनी काठमाडौँमा उम्मेदवार भएको क्षेत्रका  उनका प्रतिस्पर्धी थिए तत्कालीन गृह पञ्चायत मन्त्री जोगमेहर श्रेष्ठ । उनका प्रतिस्पर्धी जोगमेहर श्रेष्ठलाई ८० हजारभन्दा बढी मत अन्तरले निर्वाचन परिणाम आफ्नो हातमा पार्न सफल भए । त्यतिञ्जेल पनि उनले जननिर्वाचित प्रतिनिधिका रुपमा तत्कालिन पञ्चायती व्यवस्थाका बिषयमा आम धारणालाई सदनसमक्ष प्रखर रुपमा प्रस्तुत गरे । अधिकारकर्मी शान्तलाल मुल्मी भन्छन्, पद्मरत्न तुलाधर तत्कालिन अवस्थामा पञ्चायती निरंकुशतामा पनि जनताको प्रतिनिधि भएर संसदभित्र जनताको आवाज उठाउन सक्ने तुलाधर निडर नेता भएको बताउँछन् । उनी भन्छन्, ‘तुलाधरले कुनैपनि बिषयमा बोल्दा निःस्वार्थ भएर मन, दिमाग र आत्माले बोल्ने गर्नुहुन्थ्यो, राजनीतिक नेताहरु जो सोच्छन्, त्यो बोल्दैनन, जे बोल्छन्, त्यो गर्दैनन् तर तुलाधरमा सोच्ने, बोल्ने र गर्ने क्षमता थियो ।’

सोही बेलादेखि पद्मरत्न तुलाधरको पत्रकारिता र साहित्यिक व्यक्तित्वबाट राजनीतिक क्षेत्रमा पनि उत्तिकै भूमिका देखिन पुग्यो । सोही बेलादेखि उनलाई बामपन्थी राजनीतिज्ञका रुपमा जनमानसले पहिचान गर्न थाले ।

२०४६ सालको जनआन्दोलनबाट प्राप्त राजनैतिक उपलब्धी पश्चात भएको निर्वाचनमा तत्कालीन नेकपा एमालेको समर्थनमा वि.सं २०४८ र विस २०५१ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा उनी निर्वाचित पनि भए । यसैक्रममा तुलाधर एमाले सरकारको पालामा वि.सं २०५१ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए ।

नेकपा एमाले टुक्रिएर माले बनेपश्चात २०५६ सालको चुनावमा पहिलो पटक सूर्य चुनाव चिह्नबाट उनले चुनाव लड्न पाएनन् । काठमाडौँ क्षेत्र नम्बर ४ मा उनले मालेको तारा चुनाव चिह्नबाट चुनाव लडे । चुनाव परिणाम अचम्मको आयो। पञ्चायत कालमा २०४२ साल, बहुदल आएपछि २०४८ साल र मध्यावधि निर्वाचन २०५१ सालमा लगातार तीन पटक चुनाव जितेका उनी २०५६ को संसदीय निर्वाचनमा पराजित भए । पराजित मात्र हैन पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको भन्दा पनि कम भोट मत प्राप्त गरे । यसपछि उनले कहिलेपनि चुनाव लडेनन् ।

उनको राजनीतिक गतिविधिमा संलग्न तत्पश्चात विस्तारै न्यून हुँदै गएको थियो । यद्यपि, उनको दैनिक नागरिक आन्दोलन र मानवअधिकारको बिषयमा केन्द्रित थियो नै । उनले समग्रतामा दलीय राजनीति भन्दा माथि उठेर सामाजिक, आर्थिक र नागरिक सरोकारका बिषयलाई उठान गर्न थाले । जसका कारणले उनी पुनः नागरिक तहमा छाइरहे । 

विडम्बना मुलुकले २०५२ सालपश्चात एउटा दुःखद अवस्थालाई सामना गर्नपुग्यो । त्यतिखेर तत्कालीन माओवादीले हतियार उठाएर जनयुद्धको घोषणा ग¥यो । सोही कारण मुुलुक झण्डै १० बर्षसम्म युद्धमा होमियो । यो अवधिमा झण्डै १७ हजार नेपालीहरुले ज्यान गुमाउन बाध्य भए । यस्तो अवस्थामा पनि तुलाधरले विद्रोही नेकपा (माओवादी) लाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । माओवादी युद्धका बेला तुलाधर वार्ताका लागि सहजकर्ताका रुपमा थिए । किनकी माओवादीका प्रचण्ड, बाबुरामहरुसँग उनको राम्रो सम्बन्ध थियो । बेला–बेला फोन पनि हुन्थ्यो । एकपटक प्रचण्ड तुलाधरको घरमा आएर फर्किएका पनि थिए । तुलाधरले भारतका विभिन्न स्थानमा गएर माओवादीसँग वार्ताका लागि पहल गरेका थिए । परिस्थिति यस्तो पनि आयो कि कतिपयले तुलाधरलाई नै प्रचण्ड भनी प्रचार गर्न थाले ।

त्यतिखेर तुलाधरले मालेको तारा चिन्ह लिएर चुनावमा उठेका बेला खिचेको एउटा तस्वीर थियो । त्यसैलाई देखाएर प्रचण्ड भनेकै पद्मरत्न तुलाधर हो भन्ने भ्रम थियो कतिपयमा । टाइम्स अफ इन्डिया, द स्टेसम्यानसीप लगायतका दैनिकले उनकै तस्वीरलाई प्रचण्ड भनेर प्रकाशित गरे । जी न्यूजले पनि ०६२ सालमा ओसामा बिन लादेनभन्दा सर्वा्धिक खोजी गरिएको प्रचण्ड भनेर उनकै फोटो प्रकाशित गरिदियो ।

पद्मरत्न तुलाधर भाषणा कलामा पनि उत्तिकै निपूर्ण मानिन्थे । उनले त्यतिखेर गरेका भाषण भाइरल हुन्थे । सामाजिक सञ्जालको के कुरा, इन्टरनेटसमेत नभएको त्यो युगमा पद्यरत्न तुलाधरका भाषण कसरी भाइरल हुन्थ्यो भने त्यतिखेर सम्बोधन गरिएका भाषण टेपरेकर्डमा रेकर्ड हुन्थ्यो । नेपालमा मदन भण्डारीपछि भाषण कला भएका नेताका रुपमा पनि तुलाधर परिचित थिए । खासगरी पञ्चायत कालमा जनपक्षीय उम्मेदवारका रुपमा उनी २०४२ सालको चुनावमा उठ्दा ताका उनले गरेको भाषण भाइरल भएको थियो । उनलाई भाषणका वक्ताका रुपमा ठाउँ–ठाउँ बोलाइन्थ्यो । ०४८ सालमा मनमोहन अधिकारी, मदन भण्डारी, साहना प्रधान, केपी शर्मा ओली र उपनिर्वाचनमा विद्या भण्डारीको निर्वाचन क्षेत्रमा गएर तुलाधरले भाषण गरेका थिए । ओलीलाई जिताउन झापाको दमकमा गएर पनि भाषण गरेका थिए । निकै चर्को भाषण गर्ने तुलाधार भाषणकै क्रममा पटक–पटक भावुक पनि बन्थे । यति भावुक कि, कतिपय बेलामा उनी भाषण गर्दागर्दै आँशु झार्दथे । अधिकारकर्मी शान्तलाल मुल्मी अगाडि भन्छन्, ‘पद्मरत्न तुलाधर निष्कपट बोल्ने भएकाले कतिपय अवस्थामा बोल्दा बोल्दै भावुक भएर आँशु झार्नुहुथ्यो ।’

नेपालको नागरिक आन्दोलनमा पद्मरत्न तुलाधरको योगदान उल्लेखनीय रहेको मानवअधिकारकर्मी एवं राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधान बताउँछन् ।  उनी भन्छन्, ‘नेपालको सिङ्गो मानवअधिकार आन्दोलनमा पद्मरत्न तुलाधरले विशिष्ट योगदान रहेको छ ।

प्रधान अगाडि भन्छन्,‘भीरैभीर हिडेको र अप्ठेरोमा परेको देशलाई आजको अवस्थामा ल्याउन पद्मरत्न तुलाधरको योगदान उल्लेखनीय रहेको छ, नेपालको लोकतान्त्रिक र मानवअधिकार आन्दोलनमा योगदान दिने हस्तीहरुमा पद्मरत्न तुलाधरको नाम अग्रपंक्तिमा आउँछ ।’

शान्तिको निम्ति सहकार्य गर्ने क्रममा तत्कालिन माओवादी युद्धलाई शान्तिमा रुपान्तरण गर्ने सन्दर्भमा पनि तुलाधरको विशेष योगदान रहेको प्रधान बताउँछन् । उनी भन्छन्, ‘तत्कालिन समयमा युद्धकालिन अवस्थाबाट शान्ति प्रक्रियाका माध्यमाबाट मुलुकलाई अगाडि बढाउने कार्यमा उहाँको सहयोगीको रुपमा साथसाथै काम गर्ने अवसर जुट्यो त्यो मेरा लागि पनि गौरवको बिषय थियो ।’

अन्नतसंन्देशबाट साभार गरेका हौं ।

 

प्रतिक्रिया दिनुहोस्