Thursday 23rd of January 2020

सीमा नाकामा नेपालीलाई समस्या

दार्चुला । नेपाल–भारत सीमा नाकामा नेपाली नागरिकलाई समस्या हुने गरेको छ । नेपालीहरूको मुख्य बजार क्षेत्र भारत भएकाले पनि भारतबाट समान ढुवानीमा समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

मुख्य गरी व्याँस क्षेत्रका स्थानीयले भारतबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले भारतबाट समान ढुवानी गर्न समस्या भएको व्याँस गाउँपालिका–५ धौलाकोटका स्थानीय नन्दा कुवँरले जानकारी दिए । पछिल्लो समय निर्माण गरिएको नेपाल–भारत जोड्ने तिग्रम पुलमा आवतजावत तथा सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको कुँवरको गुनासो छ ।

सीमा नाकामा भन्सार स्थापना गर्न सकिए नागरिकलाई आवतजावत गर्नसमेत सहज हुने स्थानीयको अपेक्षा छ । भन्सार नहुँदा झन् समस्या भएको धौलाकोट तिग्रमका स्थानीय नन्दा कुवँरले बताए ।

यसरी भन्सार कार्यालय स्थापना गर्न नसकिदाँ नेपालको लाखौँ राजस्व गुमिरहेको छ । भारतसंग जोडिएका दार्चुला जिल्लामा मात्रै ५ नाका रहेका छन् । यसअघि ४ ओटा नाका सञ्चालनमा रहेको भए पनि अब लेकमको लालीमा पुल निर्माण सम्पन्न भएसंगै अन्तर्राष्ट्रिय नाकाको संख्या ५ पुगेको हो ।

लाली पुल केही दिनमै सञ्चालन गर्ने तयारी भइरहेको छ । खलंगा, दत्तु, जौलजीवि र तिग्रममा भने यअसघि देखि नै सञ्चालनमा रहेका छन् । जिल्ला सदरमुकाम खलंगा क्षेत्रसम्म आवत् जावत् गर्न भारतको बाटो प्रयोग गर्न बाध्य व्याँस क्षेत्रका स्थानीयले भरतीय सुरक्षाकर्मी सीमा सशस्त्र बल (एसएसबी) को दुःखसमेत झेल्नुपरेको स्थानीय गायत्री कुँवरले बताइन् ।

जिल्ला सदरमुकाम खलंगासम्म आउन स्वदेशको भूमि भएर आउन बाटोसमेत नहुदाँ झन् समस्या भएको हो । सीमा क्षेत्रमा हिन्दी भाषा बोल्न नसक्ने नागरिकलाई झन् समस्या हुने गरेको स्थानीय कलावती धामीले गुनासो गरे । भारतीय नागरिक नेपालमा आएरसमेत हिन्दी भाषा बोल्ने गरेको र नेपालीले हिन्दी भाषा बोल्नु पर्ने बाध्यताले समेत नेपाली नागरिक झन् मर्कामा परेको धामीको गुनासो छ ।

भारतका उच्च अधिकारीहरू समेत नेपालमा आउदाँसमेत नेपाली नबोल्ने तर नेपाली अधिकारीलेसमेत भारतीय अधिकारीहरूसंग हिन्दी भाषा बोल्नुपर्ने बाध्यता छ । सो समस्याले सीमा क्षेत्रमा गाउँघरका नागरिक बढी समस्यामा पर्ने गरेको धौलाकोटका स्थानीय ममता कुवँरले गुनासो गरिन् ।

यस्तै दैनिक उपभोग्य सामग्री समेत भारतीय बजार क्षेत्रबाट ल्याउनुपर्ने भएकाले भारतीय सुरक्षाकर्मी एसएसबीको टोकेसो सहनु परेको स्थानीय शिवा कुवँरले बताए । हिन्दी भाषा बोल्न नसक्ने गाउँका नागरिकलाई भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्