Tuesday 17th of September 2019

तरकारी खेतीले फेरिएको जीवन

रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका एक किसान अहिले आफ्नो पेसाबाट खुसी छन् ।

जिल्लाको वृन्दावन नपा–१ का ४५ वर्षीय जोगिन्दर मुखियाले सोही नगरपालिकाको बलेरीखोर नजिक निजी जग्गामा सुरु गरेको तरकारी व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि उनी खुसी भएका हुन् । तरकारी खेतीबाट राम्रो आम्दानी हु्न थालेपछि उनको र उनको परवारको जीवनमा परिवर्तन आएको छ ।

पाँच वर्ष अघिसम्म आर्थिक संकटले तनावमा परेका उनी पछिल्लो तीन वर्षयता तरकारी खेतीबाट भएको कमाइले निकै खुसी छन् । दिनरात मिहिनेत गरेपछि फल पाइने रहेछ भन्ने कुरा बल्ल थाहा भएको उनी बताउँछन् । मिहिनेत गर्नाले आर्थिक हैसियत बलियो हुनुका साथसाथै समाजमा समेत राम्रो नाम स्थापित भएको उनले अनुभव साटे ।

आर्थिक अभावकै कारण छोराछोरीले विद्यालय छाड्नु परेको पीडा उनको मनमा अहिले पनि बिजेको छ । ‘दुई छाक खान र लाउन समस्या थियो, तरकारी व्यवसायले जीवन नै परिवर्तन गरिदियो’, उनले भावुक हुँदै भने ।

तरकारी खेतीबाट आएको आम्दानीले अहिले छोराछोरी विद्यालय जान्छन् र दुई छाक खान र लाउन समस्या नभएको उनले बताए । केही वर्षअघिसम्म अर्काको जग्गा भाडामा लिएर खेती गरेका उनले हाल तरकारी खेतीबाटै कमाएको पैसाले आफैँले आठ कठ्ठा जग्गासमेत खरिद गरेका छन् । आफ्नै जग्गा खरिद गरेपछि अहिले उनले सोही जग्गामा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् ।

उनलाई हिले काउली, भान्टालगायतको तरकारी संकलन गर्न भ्याइनभ्याइ हुने गरेको छ । उनले आफ्नै जमिनमा उत्पादन गरेका तरकारी अहिले देशको राजधानीलगायत चितवन र जिल्लाका विभिन्न बजारमा बिक्री हुने गरेको उनी बताउँछन् । थोक किन्न खेतमै व्यापारी आइपुग्ने गरेकाले आपूmले मिहिनेत गरेर उत्पादन गरेको तरकारी बेच्न कुनै समस्या नरहेको उनी बताउँछन् । पहिले र अहिले घरको अवस्था सम्झँदा उनी रुँदै भन्छन्, ‘छोरी संवाद केन्द्रमा जानाले घर र दैनिकी परिवर्तन भयो ।’

बास्तवमा आर्थिक अवस्था कमजोर भएका कारणले गर्दा उनको छोरीले पढाइ छाड्नुपरेको थियो । पछि उनकी छोरी निर्मला मुखियाले आपूmले छाडेको पढाइ संवाद केन्द्रमा गएर सुरु गरिन् । र, संवाद केन्द्रकै माध्यमले बुबालाई बेमौसमी तरकारी खेतीसम्बन्धी दुईदिने तालिम लिने अवसरसमेत जुटेपछि मुखियाले इमानदारी र लगनका साथ तरकारी खेती सुरु गरे ।

खेतमा अहिले उनले मौसमी तथा बेमौसमी तरकारी रोपेका छन् । विद्यालय बिदाका दिन उनका छोराछोरी पनि बुबालाई सघाउन खेतमा जान्छन् र पूरै परिवार एकअर्काको सहयोगी बनेर खुसीसाथ जीविकोपार्जन गरिरहेका छन् । जोगिन्दरकी जेठी छोरी निर्मला अहिले कक्षा १० मा पढ्दै छिन । नर्स बनेर समाजको सेवा गर्ने छोरी निर्मलाको सपना छ ।

अहिले घरको अवस्था राम्रो भएको र बुबाको मिहिनेतले हामीले पढ्ने मौका पाएको छोरीहरू गर्वका साथ बताउँछन् । जोगिन्दर अहिले सफल किसान बन्न सकेका छन् र उनको चर्चा गाउँमा हुन थालेको छ । लाम्रो आर्थिक संकट गुजारेर पनि हिम्मत नहारिकन मिहिनेत गरे जे पनि हासिल गर्न सकिन्छ भन्ने उदाहरण बन्न पुगेका छन्, जोगिन्दर मुखिया ।