Wednesday 22nd of January 2020

झुटा मुद्दा जाहेरी दिनेलाई कैद सजाय

बर्दिया । जिल्ला अदालतबाट ६ महिना अवधीमा ६ वटा मुद्दामा जाहेरी दिने पक्षलाई नै (नक्कली) फेक मुद्दा ल्याएको भन्दै १५ दिनदेखि तीन महिनासम्म कैद फैसला गरेको छ ।

ती मुद्दाहरू प्रहरीमार्फत अनुसन्धान गरी प्रक्रियागत रूपमा आएको भए पनि अदालतले प्रमाण र दाबीमा थप अनुसन्धान गर्दा फेक मुद्दा भएको देखिएकोले जाहेरीवाला पक्षलाई नै कैद फैसला गरेको न्यायाधीश किरणप्रसाद पोख्रेलले बताए । ती फैसलाले बिशेषतः बलात्कारका फेक मुद्दा आउन कमी आएको पनि न्यायाधीश किरणप्रसाद पोख्रेलले दाबी गरे ।

बर्दिया जिल्ला अदालतले पुस १९ गते पत्रकार भेटघाट सार्वजनिक गरेको तथ्यांकमा दुनियाँवादी ५ सय ४ र सरकारवादी फौजदारी १ सय ४८, रिट १ सय ९९ र अन्य गरी ८ सय ५२ मुद्दा रहेका छन् । जस मध्येमा २ सय ८ फस्र्योट र ६ सय ४४ बाँकी रहेका छन् ।

सबै मुद्दा सम्बन्ध बिच्छेदका आव ०७४-७५ मा २ सय २५ लगत रहेकोमा १ सय ६१ फस्र्योट भई ६४ वाँकी देखिएका छन् । सम्बन्ध विच्छेदका मुद्दा भने सबैभन्दा बढी देखिएका छन् । ०७५-७६ मा १ सय ३१ लगत रही ४५ फस्र्योट भएको उल्लेख छ । हाल भने १ सय ९५ लगत रही ६९ फस्र्योट भई १ सय २६ मुद्दा रहेका छन् ।

बलात्कार मुद्दा आव ०७४-७५ मा लगत ८१, फस्र्योट ५४ भई २७ बाँकी देखिएको छ । ०७५-७६ मा १९ लगत रहेकोमा दुई फस्र्याेट भई १७ बाँकी देखिएको छ । हाल ४६ लगत रहेकोमा २२ फस्र्योट भई २४ बाँकी रहेका छन् ।

ती मुद्दामा संलग्न पक्षको आधारमा चार सयमा दुवै पक्ष महिला रहेका छन्, ५ मुद्दामा ज्येष्ठ नागरिक, ३५ मुद्दामा बालबालिका, बालबालिका संलग्न फौजदारीमा आठ रहेका छन् ।

फैसला भएका मुद्दा कार्यान्वयनतर्फ ९० मुद्दामा १८ फस्र्योट भएकोमा ७२ बाँकी रहेको छ । कैदतर्फ १ हजार ५ सय ७२ एक महिना लगत मध्ये ८२ वर्ष ७ दिन फस्र्योट र बाँकी १ हजार ४ सय ९० वर्ष १ महिना १४ दिन रहेको छ । जरिवानातर्फ १ करोड १७ लाख ५६ हजार ९ सय ९७ रुपैयाँ मध्ये ३ लाख ८८ हजार ६ सय ६३ रुपैयाँ फस्र्योट र बाँकी १ करोड १३ लाख ६८ हजार ३ सय रहेको तहसिलदार धनसिंह गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्