Friday 6th of December 2019

रेलमार्गको रुट परिवर्तन

काठमाडौं । सरकारले राक्सौल–काठमाडौँ रेलमार्गको रुट परिवर्तन गरेको छ । स्टान्डर्ड विद्युतीय रेलमार्ग बनाउने निर्णय गर्दै रुट समेत केही परिवर्तन गरेको हो ।

सरकारले यसअघि ब्रोडगेज रेलमार्ग बनाउने भन्दै त्यसको सम्भाव्यता अध्ययनको जिम्मा भारत सरकारलाई दिएको थियो । अध्ययनको जिम्मा दिएपछि सरकारले आफ्नो निर्णय परिवर्तन गर्दै विद्युतीय रेलमार्ग बनाउने निर्णय गरेको भौतिक योजना तथा यातायात मन्त्री रघुविर महासेठले जानकारी दिए ।

रक्सौल–वीरगञ्ज हुँदै काठमाडौँ आउने तय गरिएको रेलको रुटमा परिवर्तन गर्दै रक्सौल–वीरगञ्ज–जीतपुरबाट प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आउने गरी सम्भाव्यता अध्धयन अघि बढाइएको छ ।

चीन–नेपाल र भारत त्रिदेशीय रेलमार्गको जोड्नका लागि स्टान्डर्ड विद्युतिय रेल मार्गआवश्यक पर्ने भएपछि भारत सरकारसँग सम्झौताभन्दा छुट्टै रेल मार्गको अध्धयन भइरहेको मन्त्री महासेठले जानकारी दिए । गत भदौमा रक्सौल हुँदै वीरगञ्ज र काठमाडौं आउने रेल सञ्जालमाथि तयार पारिएको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ‘ब्रोडगेज लाइन’ सम्बन्धी नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको थियो ।

उक्त सम्झौता अनुसार अहिले भइरहेको अध्ययनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने गरि निर्माण निर्णय भइसकको र सो अनुसार अध्धयन भइरहेको समेत मन्त्री महासेठले जानकारी दिए ।

उनका अनुसार मुलुकको चौतर्फी विकासका लागि विकासको ‘मल्टि मोडेल’ ढाँचा आवश्यक रहेको र उक्त ढाँचाका लागि रक्सौल–काठमाडौँ रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–निजगढ द्रूतमार्गबीचको ‘कनेक्टिभिटी’ आवश्यक रहेको बताए । रक्सौलबाट वीरगञ्ज, निजगढ र बागमती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने प्रस्तावित उक्त रेलमार्ग करिब ११३ किलोमिटर लामो हुने अनुमान गरिएको थियो । हाल रुट परिवर्तन भएपछि सोको लम्बाइ बढ्न सक्ने बताइएको छ । रेलमार्गमा करिब २० प्रतिशत सुरुङ र पुल निर्माण गर्नुपर्ने अनुमान गरिएको छ ।

यस्तै जनकपुरदेखी कुर्थासम्म केही महिनाबाट रेल कुदाउने तयारी थालिएको जानकारी दिए । ‘रेल विभागतर्फ जयनगर–जनकपुर–कुर्था ३५ किमीमा केही महीनामा रेल सेवा शुरु हुनेछ, एक वर्षमा थप १७ किमी रेलमार्ग तयार गरी बिजुलपुरासम्म ५२ किमी दूरीमा रेल गुड्नेछ, दुई वर्षभित्र बर्दिवास र चार वर्षसम्म निजगढसम्म रेल गुड्नेछ’, उनले भने । पुस २६ सम्म भारतबाट कहिलेसम्म रेल आउने भन्ने प्रष्ट हुने मन्त्रालयले जनाएको छ । नेपाली झण्डासहितको रेल नै गुडाउने निर्णय यसअघि नै भइसकेको सो अवसरमा मन्त्री महासेठले जानकारी दिए ।

यसैविच, मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चार महीनामा सडक विभागअन्तर्गतका आयोजनामध्ये २३ वटामा ८० प्रतिशतभन्दा बढी काम भएको जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महासेठले ५० देखि ८० प्रतिशत प्रगति भएका सडक आयोजनाको सख्या सात र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको सख्या पाँच रहेको जानकारी दिए । त्यस्तै ६ आयोजनाको काम पहिलो चार महीनामा शुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्