Thursday 19th of September 2019

सडक योजनामा बद्नाम डीइहरु प्रमुख, मन्त्री महासेठ, पत्नी सुली र सचिव अधिकारी मालामाल

काठमाण्डौं । मुलुकको समृद्धि सडकसंग जोडिएको हुन्छ । प्रधानमन्त्री केपी ओलीले सरकारको सफलता सडकहरूको विकासमा निर्भर रहेको अभिव्यक्ति पनि दिंदै आएका छन । देशभरी फराकिला सडक बनुन, बनेका सडकहरूको स्तरोन्नति होस् भन्ने चाहना प्रधानमन्त्रीको छ । यही चाहना पूरा गर्न प्रधानमन्त्रीले व्यवसायी घरानाका रघुबीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाए । राम्रो काम गर्लान् र प्रधान मन्त्रीलाई पनि राम्रै मद्दत पुग्ला भनि  मन्त्रालयको सचिवमा मधुसुदन अधिकारीलाई पठाए ।

तर, तीनै मन्त्री, सचिव र मन्त्रीपत्नी जुलीको मिलोमतोमा करोडौं रुपैयाँ घुस, कमिशन खाएर एक दर्जन बढी डिभिजन जुनियर इन्जिनियरहरूलाई निमित्त दिएर काज सरुवा गरिएको खबर  बाहिर आएको छ ।  मन्त्री एनआरएन उपेन्द्र महतोका बहिनी ज्वाँई महासेठ त्यसैपनि ओली क्याविनेटका सबैभन्दा भ्रष्टमन्त्रीकारुपमा आलोचित रहेका छन् ।

२०७५ चैत महिनादेखि हप्तैपिच्छे सडकका खाल्टाखुल्टी पुरिसक्ने वक्तव्य दिने तर कार्यान्वन गर्न नसक्ने असक्षम मन्त्रीका रुपमा महासेठको मन्त्रिपरिषदको बैठकमा मात्र हैन नेकपाका सबैजसो बैठकहरूमा चर्को आलोचना हुने गर्दछ ।

प्रधान मन्त्रीको भ्रष्टाचार शून्य सहनशीलताको नारालाई लत्याउदै ओली सरकारकै बद्नाम गर्ने यी मन्त्री महतो मन्त्रीमण्डल पुनर्गठन वा मन्त्रीहरू फेरबदल गर्दा हटाइने मन्त्रीको सूचीमा यिनको नाम एक नम्बरमा रहनु पर्ने हो । तर, पनि प्रधानमन्त्री ओलीले यिनको किन बचाव गरिरहन्छन् बुझि नसक्नु रहस्य छ ।

ओलीको आशीर्वादमा टिकेका मन्त्री महासेठले पटक पटक  प्रधानमन्त्रीको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई धोती लगाउदै आइरहेका छन् । भौतिक पूर्वाधारमन्त्री महासेठ विवादस्पद अर्बपति ब्यापारी उपेन्द्र महतोका बैनी ज्वाँई हुन् ।

पैसाको बलमा नेपाली राजनीतिमा दबदबा राख्दै आएका महतोले  बहिनी जुली महतो र ज्वाइँ रघुवीर महासेठलाई एमालेको राजनीतिमा पठाए ।  यी दुबै पतिपत्नी नेकपाबाट प्रतिनिधिसभा सदस्य छन् । महासेठ धनुषा–४ बाट प्रत्यक्ष निर्वाचित हुँदै भौतिक पूर्वाधार मन्त्री बन्न सफल भए भने जुली समानुपातिकबाट सांसद बन्न सफल भइन् । उपेन्द्रले यस अघि भाई वीरेन्द्र महतोलाई मधेशी जनअधिकार फोरमबाट राजनीतिमा सक्रिय बनाएका थिए । वीरेन्द फोरमबाट सभासद पनि भए ।

रघुवीर र जुलीको बद्नाम चरित्रका कारण नेकपाभित्र भयङ्कर किचलो उत्पन्न हुँदा पनि प्रधानमन्त्री ओली मौन छन् । ‘आखिर त्यस्तो के जादू छ उपेन्द्र महतोमा’ जसले प्रधानमन्त्री ओली र नेकपाका केही नेताहरू नतमस्तक भइरहेका छन भन्ने प्रश्न उब्जिन थालेको छ ।  अख्तियारको दुरुपयोग गरेर मन्त्रालयलाई ऐन/नियमविपरीत संचालन गर्दै डिई र सुई/इन्जिनियरहरूको सरुवामा थैली असुल्दै ‘निमित्त दिंदै’ आएका अहिलेसम्मकै सबैभन्दा  बद्नाम मन्त्रीका रुपमा दरिएका महासेठलाई महादेवले सतीदेवीको लाश काँधमा बोके झैं प्रधान मन्त्री ओलीले किन बोकिरहेका छन् भन्ने चर्चा, धुम्बाराही पार्टी हेडक्वार्टर र सिंहदरबारमा व्याप्त छ ।

क्षमता, दक्षता र स्वच्छ चरित्र भएका सिनियर डिभिजनल इन्जिनियरहरूलाई पुल दरबन्दीमा थन्क्याएर सेकेण्ड क्लास त्यसमा पनि बदनाम डिभिजनल इन्जिनियरहरूलाई देशभरका एक दर्जन अर्बौं बजेट भएका आकर्षक आयोजना र योजनाहरूमा प्रमुख बनाई पठाएपछि मन्त्री, सचिव र छायाँ मन्त्री जुलीको वास्तविकरुप छर्लङ्ग भएको अहिले सडक विभागमा चर्चा छ ।

मन्त्री, सचिव र मन्त्रीपत्नी जुलीले कांग्रेस निकट बदनाम डिईहरूलाई देशका महत्वपूर्ण योजनाहरूको प्रमुख बनाएर पठाएपछि इमान्दार कर्मचारीहरूले आश्चर्य मानेका छन् । दुई तिहाइको सरकारले देश विकासमा महत्वपूर्ण मानिएका गंभीर प्रकृतिका राष्ट्रिय महत्वका योजनाहरूमा यस्ता बदनाम घुसखोर डिईहरूलाई काज सरुवा गरी पठाउदा सडक निर्माण जस्तो विकास निर्माणको द्वारमा भ्रष्टतन्त्र र कमिशनखोरहरूको बोलबाला हुने भएपछि सरकारको विकासको लक्ष्य पूरा हुनेमा शंका गरिन थालिएको छ ।

यसरी आकर्षक योजनामा सरुवा भइ जानेमा नेपाली कांग्रेस निकट डिई कर्ण रानाभाटलगायत रहेका छन् । जन्मथलो तनहूँ भएका यिनी कांग्रेस नेता रामचन्द्र पौडेलका खास मान्छे हुन् । मन्त्री महासेठलाई १ करोड ५० लाख रुपैयाँ घुस खुवाएर रानाभाट सबैभन्दा मालदार मानिने धरान, चतरा हेटौडा पूर्व २ नम्बरमा सरुवा भएको चर्चा छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत धरान, चतरा, हेटौडा सडकखण्ड पूर्वी नेपालबाट काठमाण्डौ पुग्ने महत्वपूर्ण सडक हो । यो सडक छिटो निर्माण हुनुपर्नेमा प्रधानमन्त्री ओलीको समेत गंभीर चासो रहेको छ । प्रधानमन्त्रीले यस आयोजनाको नेतृत्वमा राम्रो डिई पठाउन मन्त्री महासेठलाई निर्देशन दिएपनि महासेठले प्रधानमन्त्रीको  निर्देशन नमानेर कमिसन र घुस मात्र खान प्रसिद्धि कमाएका डिई रानाभाटलाई पठाएको चर्चा छ ।

त्यस्तै ठूल्ठुला प्रोजेक्ट छानेर मात्र जाने अर्का बदनाम डिई हुन जितेन्द्र चौधरी । उनी अर्बौंका योजनाहरूमा जानलाई मन्त्री, नेता र सांसदहरूलाई करोड भन्दा बढी रुपैयाँ घुस खुवाउन पनि पछि पर्दैनन् । उनी हालसम्म आधा दर्जन पटक कारवाहीमा परेका डिई हुन । सडक डिभिजन कार्यालयका विराटनगरको प्रमुख हुँदा कोशी राजमार्ग अन्तर्गत इटहरी–धरान–धनकुटा सडकखण्ड पुनर्निर्माणमा लापरवाही गरेको भन्दै चौधरीलाई गत असोजमा विभागीय कारवाही गरी पुल दरबन्दीमा सरुवा गरिएको थियो ।

उनी पुल दरबन्दीबाट मुक्त भई सभामुख कृष्णबहादुर महराको सिफारिसमा डिभिजन सडक कार्यालय दाङ जान चाहान्थे तर नेपालगञ्ज गए । नेपालगञ्ज गएको एकमहिना नपुग्दै मन्त्री महासेठलाई करोडको थैली बुझाएर चौधरी डिभिजन सडक कार्यालय लहानको प्रमुख भएका छन् । लहान डिभिजन डिईहरूका लागि करोडौं कमाउने मालदार अड्डा हो ।

मन्त्री, सचिव र मन्त्रीपत्नीले रेल विभागको अफिसमा बसेर गरेको काज सरुवामा डिई बिनोद भट्टराई डिभिजन सडक कार्यालय भरतपुर चितवनतिर खेदिएका छन् ।

पैसा पेलेर आकर्षक स्थानमा मात्र जाने पहिचान बनाएका अर्का डिई ललिजन खनाल मदन भण्डारी राजमार्गको  धरान–चतरा क्षेत्र पूर्वी खण्डमा सरुवा भएर गएका छन । मन्त्रीलाई थैली बुझाएर करोडौं कमिशन आउने योजनामा सरुवा भएको इन्जिनियरहरू चर्चा गर्दछन् ।

चारबर्षसम्म पनि बन्न नसकेको सूर्य विनायक नगरकोट सडकका प्रमुख रहेर असफल डिई नरेन्द्र कोइराला पनि ठूलै थैली बुझाएर रानी बिराटनगर  सरुवा भएका छन् । कमिशनमा लोभिने, तलब सुविधा पचाउने तर, काममा सिन्को पनि नभाँच्ने स्वभावका कोइराला काम नलाग्ने डिईका रुपमा सहकर्मीबीच परिचित छन् । अशोक तिवारीलाई अर्को मालदार ठाउँ हुलाकी सडक आयोजना निर्देशनालयमा पु¥याइएको छ ।

हुलाकी सडक योजना अन्तरगत मालदार मानिने इटहरीमा बिजेन्द्र महतो र जनकपुरमा राजेन्द्र दाशले अवसर प्राप्त गरेका छन् भने बीरगञ्जको मालदार अड्डा हुलाकी राजमार्ग योजना कार्यालयमा अनुठालाल पटेल कायम भएका छन । विगत लामो समयदेखि यही कार्यालयमा रहेर करोडौ रकम कुम्ल्याएका पटेल खाने र खुवाउने कलाको नेता नै मानिन्छन् ।

गतबर्ष हुलाकी राजमार्ग अन्तर्गत बाराको–तामागढी सडक खण्ड अन्तर्गत नहर क्रसिङ पुल र पर्साको (बीरगंज ठोरी सडकमा पर्ने भलुवाही पुललगायत आधा दर्जन पुलको काम नसकिदै ठेकेदारले पेश गरेको काम सम्पन्न भएको रिपोर्ट रकम लिएर पास गरेको उजुरीमा डिई पटेल बिभागीय कारवाहीमा परेका थिए ।

हुलाकी राजमार्ग अन्तर्गतको एप्रोज सडकमा ठेकेदारसंगको मिलोमतोमा भ्रष्टाचार गरेको भन्दै उनीबिरुद्ध स्थानीयले अख्तियारमा उजुरी हालेको थिए । २ महिना अघि सिन्धुलीको फुर्कोटमा सरुवा भएका संजय मिश्रलाई माल कमाउन ६ लेन पथलैया पठाइएको छ ।

मन्त्री महासेठको मन्त्रालय कति बेथितीले ग्रस्त छ भन्ने कुरा डिई मनिष साहको सरुवाबाट पनि थाहा पाउन सकिन्छ । ६ महिनामा साहको ४ पटक सरुवा भएको छ । पैसाको थैली बुझाउन नसक्ने भएकाले अहिले उनी विभागमा थन्किएका छन् ।

डिईको सरुवा गर्ने अधिकार मन्त्रालयका सचिवको हो तर सचिव मधुसुदन अधिकारीले सरुवामा एक्लै रकम असुल्नु जोखिम हुने भएकाले मन्त्री र मन्त्रीपत्नीको मिलोमतोमा सरुवाको काम गरेको स्रोतले बतायो । (साँघु साप्ताहिक पुस ९)

 

 

प्रतिक्रिया दिनुहोस्